९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन



अ+ अ-

काठमाडौँ: निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ ।

कुटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङ कार्यक्रममा उहाँले निर्वाचनका सम्पूर्ण व्यवस्थापकीय कार्यहरू अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो । सचिव राउतकाअनुसार यस निर्वाचनमा कुल १ करोड ७९ लाख मतदाता सहभागी हुँदैछन् । जसमा ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष रहेका छन् । मतदानका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्रहरू तोकिएका छन् । साथै अस्थायी मतदाताहरूका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न १ सय ४३ वटा अस्थायी मतदान केन्द्रहरूको समेत व्यवस्था गरिएको छ ।

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको सचिव राउतले जानकारी दिनुभयो । निर्वाचन आचारसंहिता पालना गराउन जिल्ला स्तरमा अनुगमन समिति र मुख्य निर्वाचन अधिकृतहरूको नेतृत्वमा टोलीहरू सक्रिय रहेका छन् । मतदाता शिक्षालाई प्रभावकारी बनाउन र बदर मत संख्या घटाउन ६ हजार ७ सय ४३ वडास्तरीय स्वयंसेवकहरू १५ दिनका लागि परिचालन गरिएका छन् ।

निर्वाचन खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न राजनीतिक दल र उम्मेदवारहरूका लागि छुट्टै निर्वाचन प्रचार खाता खोल्न अनिवार्य गरिएको छ । कुटनीतिक नियोगका प्रतिनिधिहरूको जिज्ञासा सम्बोधन गर्दै सचिव राउतले मतदान सकिएलगत्तै गणना शुरु हुने र दुर्गम क्षेत्र बाहेक अन्य स्थानमा १ देखि ३ दिनभित्र नतिजा आउने अपेक्षा गरिएको बताउनु भयो । विदेशी पत्रकारहरूका लागि सूचना तथा प्रशारण विभागमार्फत पास उपलब्ध गराइने र पर्यवेक्षकहरूका लागि विशेष सुरक्षा र समन्वयको व्यवस्था मिलाइएको उहाँले स्पष्ट पार्नुभयो ।

निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सचिव राउतले छिमेकी र मित्र राष्ट्रहरूबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल