१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार



अ+ अ-

पोखरा । चाँदी जस्तै टलक्क टल्केका माछापुच्छे, अन्नपूर्णलगायतका हिमशृङ्खलासँग आँखा जुधाउँदै आँगनमा छचल्किइरहेको फेवातालसहित पोखराको रमणीय दृश्य हेर्दा कसैको पनि मन प्रफुल्ल हुन्छ । पर्यटकीय नगरी पोखराको फेवाताललाई काखमा लिइरहेको विश्वशान्ति स्तूपा र पुम्दीकोटबाट देखिने रमणीय दृश्यले यो क्षेत्र यतिखेर स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ ।

कास्कीको साविक पुम्दीभुम्दी गाविस वडा नं १ स्थित अनदुडाँडा २०५६ सालअघि खासै चर्चामा थिएन । यस ठाउँमा २०५६ सालमा विश्व शान्ति स्तूपा स्थापना भएपछि भने यो पोखराको एउटा विशिष्ट पर्यटकीय आकर्षण बन्न पुगेको हो । विश्वशान्ति स्तूपा स्थापना भएसँगै त्यसयता पर्यटक लक्षित पूर्वाधारले गति लिनुका साथै पोखरा आउने पर्यटकका लागि छुटाउनै नहुने गन्तव्यका रुपमा विकास भएको हो ।

गौतमबुद्धको अस्थी धातु राखेर जापानी शैलीमा निर्माण गरिएको विश्वशान्ति स्तूपा पोखराको मुख्य बजार क्षेत्रबाट करीब आठ किलोमिटर दक्षिण पश्चिममा छ । कूल ११५ फिट उचाइ तथा ३४४ फिट गोलाई रहेको यो स्तूप करीब २२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

उत्तरमा माछापुच्छे«, अन्नपूर्ण हिमालसहितको रमणीय हिमशृङ्खला, सराङकोट र काखमा टलटल गरी छचल्किएको फेवातालले यो ठाउँ पर्यटकको रोजाइमा परेको समाजसेवी एवं इलाइट अर्गानिक हाउस, विश्वशान्ति स्तूपाका सञ्चालक राजु क्षेत्रीले बताउनुभयो । विश्वशान्ति स्तूपा निर्माणसँगै बढेको पर्यटकीय आकर्षणका कारण पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणले पनि गति लिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार स्तूपा क्षेत्रमा मात्रै अहिले पाँच सुविधा सम्पन्न गेष्ट हाउस सञ्चालनमा आइसकेका छन् भने रेष्टुरेन्टको सङ्ख्या १० पुगेको छ । त्यस्तै ह्यान्डक्राफ्टका सामान बिक्रीका लागि राखिएका पसल २० छन् भने घरवासेसहित अन्य पसल पनि सञ्चालनमा आएका छन् । “यहाँका होटल तथा गेष्ट हाउसमा बस्न आउने पर्यटक अग्रिम बुकिङ गरेर आउने गरेका छन्,” उहाँले भन्नुभयो, “दैनिकजसो विश्वशान्ति स्तूप आएर घुम्ने र फर्कनेको सङ्ख्या समान्यतः दुई हजारको हाराहारीमा छ ।”

सार्वजनिक बिदाका समयका साथै नयाँ वर्षलगायतका विशेष दिनमा यो क्षेत्र पर्यटकले खचाखच भरिने गरेको उहाँले बताउनुभयो । यहाँ पुग्नका लागि सिद्धार्थ राजमार्गको कालीमाटीदेखि स्तूपासम्म एक हजार २०० मिटर दूरीको बाटो पार गर्नुपर्छ भने अर्को छोरेपाटन हुँदै साढे तीन किलोमटिरको दूरीमा पुग्न सकिन्छ । त्यस्तै हाइकिङ गरी जानेका लागि फेवातालको बाराहीघाटबाट डुङ्गामार्फत पारी गएर चिसापानी अनदु हुँदै एक घण्टामा पुग्न सकिन्छ ।

त्यस्तै छोरेपाटनबाट पनि एक घण्टा फुट ट्रयाक हुँदै पैदल हिँडेर स्तूपा पुग्न सकिन्छ । रमणीय दृश्यको अवलोकनका साथै जस्तोसुकै तनाव र थकान मेट्न पनि यो ठाउँ उपयुक्त मान्दै एकपटक आइसकेका व्यक्ति पनि पटकपटक आउने गरेका होटल सिद्धार्थ गार्डेन आयुर्वेदाका सञ्चालक ईश्वर थापाले बताउनुभयो । आफूले १० वर्षयतादेखि यस क्षेत्रमा होटेल सञ्चालन गरिरहेको बताउँदै उहाँले विशेष गरी विदेशी पर्यटक अग्रिम बुकिङ गरेर आउने गरेका जानकारी दिनुभयो ।

“होटेलमा आउने विदेशी पर्यटकमध्ये सात÷सात पटकसम्म आएर बसेका छन्”, उहाँले भन्नुभयोे, “यहाँबाट देखिने मनोरम हिमाली दृश्य, फेवाताल, रानीवनसहित पोखराको रमणीय दृश्यले पर्यटकलाई निकै लोभ्याएको छ ।” पर्यटकको राम्रो आकर्षण बढ्दै गए पनि अत्यावश्यकीय पूर्वाधार निर्माणमा भने राज्यले चासो नदिएको यहाँका पर्यटन व्यसायीको गुनासो छ ।

पर्यटकको बढ्दो आगमन र उनीहरूले बाटोका कारण दुःख पाएको वास्तविकतालाई आत्मसात् गर्दै पर्यटन व्यवसायी र स्थानीयको विशेष सक्रियतामा सिद्धार्थ राजमार्गअन्तर्गतको कालीमाटी चोकबाट विश्वशान्ति स्तूपा पुग्ने एक हजार २०० मिटर बाटो कालोपत्र गर्ने काम २०६५ मा शुरु गरी २०६७ मा सम्पन्न भएको थियो । स्थानीयवासी, पर्यटन व्यवसायीलगायत सबैको साथ र सहयोगमा रु ३० लाखको लागतमा बाटो कालोपत्र गरिएको तत्कालीन कालीमाटी शान्ति स्तूपा मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष राजु क्षेत्रीले जानकारी दिनुभयो ।

विश्वशान्ति स्तूपा र आसपासमा बन्दै गरेका पूर्वाधारका साथै नजिकैको पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेवको मूर्तिले आगामी दिनमा यस क्षेत्रमा पर्यटकको सङ्ख्या अझै बढ्ने विश्वास लिइएको छ । सामुदायिक तथा निजी क्षेत्रबाट पर्यटन लक्षित पूर्वाधार निर्माणमा धमाधम अग्रसरता देखाइरहेका अवस्थामा यहाँ जाने बाटोका लागि भने राज्यले चासो नदिएको स्थानीयको गुनासो छ ।

विशाल महादेव मूर्तिसहितका संरचना निर्माणका लागि जनस्तरबाट गरिएको पहलकदमीले पुम्दीकोटमा पूर्वाधार निर्माणले गति लिइरहेको र हालसम्म झण्डै रु १० करोडको लागतका काम सम्पन्न भइसकेको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । झण्डै रु ४० करोडकोे लागतामा पुम्दीकोटमा विशाल महादेव मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको र मूर्ति राख्ने स्थान तयार भइसकेका कारण आगामी चैतसम्ममा मूर्ति राखिने बरालले जानकारी दिनुभयो ।