४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट

चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट
अ+ अ-

काठमाडौँ । हिमालयको काखमा अवस्थित नेपाल सानो तर रणनीतिक महत्वको राष्ट्र हो । यो देश सदियौंदेखि भारत र चीनजस्ता दुई महाशक्तिबीचको बफर स्टेटको रूपमा रहँदै आएको छ । तर पछिल्ला वर्षहरूमा अमेरिकाको बढ्दो संलग्नतासँगै नेपाल महाशक्तिहरूको प्रतिष्पर्धाको नयाँ रणभूमि बन्दै गएको छ । आगामी २०८२ फागुन २१ मा हुने संघीय निर्वाचन नजिकिँदै गर्दा नेपालले आन्तरिक अस्थिरता र वाह्य प्रभावको दोहोरो संकटसँग जुध्नु परिरहेको छ । भारत, चीन र अमेरिकाजस्ता शक्तिराष्ट्रहरूको प्रभावले नेपालको आन्तरिक राजनीतिलाई गहिराइसम्म प्रभावित गर्दैछ । जसले देशलाई सन्तुलनको दोसाँधमा उभ्याएको छ ।

२०८२ को जेन–जी विद्रोहः ट्रिगरदेखि परिवर्तनसम्म

२०८२ नेपालको राजनीतिक इतिहासमा सबैभन्दा अस्थिर र परिवर्तनकारी वर्ष सावित भयो । भदौ १९ मा तत्कालीन केपी शर्मा ओली सरकारले २६ वटा प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरू –फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स लगायत) मा प्रतिवन्ध लगाउने निर्णय ग¥यो । सरकारको यो कदमलाई नियमनको नाममा दमन र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमणको रूपमा लिइयो । यो प्रतिवन्धको तत्कालीन ट्रिगर सामाजिक सञ्जालमा भ्रष्टाचार, नेपोबेबीज (राजनीतिक एलिटका सन्तानहरूको विलासी जीवन) र युवा बेरोजगारीका भिडियोहरूको भाइरल हुनु थियो ।

भदौ २३ देखि काठमाडौंलगायत प्रमुख शहरहरूमा युवाहरू (मुख्यतः जेनेरेसन जेड) सडकमा उत्रिए । प्रदर्शनहरू शान्तिपूर्ण थाले पनि सुरक्षा फौजको अत्यधिक बल प्रयोगले स्थिति बिग्रियो । भदौ २३ र २४ मा भएको झडपमा धेरैको ज्यान गयो । हजारौं घाइते भए । प्रदर्शनकारीहरूले संसद भवनमा आगो लगाए, सर्वोच्च अदालतमा तोडफोड गरे । यो आन्दोलनलाई जेन जी विद्रोह भनियो । जसमा युवाहरूले डिस्कर्ड सर्भरहरूबाट संगठन गरे । भर्चुअल मतदान गरे र अन्तरिम नेतृत्व छान्ने प्रयास गरे ।

आन्दोलनका प्रमुख मागहरू थिएः भ्रष्टाचार अन्त्य, सुशासन, युवा रोजगारी, सामाजिक सञ्जाल स्वतन्त्रता र पुराना राजनीतिक एलिटहरूको दबदबा हटाउनु । आन्दोलनले ओली सरकारलाई ढालिदियो । भदौ २७ मा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेर संसद् विघटन गरी फागुन २१ मा नयाँ निर्वाचनको मिति घोषणा गरे । कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । यो घटनाले नेपालको राजनीतिक परिदृश्यलाई पूर्ण रूपमा परिवर्तन गरिदियो ।

यो विद्रोहले दक्षिण एशियामा युवा नेतृत्वको आन्दोलनको नयाँ लहर देखायो । जसमा बंगलादेशको २०२४ छात्र आन्दोलन र श्रीलंकाको २०२२ अरागलया जस्ता घटनाहरूसँग तुलना गरियो । आन्दोलनका क्रममा भारतविरोधी नारा पनि बढे, जसले सीमा विवादलाई उजागर ग¥यो । अन्तरिम सरकारले भ्रष्टाचार अनुसन्धान, सुरक्षा सुधार र स्वतन्त्र निर्वाचनको प्रतिबद्धता जनाएको छ । तर निर्वाचन नजिकिँदै गर्दा सुरक्षा चुनौती, राजनीतिक ध्रुवीकरण र युवाहरूको असन्तुष्टि कायमै छ ।

पुराना राजनीतिक शक्तिहरूः दबदबा, संकट र पुनर्गठन

नेपालको राजनीतिमा नेपाली काँग्रेस, नेकपा –एमाले) र नेकपा –माओवादी केन्द्र) जस्ता पुराना दलहरूले लामो समयदेखि प्रभुत्व कायम गरेका छन् । यिनले २०४६ को जनआन्दोलनदेखि संविधान निर्माणसम्म महत्वपूर्ण भुमिका खेलेका छन् । तर जेन–जी विद्रोहले यिनलाई भ्रष्टाचार, अस्थिरता र युवा मागलाई बेवास्ता गरेको आरोपमा घेरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि पुराना दलहरूको लोकप्रियता घटेको छ । नेपाली काँग्रेसमा शेरबहादुर देउवा र गगन थापा पक्षबीच विभाजन छ । माओवादी केन्द्र पनि आन्तरिक कलहमा छ ।

विद्रोहपछि पुराना दलहरूले गठबन्धन गरेर सामना गर्न खोजेका छन् । ओली र देउवाबीच भेटघाट भएका छन् । जसलाई निर्वाचनअघिको रणनीतिको रूपमा हेरिएको छ । तर युवा पुस्ताको मागलाई सम्बोधन गर्न नसक्दा यी दलहरू संक्रमणकालमा छन् । निर्वाचनमा यिनले ठूलो चुनौती सामना गर्नुपर्नेछ ।

नयाँ राजनीतिक शक्तिहरूः युवा जागरण, एकता र वैकल्पिक गठबन्धन

जेन–जी विद्रोहले राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) लगायत नयाँ दलहरूलाई बलियो बनाएको छ । रवि लामिछाने नेतृत्वको रास्वपाले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) सँग मिलेर पार्टीलाई अझ बलियो बनाएको छ । पुस १३ मा भएको सातबुँदे सहमतिअनुसार बालेन साहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइएको छ भने लामिछाने पार्टी अध्यक्ष रहनेछन् ।

यो गठबन्धनले सुशासन, रोजगारी, पर्यावरण, भ्रष्टाचार अन्त्य र युवा मुद्दालाई प्राथमिकता दिँदै पुराना दलहरूको संरक्षणवादलाई चुनौती दिइरहेको छ । बालेन्द्रले झापा–५ बाट केपी ओलीविरुद्ध उम्मेदवारी दिने लगभग पक्का जस्तै छ । आज नै उम्मेदवारी मनोनयन हुँदैछ । यो नयाँ शक्तिले सामाजिक सञ्जाल र युवा ऊर्जालाई प्रयोग गर्दै निर्वाचनमा निर्णायक भुमिका खेल्ने अनुमान छ । निर्वाचन आयोगले एक सय भन्दा बढी दलहरूलाई मान्यता दिएको छ । जसमध्ये एकतिहाइ जेन–जी विद्रोहपछि दर्ता भएका छन् । यो निर्वाचनमा सबैभन्दा बढी दलहरू प्रतिष्पर्धा गर्नेछन् ।

महाशक्तिहरूको प्रभावः चीनको बढ्दो उपस्थिति र बीआरआई

चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत नेपालमा प्रभाव बढाइरहेको छ । पोखरा विमानस्थलजस्ता परियोजनामा विवाद भएपनि चीनले पूर्वाधार र कनेक्टिभिटीमा लगानी जारी राखेको छ । जेन जी विद्रोहपछि चीन शतर्क छ, तर बीआरआई फ्रेमवर्क कार्यान्वयनले नेपाललाई चीनतर्फ झुकाउने प्रयास छ । यदि चीन–मैत्री दलहरू बलिया भए भने विदेश नीति पूर्वतर्फ ढल्किन सक्छ ।

अमेरिकाको भुमिकाः एमसीसी, इण्डो–प्यासिफिक र नरम शक्ति

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत ५०० मिलियन डलर अनुदान दिएको छ । अमेरिकाले यूएसएडमार्फत युवा नेतृत्व र नागरिक समाजलाई सहयोग बढाएको छ । विद्रोहपछि अमेरिकाले लोकतन्त्र र मानवअधिकारको पक्षमा बोलेको छ । यदि उदारवादी शक्तिहरू बलिया भए भने पश्चिमी झुकाव बढ्नसक्छ ।

भारतको भुमिकाः छिमेकी प्रभाव, सीमा विवाद र तनाव

भारत नेपालको सबैभन्दा नजिकको छिमेकी हो, तर सम्बन्ध तनावपूर्ण छ । २०७२ को नाकाबन्दी र कालापानी, लिम्पियाधुरा, लिपुलेक सीमा विवादले नेपाली राष्ट्रवाद उक्साएको छ । सन् २०२५ अगस्टमा भारत–चीनले लिपुलेक पासबाट व्यापार पुनः शुरु गर्ने सहमतिपछि नेपालले कूटनीतिक नोट पठाएर आपत्ति जनायो । नेपालले यी क्षेत्रहरू सुगौली सन्धिअनुसार आफ्ना भएको दाबी गर्छ । भारतले नेपाली काँग्रेसजस्ता मैत्री दलहरूलाई समर्थन गर्छ, तर चीनतर्फको झुकाव देख्दा दबाब दिने आरोप लाग्छ ।

नेपाल सदियौंदेखि हिमालयन बफर स्टेटको रूपमा दक्षिण एशियाको स्थिरतामा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । तर बीआरआई, एमसीसी र इण्डो–प्यासिफिक रणनीतिले यो सन्तुलन खल्बलिएको छ । लिपुलेकजस्ता विवादले भारत–चीन तनाव बढाउन सक्छ । यदि नेपाल कुनै एक पक्षतर्फ ढल्कियो भने क्षेत्रीय सुरक्षा कमजोर बन्नसक्छ । अमेरिकाको संलग्नताले त्रिपक्षीय प्रतिष्पर्धालाई जटिल बनाएको छ ।

क्षेत्रीय स्थिरता, निर्वाचन चुनौती र भविष्य 

फागुन २१ को निर्वाचनले महाशक्तिहरूको प्रभावको दिशा निर्धारण गर्नेछ । तर दलहरूको विभाजन, सुरक्षा चुनौती र विदेशी प्रभावले निर्वाचन जटिल छ । परिवर्तनको माग बलियो छ तर भूराजनीतिक जोखिमहरू उत्तिकै छन् ।

नेपाल सन्तुलनको दोसाँधमा उभिएको छ । महाशक्तिहरूको रणभूमि बन्दै गर्दा हिमालयको बफर टुट्ने खतरा बढेको छ । पुराना र नयाँ शक्तिहरूबीचको द्वन्द्व तथा विदेशी प्रभावले क्षेत्रीय स्थिरतालाई संकटमा पारेको छ । नेपालले सार्वभौमिकता जोगाउँदै सन्तुलित कुटनीति अपनाउनु आजको आवश्यकता हो। फागुन २१ को निर्वाचनले मात्र होइन, त्यसपछिको नेतृत्वले यो सन्तुलन कायम राख्नसक्छ वा सक्दैन, त्यसले दक्षिण एशियाको भविष्य निर्धारण गर्नेछ । युवा पुस्ताको जागरणले नयाँ आशा जगाएको छ, तर यो आशालाई संस्थागत गर्नु नै सबैभन्दा ठूलो चुनौती हो ।

अनुपम भट्टराई/न्युज एजेन्सी नेपाल