१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरुद्ध गरेर केही प्राप्त हुँदैनः उपेन्द्र यादव



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद अवरुद्ध गरेर केही प्राप्त नहुने बताउनुभएको छ । 

आइतवार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले एमालेले संसद अवरुद्ध गरेको तर्फ इंकित गर्दै अब संसद अवरुद्ध गरेर केही प्राप्त हुन नसक्ने बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिदैँ संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनैपनि तन्त्र हुन नसक्ने बताउनुभयो । अध्यक्ष यादवले पटक पटक सरकारको नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेको भएपनि सत्य निरुपण तथा मेलमिलाप आयोग अलपत्र परेको र बेपत्ता पारिएका परिवारले न्याय नपाएको भन्दै उनीहरुले न्याय पाउनुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा अझैपनि वर्ग विभेद र वर्ण विभेद कायम रहेको बताउनुभयो । उहाँले मधेशी, आदिवासी, जनजाति, दलित, थारु लगायतका मुक्तिका सवालहरु अझै अलपत्र रहेको भन्दै यस्ता राष्ट्रिय सवालहरुलाई सम्बोधन नगरी राष्ट्रिय एकता बलियो नहुने र आर्थिक सम्वृद्धि तथा परिवर्तन सम्भव नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवालाई इंकित गर्दै विगतका प्रधानमन्त्रीहरुले गरेको गल्तीहरुलाई गनेर मात्रै अव समस्याको समाधान नहुने बताउनुभयो । 

विगतका कमी कमजोरी र कमीलाई सच्याएर र सुधार गरेर त्यसको अनुभुति जनताले पाउनुपर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष यादवले संविधान संशोधन, गणतन्त्र संस्थागत गर्न, उत्पीडित जाति, वर्गको मुक्ति र आर्थिक समृद्धिका माओवादी केन्द्रको अधिवेशन अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।