१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुखमा जाल अड्किएको घडियालको उद्धार



अ+ अ-

नवलपुर । अति शङ्कटापन्न अवस्थाको वन्यजन्तुमा सूचीकृत घडियाल (गोही)को नारायणी नदीबाट उद्धार गरिएको छ । मुखमा तियारी (खोलामा माछा मार्न प्रयोग हुने) जाल अड्किएको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा पर्ने अमलटारीघाटस्थित नारायणी नदीमा फेला परेको घडियालको स्थानीय बोटे समुदायको सक्रियतामा उद्धार गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापा मगरले लगातार चार दिनको प्रयासपछि बुधबार दिउँसो गोहीको मुखबाट तियारी जाल हटाउन सकिएको जानकारी दिनुभयो । “स्थानीय गोपाल बोटेको सक्रियतामा निकुञ्जका कर्मचारी तथा स्थानीय बासिन्दाको सहयोगले चार दिनपछि भाले गोहीको उद्धार गर्न सफल भयौँ”, उहाँले भन्नुभयो, “मुखमा तियारी जाल बेरिएको थियो, जाल काटेर गोहीलाई नदीमा छाडिएको छ ।”

माछा मार्ने क्रममा नदीमा छोडिएको जाल गोहीको मुखमा बेरिएको हुनसक्ने थापामगरले जानकारी दिनुभयो । उद्धार गरिएको गोहीको स्वास्थ्य अवस्था राम्रो भएको भन्दै उद्धारमा संलग्न बोटे समुदायलाई उहाँले धन्यवाद दिनुभयो । बुधबार उद्धार गरेर नारायणीमा छोडिएको गोही वयस्क भाले घडियाल भएको उहाँको भनाइ छ ।

योसँगै यस वर्ष नारायणी नदीबाट चार वटा घडियाल गोहीको उद्धार गरिएको सूचना अधिकारी थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो महिना गरिएको स्थलगत घडियाल गोही गणनाको क्रममा नारायणी नदीमा दुई तथा राप्तीमा सात वटा गरी यस क्षेत्रमा नौ वटा भाले घडियाल गोही फेला परेका छन् ।

त्यस्तै नारायणीमा १३५ तथा राप्तीमा २३१ गरी निकुञ्जमा ३६६ वटा वयस्क घडियाल गोहीको गणना गरिएको थापा मगरले जानकारी दिनुभयो । निकुञ्जले प्राकृतिक वातावरणमा घडियाल गोहीको सङ्ख्या वृद्धि गर्न निकुञ्जको प्रजनन केन्द्रमा बच्चा हुर्काएर नदीमा छोड्दै आएको छ ।

अति सङ्कटापन्न अवस्थाको घडियालसहितका वन्यजन्तु संरक्षणका लागि निकुञ्जले स्थानीय समुदायसँग साझेदारी गरेर कार्यक्रम गर्दै आएको छ । “संरक्षणमा स्थानीयलाई सचेत बनाउँदै सहभागी गराउँदा त्यसले सकारात्मक प्रतिफल दिने गरेको छ”, उहाँले भन्नुभयो, “समुदायको सहभागितामा संरक्षण कार्य अगाडि बढाउँदा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत टेवा पुग्दै आएको छ ।”

निकुञ्जले संरक्षणमा स्थानीयलाई अपनत्व ग्रहण गराउनेगरी विश्व सिमसार दिवसको अवसर पारेर सोमबारमात्रै स्थानीय बोटे समुदायको हातबाट राप्ती नदीमा घडियाल गोही छोडेको थियो । रासस