२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

शिवरात्रि किन र कसले मनाउने

शिवरात्रि किन र कसले मनाउने
अ अ+ अ-

नेपालको माटोले महादेवको पूजा गर्न, शिखरहरुले शिवको अनुष्ठान गर्न लगाउँछ । हाम्रा दिनमात्र होइन रात्रिले पनि साधना गर्न सिकाउँछ । रात्रिको अर्थ रातमात्र होइन ज्ञान पनि हुन्छ ।

शिव बुझ्ने, ज्ञान प्राप्त गर्ने, ब्रम्ह साक्षात्कार गर्ने रात्रिलाई शिवरात्रि भनिन्छ । शिवरात्रिले परम्परालाई मात्र धानेको छैन प्रकृति र परमात्माको चिन्तन गर्ने बाटो देखाएको छ । शिवरात्रि प्राय: फाल्गुन महिनामा पर्छ अर्थात् फाल्गनुकृष्ण चतुर्दशीमा मनाइन्छ । फाल्गुन ११ औँ महिना हो, रुद्र पनि ११ छन्, चतुर्दशी तिथिका स्वामी शिव हुन् ।

‘शिवस्य रात्रि: शिवरात्रि’ अर्थात् शिवको रात्रि वा शिव साक्षात्कार गर्ने राशि नै शिवरात्रि हो । शिवको अर्थ ‘परमात्मा’, रात्रिको अर्थ ‘ज्ञान’ हुन्छ । फाल्गुनकृष्ण चतुर्दशीको साधनाबाट तुरुन्तै परमात्माको बोध हुनेहुँदा त्यसलाई महाशिवरात्रि भनिन्छ ।

शिवरात्रिसमं पुण्यं नास्ति यज्ञसहस्रकै: ।

मासे मासे कृष्णपक्षे या भवेच्च चतुर्दशी ।।

शिवरात्रिस्तु सा ज्ञेया व्रतानामुत्तमोत्तमा ।। –अपराजितपृच्छा (३१।३९–४०)

अर्थात् “शिवरात्रिको समान पुण्य हजारौँ यज्ञ गर्दा पनि प्राप्त हुँदैन । प्रत्येक महिनाको कृष्णचतुर्दशीलाई शिवरात्रि सम्झिएर व्रत गर्नु उत्तम हुन्छ ।” एक वर्षमा शिवा, शान्ता, सिद्धिदा, जया, मनोरमा, कान्ता, आह्लादा, सौम्या, शुभा, मणिप्रभा, विश्वा र विश्वकृदुद्भवा नाम गरेका बाह्रवटा चतुर्दशीहरू प्रसिद्ध छन्, यिनीहरू मंसीर महिनाबाट आरम्भ भएर कार्तिक महिनामा पूर्ण हुन्छन् ।  रात्रि शब्दमा रहेको ‘रा’ ले ऐश्वर्य, ‘‘त्र’ ले ‘रक्षा गर्नु’ भन्ने बुझाउँछ ।

“शिव एवं रा धनं तत् त्रायतेति शिवरात्रम्” अर्थात् शिवले धनको रक्षा गर्ने रात्रिलाई शिवरात्रि भनिन्छ । रातमा जन्मिए पनि ‘जन्मरात्रि’ होइन जन्मदिन मनाइन्छ । शिवसँग जोडिएको रात्रि शब्दको अर्थ ‘रात वा अन्धकार’ नभई सम्पत्ति, शक्ति, ज्ञान, आनन्द भन्ने हुन्छ । शिवको आशीर्वाद प्राप्त गर्ने, साक्षात्कार गर्ने, अभ्युदय प्राप्त गर्ने रात्रिलाई शिवरात्रि भनिन्छ ।

जुन दिन र रात्रिमा चतुर्दशी तिथि हुन्छ, त्यसलाई निश्चित रूपले शिवरात्रि मान्नुपर्छ ।  एक वर्षभित्र पर्ने शिवरात्रिमध्येको सर्वोत्कृष्ट रात्रिलाई महाशिवरात्रि भनिन्छ । यस दिन नेपालका विभिन्न शिवालयमा दर्शनार्थीको भीड हुन्छ । शिवरात्रिमा शिवअनुरागीहरूले स्वास्थ्य, उमेर, स्थान आदिलाई ध्यान दिई जलाहार, फलाहार, निराहार व्रत बस्न सक्छन् । व्रतमा आचरण, भोजन, परम्परा, साधना विधि आदिमा विशेष ध्यान दिइन्छ ।

गाँजाहार, धतुरोआहार, चरेशाहार, माशांहार गरी व्रत बस्ने नियम शास्त्रमा छैन । देवीदेवताले खाँदैनन् बरु भक्तले चढाएको पदार्थलाई प्रसाद वा अमृत बनाइदिन्छन् । गाँजा पिएर महादेव बन्न खोज्नेले सर्पका माला लगाएर, कम्मरमा बाघको छाला बेरेर, हिमालमा बसेर, खरानी घसेर, मशानघाटमा साधना किन नगर्ने ? महादेवले गणेश एवं दक्षप्रजापतिमा क्रमश: हात्ती तथा बोकाको टाउको जोडे, कालकुट विषको सेवन गरे हामी किन नगर्ने ? अध्ययन नगरी देवीदेवतामाथि आरोप लगाउँदा पुर्खामाथि अन्याय, शास्त्रमाथि प्रहार, देवीदेवतामाथि अपमान, संस्कारमाथि अत्याचार हुन्छ ।

महादेवबुटी मानेर मादक खानु महापराध हो । गाँजा मध्य एशियामा अनादिकालदेखि पाइने औषधीय गुण भएको वनस्पति हो । नारी र पुरुष दुबै गाँजाका रुखहरू साथमा भएनन् भने फल लाग्दैन । यसले अर्धनारीश्वरको स्वरूपलाई संकेत गर्छ ।

शिवरात्रिमा उपवास, रात्रि जाग्रम र शिवपूजा गरी तीन विधिबाट शिवको अनुष्ठान गरिन्छ । चाण्डालदेखि मनुष्यसम्म सबैले शिवरात्रिमा व्रत बस्दा इच्छाएको फलसहित मुक्ति प्राप्त हुन्छ । शिवरात्रिको महिमा शिवपुराण(कोटिरुद्रसंहिता, ३७ अध्याय)को एउटा कथाले बताउँछ ।

कुनै वनमा गुरुद्रुह नामको हत्या र कुकर्म गर्ने बलवान् भिल्ल बस्दथ्यो । मृगहरू मार्ने र चोरी गर्ने कार्यबाट परिवारको पालनपोषण गथ्र्यो । एकपटक शिवरात्रिको दिन उसका परिवारले भोकले व्याकुल छौँ, खाने कुरा देऊ भने । गुरुद्रुह तुरुन्तै शिकारमा गए पनि केही पाएन, सूर्य अस्ताए । अत्यन्त दु:खित भएर जलाशयका नजिकमा राती जनावर पानी पिउन आए शिकार गरी घर जाउँला भनी बेलको रुखमा चढेर बस्यो । रातको पहिलो प्रहरमा एउटी मृगिणी तिर्खाले आत्तिएर त्यहाँ आई । भिल्लले बाण हान्न लाग्दा रुखको हाँगो हल्लिएर उसले लिएको जल र बेलपत्र खसेर शिवलिड्डमा पर्‍यो । सौभाग्यवश भिल्ललाई ज्ञान नभएर पनि शिवको पहिलो प्रहरको पूजा हुन गयो र सारा पाप नष्ट भए । भिल्ललाई देखेर मृगिणी डरले व्याकुल हुँदै भनी “हे व्याधा ¤ तिमी के गर्न चाहन्छौँ ?”

भिल्लले भन्यो– “मेरा परिवार भोकै छन्, तँलाई मारेर उनीहरूलाई खुवाउँछु ।”

मृगिणीले– “अनर्थ गर्ने यो शरीरको मासु खाएर तिमी सुखी हुन्छौ भने मेरा लागि महापुण्य हुन्छ । मेरा बच्चाहरूलाई अन्तिमपटक भेट गरी श्रीमान्लाई जिम्मा लगाउन देऊ ।” भनी बाचा गरेपछि छोडिदियो ।

राती अबेरसम्म घर नफर्केपछि मृगिणीकी बहिनीहरूले उसलाई खोजी गर्दै त्यहीँ आइपुगे । व्याधाले पहिलाजस्तै बाण उठाउन खोज्दा जल एवं बेलपत्र शिवलिड्डमाथि पर्‍यो र दोस्रो प्रहरमा पूजा भयो । यसबाट व्याधाले सुख प्राप्त गर्‍यो । मृगिणीहरूले व्याधालाई देखेर जीवनयाचना गरे । व्याधाले पहिलेजस्तै वाचा गरी छोडिदियो । प्रतिज्ञा गरेर आएका सबै मृगिणीहरूले एक अर्कासँग सम्बन्धित घटना सुनाए । उनीहरूले प्रतिज्ञा गरेको हुनाले जानैपर्छ भन्ने अठोट गरे  । जेठी मृगिणीले आफूमात्र जाने कोशिस कुरा सुनाएपछि कान्छीले भनी–“म  तपाईकी सेविका हूँ, त्यसैले म जान्छु ।”

मृग र मृगिणीहरूले  आफ्ना सन्तानलाई सम्झाई छिमेकीहरूको जिम्मा लगाएर व्याधासमक्ष आए । तिनीहरूलाई देखेर व्याधाले खुशी हुँदै धनुमा बाण चढाउँदा रुखको हाँगो हल्लिएर फेरि शिवलिड्डमाथि जल र बेलपत्र पर्‍यो । शिवपूजाका  प्रभावले उसलाई दुर्लभ  ज्ञान प्राप्त भयो । व्याधाले भन्यो– “हे मृगश्रेष्ठ हो ¤ तिमीहरू धन्य छौँ, आफ्ना आश्रममा जाओ ।”

अज्ञानवश भए पनि शिवलिड्डमा पूजा गरी व्याधाले मुक्ति पायो । विधिविधान र श्रद्धारहित भएर गरेको शिवपूजाबाट त फल मिल्छ भने श्रद्धाभक्तिसहित गरेको शिवपूजाबाट अनेकौँ लाभ अवश्य प्राप्त हुन्छन् । कालमाधव (पृ. ३६६)का अनुसार यो रात्रि शिवजीको रात्रि भएकाले शिवको प्रिय छ ।

यस रात्रि सबै शिवलिड्डहरूमा शिव रहनुहुन्छ । चर र स्थावरलिड्डमा त्यो रात शिव रहने भएकाले हे देवी ¤ शिवरात्रिलाई हरबल्लभाको नामले पनि चिनिन्छ । यस रात्रिमा थोरै परिश्रमले शिवको साक्षात्कार वा मृत्युपछि शिवसायुज्य प्राप्त हुन्छ । राती जाग्राम बस्ने, धुनी ताप्ने, शिवसम्बन्धी भजन गाउने, रुद्राक्षका मालाले मृत्युञ्जयलगायतका मन्त्र जप्ने गर्दछन् । ‘शैव, वैष्णव वा अन्य जसका पूजक भए पनि शिवरात्रिमा शिवको पूजा गर्दा सबै पूजाको फल प्राप्त हुन्छ ।

साँझपख शिवधुनी बालेर घर, दोबाटो वा चौबाटोमा तापिन्छ । धुनीलाई अज्ञानको अन्त्य, जागरणको प्रतिक, ज्ञानको ज्योति मानिन्छ । धुनी ताप्दा रोग हट्छ, धुनीमा पाकेका भोजन प्रसाद हुन्छ, धुनीको खरानी विभूति (ईश्वर स्वरूप) मानिन्छ । धुनीमा बसेर शिवको चिन्तन, स्तोत्र र मन्त्र पाठ गर्न छोडेर गाँजा तान्ने विकृति बढेको छ ।

महादेव खरानी घस्छन् अर्थात् धुनीप्रिय छन् । महाशिवरात्रि साधना गर्ने रात्रि हो, ज्ञान र ऐश्वर्य प्राप्त गर्ने रात्रि हो, अनेकौँ जन्मका पापलाई नाश गर्ने रात्रि हो, हृदयमा शिव राखेर प्रार्थना र चिन्तन गर्ने अवसर हो । धार्मिक अनुष्ठान गर्दा मानसिक र शारीरिक शुद्धी हुन जरुरी छ तर गाँजालगायतका मादक पदार्थ खाने शास्त्रीय चर्चा छैनन् । हाम्रा पर्वले परमात्मासँग जोड्न सिकाउँछ, अखाद्य खाएर वितण्डा मच्चाउन लगाउँदैन । यसैले शिवजस्तै ‘सत्यं शिवं सुन्दरं’ हुनका लागि शिवरात्रिमा शिवको अनुष्ठान र साधना गर्नुपर्छ, नशा पिएर दशामा फस्न हुँदैन ।

महादेवले मृगस्थलीमा मृगको रुप लिएर विचरण गर्नुभयो, कालकुट विष खाएर रसुवाको गोसाइँकुण्डमा शयन गर्नुभयो, भस्मासुरले लखेट्दा हलेशीमा आरक्षण लिनुभयो, शिवधनुषलाई जनकपुरमा राख्नुभयो, पर्वतीलाई गौरीशंकरहिमालमा बसेर तन्त्रको अभ्यास गराउनुभयो ।

यसकारण नेपालको माटोसँग, नेपाली संस्कृतिसँग, नेपालको परम्परासँग शिवको सम्बन्ध जोडिएकाले कुनै पनि नेपाली शिवभन्दा भिन्न हुन सक्दैन । नेपालमा पशुपति छन्, वैद्यनाथ छन्, ६४ शिवलिङ्ग छन्, अद्भूत शैव क्षेत्र छन् यसकारण हामीले नै शिवरात्रि मनाउनुपर्छ, शिवतत्वको चिन्तन गर्नुपर्छ, शिवऊर्जालाई लिन सक्नुपर्छ ।