२४ श्रावण २०८३, आईतवार
,
Latest
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी धनकुटामा ग्यास अभाव भएपछि अनुगमन एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो सुदूरपश्चिम रोयल्समा फर्किए सेफ अली जैब एन्जल्स हार्ट नेसनलको विजयी सुरुआत कांग्रेस केन्द्रीय समिति बैठक : १५औँ महाधिवेशनदेखि तराई–मधेशको घटनाक्रमसम्म छलफल बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिरन्ते जीवनबाट विद्यालयको ढोकासम्मः वनकरिया बस्तीमा बढ्दै शिक्षाप्रतिको आकर्षण



अ+ अ-

काठमाडाैँ । पढ्ने उमेर हुँदाहुँदै पनि विद्यालय नजाने मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका ९ वर्षीय रजनी वनकरियाको दैनिकी केही समयअघिसम्म घरमै खेल्दै बित्थ्यो । घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय रहे पनि उनी विद्यालय जान्थेनन् । तर अहिले अवस्था फेरिएको छ । बिहान हुनेबित्तिकै झोलामा कपी–किताब बोकेर उनी नियमित रूपमा विद्यालय जान थालेका छन् ।

कुनै समय फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख वनकरिया समुदायलाई सरकारले २०६२ सालमा जङ्गली जीवनबाट मानव बस्तीमा स्थानान्तरण गरेको थियो । पर्साको मध्यवर्ती क्षेत्र चुरेघाँचमा बसोबास गर्दै आएको यो समुदायलाई जिल्ला वन कार्यालयले कबुलियती वन समूहअन्तर्गत नौ हेक्टर क्षेत्रफलमा फैलिएको बस्तीमा व्यवस्थापन गरेको हो । हाल उक्त बस्तीमा २४ घरपरिवार वनकरिया समुदायको बसोबास छ ।

२०७८ सालको जनगणनाअनुसार वनकरिया जातिको कुल जनसङ्ख्या १८० मात्र रहेको छ भने मातृभाषा बोल्ने जनसङ्ख्या ८६ मा सीमित छ । नेपालमा वनकरिया समुदायको स्थायी बसोबास यही बस्तीमा मात्र रहेको समुदायकी अगुवा सन्तोषी वनकरियाले जानकारी दिइन् । उनका अनुसार हाल बस्तीमा ४५ महिला र ४६ पुरुष गरी ९१ जना वनकरिया बसोबास गर्दै आएका छन् ।

फिरन्ते जीवनबाट बिस्तारै स्थायी बसोबासतर्फ उन्मुख भएका वनकरियाहरू अहिले खेतीपातीसँगै कुखुरा, बाख्रा र भैँसी पालनमा संलग्न छन् । कोही ज्याला मजदुरी गरेर पनि जीविकोपार्जन गर्दै आएका छन् । अभिभावक खेती र पशुपालनमा व्यस्त हुँदा यसअघि दिनभरि खेल्दै समय बिताउने सात वर्षीय सौरभ वनकरियाको दैनिकी पनि अहिले फेरिएको छ । रजनीसँगै सौरभ पनि अहिले घर नजिकैको चेपाङ आधारभूत विद्यालय जान थालेका छन् ।

रजनी र सौरभ मात्र होइन, पछिल्लो समय वनकरिया बस्तीका बालबालिकामा शिक्षाप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ । हाल बस्तीका सात जना बालबालिका चेपाङ आधारभूत विद्यालयमा अध्ययनरत छन् भने चार जना श्रीपशुपतिनाथ माध्यमिक विद्यालय, मसिने गोलघरमा पढिरहेका छन् ।

आफ्नो अनुभव सुनाउँदै सन्तोषी वनकरियाले भनिन्, “म करिब १० वर्षको हुँदा २०६३ सालमा पहिलो पटक विद्यालय पुगेकी थिएँ । त्यतिबेला वनकरिया भनेर मानिसहरूले अचम्म मानेर हेर्थे, सरहरूसँग डर लाग्थ्यो । अन्य समुदायसँग घुलमिल भएको अनुभव थिएन ।” क्रमशः विद्यालय वातावरण सहज बन्दै गएको र २०७३ सालमा आफूले एसइई परीक्षा उत्तीर्ण गरेको उनले बताइन् । सोही बस्तीकी पम्फा वनकरियाले २०७२ सालमै एसएलसी उत्तीर्ण गरेकी थिइन् ।

हालसम्म पम्फा र सन्तोषीसहित आरती, सम्झना, अनिल र विष्णुमाया वनकरिया गरी छ जनाले एसइई उत्तीर्ण गरिसकेका छन् । एसइई उत्तीर्णमध्ये सन्तोषीले कक्षा १२ सरहको बाली विज्ञान (जिटिए) पूरा गरेकी छन् भने आरती, सम्झना र अनिल कक्षा १२ मा अध्ययनरत छन् । मकवानपुरको हेटौँडा बहुमुखी क्याम्पसमा अध्ययनरत आरती वनकरिया पत्रकारिता क्षेत्रमा पनि सक्रिय बन्दै गएकी छन्र् ।

वनकरिया बस्तीका बालबालिकालाई लक्षित गरी मनहरी गाउँपालिका र विभिन्न संस्थाले सञ्चालन गरेका शैक्षिक अभियानले विद्यालय जाने बालबालिकाको सङ्ख्या बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । बस्तीमै निःशुल्क ट्युसन कक्षा सञ्चालन हुनु र शैक्षिक सामग्री उपलब्ध गराइनुले अभिभावक र बालबालिका दुवैलाई विद्यालयप्रति आकर्षित गरेको छ । यसअघि विद्यालय टाढा भएकाले बालबालिका कम जाने गर्थे तर २०७९ सालमा चिसापानीबाट चेपाङ आधारभूत विद्यालय बस्ती नजिक सारिएपछि अवस्था सुधारिएको आरती वनकरियाले बताइन् ।

“पहिला स्कुल टाढा भएकाले बालबालिका खेल्दै दिन बिताउँथे । अहिले स्कुल नजिकै आएपछि र ट्युसन कक्षा सुरु भएपछि पढाइप्रति रुचि बढेको छ,” उनले भनिन् ।

पहिले शिक्षाको महत्व नबुझेका अभिभावकहरुमा पनि अहिले चेतनाको विकास हुँदै गएको छ । वनकरिया समाजका अध्यक्षसमेत रहेकी सन्तमाया वनकरियाले भनिन्, “जङ्गलमा फिरन्ते जीवन बिताउँदा पढाइको कुरा थाहै थिएन । अहिले फरक संसारमा आएको महसुस भइरहेको छ ।”

वनकरिया समुदायको शैक्षिक अवस्था सुधारका लागि स्थानीय सरकारले लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको मनहरी गाउँपालिका–४ का वडाअध्यक्ष प्रकाश थापाले बताए । “बालबालिकालाई विद्यालय भर्ना गराउने, बस्तीमै निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने र शैक्षिक सामग्री तथा स्कुल झोला उपलब्ध गराउँदै आएका छौँ,” उनले भने । महिलाहरुका लागि प्रौढ शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको र समाजसँग घुलमिल बढ्दै जाँदा वनकरिया समुदायमा चेतनाको स्तर क्रमशः उकासिँदै गएको उनको भनाइ छ ।