१५ श्रावण २०८३, शुक्रबार
,
Latest
हिन्दू–मुस्लिम धार्मिक नेतृत्वको साझा सन्देश : हिंसा होइन, सद्भाव रोजौं मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै



filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (0.3152778, 0.3152778); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 0.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;
अ+ अ-

इलाम। इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ ।

विसं २०७९ फागुन १ देखि ०८२ फागुन ३० सम्म उक्त परिमाणको भेटी रकम तथा धातु सङ्कलन भएको पाथीभरा विकास समितिकी कोषाध्यक्ष कृष्णकुमारी भुजेलले जानकारी दिनुभयो ।

आज यहाँ जिल्ला प्रशासन कार्यालय इलाम, कोष तथा लेखा नियन्त्रका कार्यालय इलाम, नापतौल विभाग भापाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थितिमा सङ्कलित सामग्री तथा नगदबारे लेखाजोखा गरिएको विकास समितिका अध्यक्ष दिलीपकुमार राईले बताउनुभयो ।

सङ्कलन गरिएको सुन तथा अन्य बहुमूल्य धातु तत्काल खर्च गर्ने वा सुरक्षित राख्ने भन्ने विषयमा आगामी कार्यपालिका बैठकबाट टुङ्गो लाग्ने गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुबास)ले जानकारी दिनुभयो । “धेरै वर्षपछि एकमुष्ट सङ्कलित सामग्रीको लेखाजोखा गरेका छौँ, अब त्यसको प्रयोग कसरी र कुन प्रयोजनमा गर्ने भन्ने विषयमा अर्को बैठक बसेर निर्धारण गर्छौं”, उहाँले भन्नुभयो ।

मन्दिरमा चढाइएको भेटी रकम पनि उल्लेखनीय छ । अध्यक्ष स्याङ्बोका अनुसार विसं २०७९ फागुन १ देखि  ०८० असार मसान्तसम्म रु ८५ लाख २८ हजार १८७, विसं ०८० साउन १ देखि ०८१ असार मसान्तसम्म रु एक करोड ५६ लाख ६१ हजार ४८८, विसं ०८१ साउन १ देखि ०८२ असार मसान्तसम्म रु ९७ लाख ५४ हजार ६३२ र ०८२ साउन १ देखि फागुन ३० गतेसम्मको रु ८४ लाख २४ हजार ५४७ भेटी रकम सङ्कलन भएको  हो ।

मन्दिरबाट सङ्कलित रकम मन्दिर क्षेत्रकै विकासमा खर्च भइरहेको छ । भक्तजनको सहयोग पारदर्शी ढङ्गले सदुपयोग गर्न पालिका प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

गाउँपालिकाले पाथीभरा मन्दिरलाई आफ्नै स्वामित्वमा लिएपछि यसको आम्दानी र व्यवस्थापनलाई नियमित रूपमा सार्वजनिक गरिरहेको छ । पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ बनाएर २०७९ फागुन १ गतेदेखि मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी गाउँपालिकाले सम्हालेको हो । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि आउने भक्तजनले भेटीका रूपमा चढाएको रकम तथा धातु सङ्कलन गर्ने गरिएको हो ।

पाथीभरा मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । विशेषगरी शनिबार र मङ्गलबार यहाँ सयौँ भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् ।

मन्दिरमा पुग्नका लागि फेदीबाट करिब एक किलोमिटरको ठाडो उकालोमा सिँढी निर्माण गरिएको छ । यस मार्ग हुँदै भक्तजनहरू सहज रूपमा मन्दिर परिसर पुग्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यले पनि यहाँ आउने दर्शनार्थीलाई आकर्षित गरिरहेको बताउनुभयो ।

मन्दिर नजिकै दुईवटा पोखरी छन्, जहाँ हाँसको आकृतिमा देखिने ढुङ्गाहरू राखिएका छन् । यही कारण स्थानीयले यस क्षेत्रलाई ‘हाँस पोखरी’ पनि भन्छन् । विसं २०५१ मा स्थापना गरिएको यो मन्दिर कुटीडाँडाबाट करिब आठ सय मिटरमाथि र समुद्री सतहबाट करिब एक हजार ८४० मिटर उचाइमा अवस्थित छ ।

मन्दिर नजिकै रहेको रमिते टावरबाट तराईका समथर फाँट, इलामका नागबेली चियाबारी तथा भारत, भूटान र बङ्गलादेशसम्मका भू–भागहरू खुला आँखाले देख्न सकिन्छ । साथै यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर पनि अवलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताउनुभयो ।

विशेषगरी दसैँ–तिहार, तीज, बालाचतुर्दशी र रामनवमीजस्ता पर्वका बेला यहाँ ठूलो मेला लाग्ने गर्दछ । सामान्य दिनमा पनि शनिबार र मङ्गलबार विशेष भीड लाग्ने गरेको छ । ती दिनमा मात्रै पाँच सयदेखि दुई हजारसम्म भक्तजन मन्दिरमा पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

नेपालका विभिन्न जिल्लाका साथै भारत, बङ्गलादेश र भूटानबाट समेत यहाँ भक्तजन आउने गरेका छन् । गाउँपालिकाका अनुसार धार्मिक पर्यटनको सम्भावना बढ्दै गएसँगै मन्दिर क्षेत्रको संरक्षण, व्यवस्थापन र पूर्वाधार विकासमा ध्यान दिइएको छ । रासस




भर्खरै