१० मंसिर २०८१, सोमबार
,
Latest
एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौँ गोर्खाज’ एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र रुकुम पश्चिममा छोराद्वारा बुबाको हत्या जब प्रधानमन्त्रीले आठवटै मार्की खेलाडीको बयान गरे महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै प्रधानमन्त्रीको चीन भ्रमणः पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री सहित विज्ञसँग सुझाव लिँदै प्रधानमन्त्री सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल एनपिएलको ट्रफीमाथि राखिएको ढुंगा किन विशेष छ ? एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्बौंका काठ वनमै कुहिए



अ+ अ-

काठमाडौं । सरकारले आफ्नै वन–जंगलका रूखको उपयोग गर्न नसक्दा विदेशबाट दैनिक डेढ करोड रुपैयाँको काठ आयात गर्नुपरेको छ । सरकारले वनको वैज्ञानिक व्यवस्थापनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा वनमा अर्बौं रुपैयाँ बराबरका काठ कुहिँदै छन् । तर, दैनिक १ करोड ५७ लाख ५३ हजार ४ सय ३५ रुपैयाँको काठ विदेशबाट आयात भइरहेको छ । यो अवस्थाले मुलुकलाई काठमा आत्मनिर्भर बनाउने सरकारी योजनामाथि गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ । मुलुक काठमा आत्मनिर्भर हुन नसक्दा सर्वसाधारण उपभोक्ता महँगोमा काठ किन्न बाध्य छन् ।

वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी गरिए पनि गत आर्थिक वर्षमा सात मुलुकबाट ५ अर्ब ७५ करोड रुपैयाँको काठ आयात गरिएको सरकारी तथ्यांकले देखाएको छ । वनमा काठ कुहिए पनि त्यसको व्यवस्थापनमा ध्यान नहुँदा आयात बढेको विज्ञहरूले बताएका छन् । भन्सार विभागका अनुसार गत आवमा भारत, चीन, इन्डोनेसिया, मलेसिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्यालढोकामा प्रयोग हुने फ्रेम लगायत काठजन्य सामान आयात गरिएको थियो ।

इन्डोनेसिया, मलेसिया, म्यानमार, युक्रेनलगायत मुलुकबाट १ अर्ब ५१ करोड ५० लाख १५ हजार रुपैयाँको गोलिया काठ आयात भएको विभागले जनाएको छ । ‘गत आवमा भारत, चीन, म्यान्मार, इन्ण्डोनेसिया, सिंगापुर लगायतका मुलुकबाट १ अर्ब ६३ करोड ६३ लाख ७० हजार रुपैयाँबराबरको चिरान काठसमेत आयात भएको छ,’ विभागका महानिर्देशक तोयम रायले भने, ‘यसबाहेक भारत, चीनलगायत मुलुकबाट ६३ करोड ८३ लाख ४ हजार रुपैयाँ मूल्य बराबरको काठका प्लाई तथा बोर्ड आयात भएको देखिन्छ ।’ नेपालमा भारत र चीनबाट सबैभन्दा बढी प्लाई आयात हुने गरेको छ ।

झ्याल ढोकामा प्रयोग हुने फ्रेमदेखि दाँत कोट्याउने टुथपिकसम्म विदेशबाटै आयात गरिन्छ । वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार गत आवमा मुलुकभित्र राष्ट्रिय, सामुदायिक र निजी वनक्षेत्रबाट गरी कुल १ करोड ७५ लाख ५२ हजार घनफिट काठ उत्पादन भएको थियो । काठको माग भने वार्षिक ३ करोड घनफिट हाराहारीमा छ । काठको आपूर्ति व्यवस्था झन्झटिलो भएर जंगलमा काठ खेर जाने अवस्था छ । वनको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा मागअनुसार स्वदेशमै काठ उत्पादन हुन नसकेको यस क्षेत्रका व्यवसायी बताउँछन् । मागअनुसारको काठ आपूर्ति हुन नसकेपछि गुणस्तरहीन विदेशी काठ आयात गर्नुपर्ने बाध्यता रहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष श्याम ढकाल बताउँछन् ।

‘बिचौलियाका रूपमा काम गर्ने संस्था र व्यक्तिका कारण सरकारद्वारा निर्धारित मूल्यभन्दा धेरै मूल्य उपभोक्ताले तिर्नुपरेको छ,’ उनले भने, ‘विदेशी काठ सहजै र तुलनात्मक रूपमा सस्तोमा आयात गर्न सकिन्छ त्यसैले विदेशी काठको कारोबार बढेको हो ।’ सरकारी मूल्यअनुसार हाल सालको गोलिया प्रतिघनफिट १ हजार ८ सय रुपैयाँ छ तर सोही काठ चिरानपछि सर्वसाधारणले किन्दा ६ हजार घनफिटभन्दा बढी तिर्नुपर्छ । व्यवसायीले महँगोमा काठ खरिद गर्नुपरेको र खरिद प्रक्रिया नै झन्झटिलो तथा प्रक्रियामुखी भएको अध्यक्ष ढकालको गुनासो छ ।

राष्ट्रहित र दिगो अर्थतन्त्रका लागि विदेशी काठको आयात रोक्न आवश्यक रहेको बताउँदै उनले वैज्ञानिक वन व्यवस्थापन मार्फत वनको संरक्षण र वृक्षरोपण सँगसँगै अघि बढाएर काठको उत्पादन बढाउनुपर्ने बताए । वन तथा भू–संरक्षण विभागका अनुसार नेपालका तराई र भित्री मधेसका जंगलमा २ सयदेखि ५ सयसम्म वर्ष पुराना सालका रुख छन् । सालका रूखबाट सबैभन्दा बढी उत्पादन लिने समय भनेको ८० वर्ष रहेको विभागका महानिर्देशक डा. रामप्रसाद लम्सालले जानकारी दिए । मन्त्रालयको पछिल्लो वन सर्वेक्षणअनुसार वन र बुट्ट्यान क्षेत्र गरी नेपालमा ६६ लाख १० हजार हेक्टर वन क्षेत्र छ, जुन मुलुकको कुल भू–भागको ४४ दशमलव ७४ प्रतिशत हो ।

बर्सेनि काठ आयात बढ्दै गएको तथ्यलाई ध्यानमा राखेर वनमन्त्री शक्तिबहादुर बस्नेतले मागअनुसार काठको उत्पादन बढाउन र वन पैदावारको व्यवस्थापन गर्न ‘वन सुधार कार्ययोजना’ अघि बढाए पनि त्यसको कार्यान्वयन पक्ष फितलो देखिएको छ । मन्त्री बस्नेतले कार्यभार सम्हालेलगत्तै मुलुकलाई काठ तथा काठजन्य सामानमा आत्मनिर्भर बनाई निर्याततर्फ उन्मुख बनाउन वन क्षेत्रमा नीतिगत तथा कानुनी सुधार, संगठनात्मक र संरचनात्मक सुधार, सेवाप्रवाह र सुशासन प्रवद्र्धन, वन व्यवस्थापन तथा उपयोग, निजी वन प्रवद्र्धनसहितको कार्ययोजना सार्वजनिक गरेका थिए ।

कार्ययोजनामा कर्मचारीबाटै सहयोग नभएको उनले गुनासो गर्दै आएका छन् । उत्पादनशील वनमा वैज्ञानिक वन व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शनको तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयनमाथि यो कार्ययोजनाले जोड दिएको थियो । चक्ला वन व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता अभिवृद्धिका लागि मार्गदर्शन तथा मापदण्ड तर्जुमा गर्नुका साथै वनको पहुँचबाहिर रहेका तराई–मधेसलगायत सबै क्षेत्रका समुदायलाई वनको पहुँचभित्र ल्याउने लक्ष्य कार्ययोजनामा थियो । मन्त्रालयले मुलुकभित्रको माग धान्न वैज्ञानिक वन व्यवस्थापन गरी चालु आवदेखि वार्षिक ६० लाख घनफिट काठ थप उत्पादन गर्ने लक्ष्य लिएको प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए ।

‘उत्पादन भइरहेको काठ र अब थप उत्पादन हुने काठको परिणाम जोड्दा हामी माग/आपूर्तिको समबिन्दुनजिक पुग्नेछौं,’ उनले भने, ‘गोलिया र चिरान काठसँगै मन्त्रालयले काठजन्य सामग्रीको उत्पादन मुलुकभित्रै वृद्धि गर्ने योजना पनि अघि बढाएको छ ।’ प्रदेशको विशिष्टताका आधारमा प्रत्येक प्रदेश सरकारसँग समन्वय गरी एक/एक वटा वन उद्योगको स्थापना गर्ने र प्रत्येक स्थानीय तहमा कम्तीमा एक/एक वटा फर्निचर उद्योग स्थापना गर्ने मन्त्रालयको कार्ययोजना कार्यान्वयन हुन सकेको छैन ।

संरचनागत सुधारका लागि दि टिम्बर कर्पोरेसन अफ नेपाल र वन पैदावार समितिलाई गाभेर काठ चिरान र वितरणमा थप सहजता ल्याउन नेपाल वन निगम लिमिटेड बनाइएको छ । मन्त्रालयले निजी वनबाट उत्पादित काठको कटानी, ओसारपसार र बिक्री वितरणलाई सहज तुल्याउन कानुनी सहजता पनि अपनाएको छ । राजधानी दैनिकबाट