१२ पुष २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने



अ+ अ-

दमौली, (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यहाँ कृत्रिम ताल निर्माण गरिरहेको छ ।

मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तालले आकार लिन थालिसकेको छ । तालको पूरै काम सकिएपछि यहाँ डुङ्गा शयर गर्न सकिनेछ । यस ठाउँमा ‘वाटर फन पार्क’ बनाउने लक्ष्य छ ।”

आँधीमूलमा प्रसिद्ध मन्दिरसमेत रहेकाले धार्मिक पर्यटनलाई जोडेर यहाँ पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको अध्यक्ष चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “आँधीमूल आफैँमा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ विभिन्न ठाउँबाट धार्मिक पर्यटकसमेत आउनुहुन्छ । धार्मिक पर्यटनलाई जोडेर यस ठाउँको विकास गर्न चाहेका छौँ ।”

यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माणको काम भइरहेको छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ । यहाँ ताल निर्माण गरी पानीमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको अध्यक्ष चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ पैदलमार्गलगायत अन्य पर्यटकीय पूर्वाधार पनि बनाउँछाँै । तालबाट विद्युत् उत्पादनको लक्ष्य छ ।”

विद्युत् उत्पादनका लागि निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने सोच रहेको छ । गाउँपालिकाले तनहुँ जलविद्युत् आयोजनाका पदाधिकारीसँग तालबाट निकाल्ने सकिने विद्युत्का विषयमा एक चरणको छलफल गरिसकेको छ । आँधीमूल धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको छ । आँधीमूल व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ । आँधीमूलमा रहेको मन्दिरमा पूजाआजा तथा घुम्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको थापाले बताउनुभयो ।

आँधीमूल मन्दिर परिसरमा रहेको पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पुजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको थापाले बताउनुभयो । प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकामा २०३५ सालमा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्गने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

पृथ्वीराजमार्गदेखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल नौ सय मिटर सडक कालोपत्र सम्पन्न भएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन छ । रासस