४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

८३ क्षेत्रमा नतिजा सार्वजनिक, ६७ सिटसहित रास्वपा अगाडि



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी छ । निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म विभिन्न ८३ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७, नेपाली कांग्रेस नौ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक÷एक जना विजयी हुनुभएको छ । यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् ।

रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित डा लेखजङ्ग थापा ५० हजार ३७९ मतान्तरले विजयी हुनुभएको छ । उहाँले ५८ हजार ८१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले आठ हजार ४३५ मत प्राप्त गर्नुभयो ।

रुपन्देही क्षेत्र नं २ बाट रास्वपाका सुलभ खरेल ४३ हजार ६८९ मतान्तरले विजयी हुुनुभएको छ । खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गर्नुभएको छ ।

मोरङ निर्वाचन क्षेत्र नं ६ बाट रास्वपाका उम्मेदवार रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी हुनुभएको छ । उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा शेखर कोइराला १२ हजार ८५० मतसहित दोस्रो स्थानमा सीमित हुनुभयो ।

मोरङ निर्वाचन क्षेत्र नं ४ बाट रास्वपाका उम्मेदवार सन्तोष राजवंशी ४० हजार ८३३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत मात्र प्राप्त गर्नुभयो । उच्च मतान्तरले विजयी हुने उम्मेदवारमा धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट रास्वपाका मनिष झा ४३ हजार ९८८ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र नीतिले १६ हजार ६५२ मत प्राप्त गर्नुभयो ।

महोत्तरी क्षेत्र नं १ बाट रास्वपाका प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणी पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभयो । बारा क्षेत्र नं ३ मा रास्वपाका अरबिन्द साह ३० हजार ६४५ मतान्तरले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गर्नुभएको छ ।

बारा निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका रहवर अंसारी ४१ हजार २०० मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गर्नुभयो । जुन २९ हजार ५६१ को मतान्तर हो ।

पर्सा निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त २७ हजार २७४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीले छ हजार ३६४ मत ल्याउँदा नौ हजार ९१ मतान्तरसहित न्यौपाने विजयी हुनुभएको हो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सुनिल केसी ३४ हजार २३८ मतसहित विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गर्नुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ सात हजार ५८५ मतान्तरले पछि पर्दै ११ हजार १७१ मत प्राप्त गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका पुकार बम २९ हजार १४२ मतसहित विजयी हुनुभएको छ । उहाँ २० हजार ३१८ मतान्तरसहित विजयी हुनुभयो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिव तिमल्सेनाको आठ हजार ८२४ मत छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार १५९ मत प्राप्त गर्नुभयो । त्यस्तै निर्वाचन क्षेत्र नं ७ मा रास्वपाका उम्मेदवार गणेश पराजुली २७ हजार ८०५ मतसहित विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंको भन्दा २३ हजार ८२३ मत बढी प्राप्त गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गर्नुभयो । निर्वाचन क्षेत्र नं ९ मा रास्वपाका डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार ४६० मत प्राप्त गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा रास्वपाका उम्मेदवार प्रदिप विष्ट ३७ हजार ४६९ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीको भन्दा विष्टको मत २९ हजार ४६९ ले बढी हो । कार्कीले आठ हजार १०० मत प्राप्त गर्नुभएको छ ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रुकेश रञ्जित ३३ हजार ४३६ मतसहित विजयी हुनुभएको छ । उहाँ पाँच हजार २८९ मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको २८ हजार १४७ मत रहेको छ ।

ललितपुर निर्वाचन क्षेत्र नं १ मा रास्वपाका बुद्ध रत्न महर्जन २३ हजार ३७३ मतसहित विजयी हुनुभएको छ । महर्जन नौ हजार ८५३ मतान्तरसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उदयशम्शेर राणाले १३ हजार ५२० मत प्राप्त गर्नुभयो ।

चितवन निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी हुनुभएको छ । उहाँ ३९ हजार ८३८ मतान्तरसहित विजयी हुनुभएको हो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मिनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ । यसरी निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश प्रतिनिधि ठूलो मतान्तरले विजयी भएका छन् ।

नेपाली कांग्रेस 

तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेस का उम्मेदवार सन्तोष सुब्वा ११ हजार ५६१ मतसहित विजयी हुनुभएको छ । उहाँ ८७९ मतान्तरसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का भानुभक्त ढकालले १० हजार ६८२ मत प्राप्त गर्नुभएको छ ।

मनाङ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ दुई हजार ४१५ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार यशोदा गुरुङ (सुवेदी) ले ४५४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का इन्द्रधारा विष्टले एक हजार ८०६ मत प्राप्त गर्नुभयो ।

दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार वासना थापा १२ हजार ३७२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नुभएको हो ।

डोटी निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का १४ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गर्नुभयो ।

त्यस्तै, अछामको निर्वाचन क्षेत्र नं १ बाट १० हजार ७५९ मतसहित भरतकुमार स्वाँर, सुर्खेतको क्षेत्र नं १ बाट २६ हजार ८९७ मतसहित विष्णुबहादुर खड्का, जाजरकोटको क्षेत्र नं १ बाट २० हजार १४२ मतसहित खड्कबहादुर बुढा र कपिलवस्तुको निर्वाचन क्षेत्र नं ३ बाट २३ हजार ५३५ मतसहित अभिषेक प्रताप शाह निर्वाचित हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

बाँके निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मोहम्मद इश्तियाक राई २४ हजार ६२८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्की रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गर्नुभयो ।

बझाङ निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार ऐनबहादुर महर १८ हजार ५४३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत ल्याउनुभयो । दैलेख क्षेत्र नं २ बाट लक्ष्मीप्रसाद पोखरेल १३ हजार ८८९ मतसहित निर्वाचित हुनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

रुकुम (पूर्वी भाग) निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल १० हजार २४० मतसहित विजयी हुनुभएको छ । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले तीन हजार ४६२ मा प्राप्त गर्नुभयो । त्यस्तै, रोल्पाको निर्वाचन क्षेत्र नं १ बाट वर्षमान पुन २७ हजार ४६० मतसहित निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) 

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी हुनुभएको छ । शाही नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीसँग तीन हजार १८१ मतान्तरसहित निर्वाचित हुनुभएको हो ।

म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन २२ हजार ८५० महतसहित विजयी हुनुभएको छ । उक्त निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार हरीकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले समान छ हजार ६७६ मत प्राप्त गर्नुभयो । पुन १४ हजार ९३१ मतान्तरसहित विजयी हुनुभएको हो । रासस