२४ श्रावण २०८३, आईतवार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि



file
अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर चिनिने पिपीआर रोगको सङ्क्रमण पुष्टि भएको छ ।

पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परीक्षणअनुसार कैलालीको धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाबाट सङ्कलित नमूनाको नतिजा ‘पोजेटिभ’ आएको हो ।

प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार व्यावसायिक फार्म र स्थानीय किसानले पालेका बाख्रामा पिपीआरको सङ्क्रमण देखिएको छ । अनुसन्धानका क्रममा भारतबाट क्वारेन्टाइन प्रक्रिया पूरा नगरी अवैध रूपमा ल्याइएका बोकाहरूबाट सङ्क्रमण फैलिएको पुष्टि भएको जनाइएको छ । वरिष्ठ पशु चिकित्सक जोशीले गैरकानुनी रूपमा नेपाल भित्र्याइएका ती बोकाबाटै स्थानीय बथानमा पिपीआरको विषाणु सरेको हुनसक्ने बताए ।

सीमानाकामा हुने स्वास्थ्य जाँचलाई छलेर ल्याइएका पशुका कारण अहिले स्वस्थ बाख्रासमेत जोखिममा परेका छन् । पिपीआर अत्यन्त सङ्क्रामक विषाणुजन्य रोग भएकाले छोटो समयमै ठूलो सङ्ख्यामा फैलिन सक्ने र उच्च मृत्युदर निम्त्याउन सक्ने खतरा रहेको पशु प्राविधिकहरू बताउँछन् ।

यस अवस्थालाई मध्यनजर गर्दै पशु सेवा कार्यालय र प्रयोगशालाले किसानलाई जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन आग्रह गरेका छन् । नयाँ पशु खरिद गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गराउन र कम्तीमा २१ दिनसम्म छुट्टै राखेर मात्र पुरानो बथानमा मिसाउन सुझाव दिइएको छ ।

खोरमा रहेका बाख्रामा कडा ज्वरो आउने, मुखमा घाउ देखिने, आँखा–नाकबाट पानी बग्ने वा झाडापखाला लाग्नेजस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको पशु प्राविधिक वा भेटेरिनरी अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

अवैध पशु ओसारपसारका कारण देखिने यस्ता महामारीले समग्र पशुपालन क्षेत्रलाई नै गम्भीर असर पार्ने भएकाले सीमावर्ती क्षेत्रमा निगरानी कडा पार्नुका साथै किसान स्वयं सचेत हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।