२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार



अ+ अ-

तनहुँ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ ।

मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँ क्षेत्र नं १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ भने क्षेत्र नं २ का लागि शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने छ ।

मतगणनास्थलमा आवश्यक सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, तारजाली, अवलोकनकक्ष तथा उम्मेदवार÷प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको जनाउँदै प्रजिअ तिवारीले मतपेटिका सुरक्षित रूपमा राख्नका लागि कडा सुरक्षासहितको कोठा तयारी गरिएको बताउनुभयो । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँको क्षेत्र नं १ मा एक लाख २६ हजार ८८२ र र क्षेत्र नं २ मा एक लाख २७ हजार ५१५ मतदाता कायम गरिएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कारागार कार्यालय तनहुँ र कृषि विकास कार्यालय गरी जिल्लामा दुई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदान गर्न सक्ने भएकाले सोका लागि अस्थायी मतदान केन्द्र बनाइएको उहाँले जानकारी दिनुभयो ।

बागलुङस्थित रासस समाचारदाताका अनुसार दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा दुईवटा मतगणनास्थल तारजाली र सिसी क्यामेरासहित तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालय रहेको ढोरपाटन नगरपालिका–२ कुथाप्लोमा मतगणनास्थल तयार गरिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय रहेको दुई स्थानमै फलामे तारजाली लगाइएको छ भने ध्वनिसहित भिडियो रेकर्ड गर्ने सिसी क्यामेरा राखिएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिनुभयो ।

म्याग्दीस्थित रासस समाचारदाताका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा तारजाली लगाएर मतगणनास्थल तयार पारेको हो ।

मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणनास्थललाई तारजाली, सिसीटिभी जडानलगायत कामह सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

मतगणनास्थलमा तारजाली लगाउने, सुरक्षा पोस्ट र आवश्यक अन्य संरचना निर्माण गरिएको गणनास्थलमा सिसी क्यामेरासहित भरपर्दो सुरक्षाको प्रबन्ध मिलाइएको छ । मतगणनास्थलमा बाहिरबाट कोही पनि भित्र पस्न नसकुन भनेर तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले बाहिरबाट भित्र मतगणना हेर्न मिल्ने गरी तारजाली लगाइएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताउनुभयो  । उहाँका अनुसार जिल्ला समन्वय समितिको कार्यालयका कोठाहरूमा मतपेटिका सङ्कलन गर्ने ठाउँसमेत तयार पारिएको छ । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा छवटा स्थानीय तह र ४५ वटा वडा रहेका छन् ।

यहाँ ८२ वटा मतदानस्थलमा सोमबार कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरेका छन् । एक सय २२ मतदान अधिकृत, १२२ सहायक मतादन अधिकृतसहित एक हजार ७४ जना निर्वाचन कर्मचारी खटिएका छन् । एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्लामा ४२ हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना अन्य मतदाता रहेका छन् । कारागार र कर्मचारीहरूको समानुपातिक मतदानका लागि एक अस्थायी मतदान केन्द्र तोकिएको छ । रासस