१७ श्रावण २०८३, आईतवार
,
Latest
धनुषामा निषेधाज्ञा हटाइयो फरार कैदी भरुवा बन्दुकसहित पक्राउ एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम



अ+ अ-

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ ।

व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको हो ।

किसानलाई व्यावसायिक तथा उद्यमशील बनाउने उद्देश्यले ‘एक घर एक करेसाबारी’ अवधारणाअनुसार कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमले किसानलाई तरकारीखेतीमार्फत आयआर्जन गर्न थप सहज बनाउनेछ ।

“किसानलाई व्यावसायिक नगदे तथा तरकारीखेतीतर्फ आकर्षित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “सबै किसानलाई कम्तीमा तरकारीमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।” कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाका नौवटै वडामा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालनका लागि किसानसँग प्रस्ताव आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो । प्रदेश सरकारबाट प्राप्त रु १० लाख सशर्त अनुदानमार्फत कार्यक्रम सञ्चालन हुने उहाँको भनाइ छ ।

गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन् । व्यावसायिक तरकारीखेती गर्न चाहने किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो ।

कार्यक्रम छनोटमा आर्थिक, सामाजिक तथा भौगोलिक रूपमा पछाडि परेका वर्ग, महिला तथा दलित किसानलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । कम्तीमा दुई सय वर्गमिटर (छ आना) क्षेत्रफलमा तरकारीखेती गर्दै आएका किसान कार्यक्रमका लागि योग्य मानिने छन्भने प्राथमिकतामा पर्नेछन् ।

‘एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ अनुसार कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी किसानलाई प्लास्टिक टनेल, सिँचाइका लागि पाइप तथा तरकारी उत्पादनका लागि उन्नत जातका बीउबिजन वितरण गरिने कृषि विकास शाखाले जानकारी दिएको छ । रासस