१९ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको उपचारका क्रममा निधन ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार अर्थमन्त्री स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै जलवायु नीति संशोधनमा युवाको प्रत्यक्ष सहभागिता र छुट्टै वित्तीय कोषको माग मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, एकतर्फी आवागमन अवरुद्ध राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवन बदलिने आशामै छन् बोटे समुदाय



अ+ अ-

मध्यविन्दु । यहाँका बोटे समुदाय परम्परागत पेसामै निर्भर छन् । पुस्तौँदेखि माछा मार्ने, डुङ्गा चलाउने र ज्याला मजदूरी गर्ने पुख्र्यौली पेसा नै यो समुदायका व्यक्तिको मुख्य आम्दानीको स्रोत हो ।

शिक्षा, स्वास्थ्य र सडकको पहुँचमा केही सहज भए पनि आवश्यक सीप, वैकल्पिक रोजगारी र स्थायी बसोबासको सुनिश्चितता नहुँदा यो समुदायको जीवनस्तरमा अपेक्षित सुधार आउन सकेको छैन ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ स्थित बोटे माझी शिविरका रनकुमार बोटे आफ्नो समुदायले नयाँ पेसा व्यवसाय गर्ने सोच राखे पनि पूरा हुन नसकेको बताउनुभयो । “हामीलाई माछा मार्नेबाहेक अरू काम खासै आउँदैन । तालिम र रोजगारीको अवसर भए नयाँ काम गर्न सकिन्थ्यो, तर हालसम्म यही पेसामा निर्भर हुनुपरेको छ”, उहाँले भन्नुभयो ।

नदी किनार आसपास बसोबास गर्ने बोटे समुदायका अधिकांश परिवार बिहानै नदीमा पुग्छन् । कसैले जाल हाल्छन्, कसैले डुङ्गा चलाएर जीविका चलाउँछन् । दिनभरको मेहनतपछि कमाएको थोरै रकमले परिवार धान्नुपर्ने अवस्था रहेको स्थानीय श्यामकुमारी बोटेको भनाइ छ । उहाँका अनुसार वैकल्पिक रोजगारी नहुँदा नयाँ पुस्ता पनि पुरानै पेसामा बाँधिन बाध्यरहेका छन् ।

बोटेको भन्नुभयो,“छोराछोरी पढिरहेका छन्, तर पढेपछि के गर्ने भन्ने अन्योल छ । काम गरिखाने सीप सिकाउने तालिम पाए फरक क्षेत्रमा जान सक्थे । सम्मानित जीवन जिउन सहज हुन्थ्यो ।”

विसं २०५८ मा नारायणी नदीमा आएको भीषण बाढीले साविक नारायणी गाविस– ३, ४ र कोल्हुवा गाविस–६ नन्दपुरका २३८ घरपरिवार विस्थापित भएका थिए । तीमध्ये करिब ३८ बोटे परिवारलाई हालको मध्यविन्दु नगरपालिका–२ शिविर बोटे माझी टोलमा स्थानान्तरण गरिएको थियो । सरकारले दिएको १० धुर जग्गामा उनीहरू वर्षौंदेखि बसोबास गर्दै आएका छन्, तर अझै जग्गाको लालपुर्जा प्राप्त हुन सकेको छैन ।

स्थानीय बासिन्दा भन्छन्, “जमिनको स्वामित्व सुनिश्चित भए भविष्यप्रति ढुक्क हुन सकिन्थ्यो । हाल बसोबास त गरिरहेका छौँ, तर कानुनी कागज नहुँदा असुरक्षा महसुस हुन्छ ।”

सामाजिक तथा आर्थिक रूपमा सीमान्तकृत मानिएको यस समुदायलाई राज्यले शिक्षा, सीपमूलक तालिम र लक्षित रोजगारी कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीय पूर्णिमा बोटेले बताउनुभयो । परम्परागत पेसा संरक्षणसँगै आधुनिक सीप विकास गरिए मात्रै नयाँ पुस्ता गरिबीको रेखाबाट बाहिर निस्कनसक्ने उहाँको भनाइ छ ।

“स्थानीय तहले केही सामाजिक सुरक्षा र आधारभूत सेवा उपलब्ध गराए पनि दीर्घकालीन आयआर्जनका कार्यक्रमको अभाव छ”, बोटेले भन्नुभयो, “माछा मार्ने पेसालाई सम्मानजनक रूपमा आधुनिकीकरण गर्दै पर्यटन, मत्स्यपालन तथा साना उद्यमसँग जोड्ने गरी सरकारले योजना ल्याउनुपर्छ ।”

जिल्लाका गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका क्षेत्रमा बोटे समुदायको उल्लेख्य बसोबास रहेको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार जिल्लामा बोटे समुदायको जनसङ्ख्या दुई हजार ४०६ रहेको छ ।

बोटे समुदायका ज्येष्ठ नागरिकहरू भन्छन्, “हामी नदीसँगै जन्मियौँ, नदीमै बाँचेका छौँ । अब राज्यले हाम्रा सन्तानलाई नयाँ बाटो देखाइदियो भने हाम्रो सङ्घर्षको सार्थकता हुनेछ ।”

परम्परागत ज्ञान र संस्कृतिको धनी बोटे समुदाय आज पनि जीवनयापनको आधार खोज्दै सङ्घर्षरत छ । सीप, रोजगारी र सुरक्षित बसोबासको सुनिश्चितता भए उनीहरूको जीवनस्तर उकासिनुका साथै परम्परागत पहिचान पनि जोगिने विश्वास गरिएको छ । निर्वाचनको माहोल चलिरहेको अवस्थामा यस समुदायले दल तथा तिनका उम्मेदवारबाट यही आशा राखिरहेका छन् ।  रासस