काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माण गर्ने भएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विभिन्न विकास साझेदार संघसंस्था तथा स्थानीय तहसँगको सहकार्यमा प्रभावित परिवारका लागि तत्काल अस्थायी आवास निर्माणको काम अघि बढाउने निर्णय गरेको हो ।
बैठकले पुनर्निर्माणमा सहयोग गर्न इच्छुक विकास साझेदार संघसंस्थालाई आफूले कुन स्थानीय तहमा कति संख्यामा घर निर्माण गरिदिने हो, सोको विवरण प्राधिकरणलाई उपलब्ध गराउन आह्वान गरेको छ ।
निर्णयअनुसार सहयोगी संस्थाले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डअनुसार अस्थायी आवास निर्माण गर्नुपर्नेछ ।
त्यसैगरी, बाढीबाट प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण संकलन गरी कति परिवारका लागि घर निर्माण गर्नुपर्ने हो भन्ने यकिन गर्न सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्राधिकरणले स्थानीय तहबाट प्राप्त हुने लाभग्राहीको विवरणका आधारमा आवास निर्माणको आवश्यकता र सहयोगी संस्थाबीच समन्वय गरी निर्माण प्रक्रिया अघि बढाउने जनाएको छ ।








