४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जेन्जी आन्दोलनका सहिदः अधुरो सपना छोडेर सधैँका लागि बिदा हुनुभयो विनोद

जेन्जी आन्दोलनका सहिदः अधुरो सपना छोडेर सधैँका लागि बिदा हुनुभयो विनोद
अ+ अ-

पाटन । “भ्रष्ट नेता र भ्रष्टाचारविरुद्ध लड्नैपर्छ, अहिले नलडे कहिले लड्ने ?” जेनजी आन्दोलनमा होमिनुअघि ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका ३४ वर्षीय विनोद महर्जनले साथीभाइसँग भन्नुभएका शब्द हुन् यी । “म मारिएछु भने पनि गणतन्त्रको दियो निभ्न नदिनु,” भनेर अघि बढेका विनोद भदौ २३ गते नयाँवानेश्वरस्थित संसद् भवन अगाडि कहिल्यै नउठ्ने गरी सधैँका लागि ढल्नुभयो । अधुरो सपना छोडेर बिदा हुनुभयो ।

बाक्लो दाह्रीजुँगा पालेका, लामो कपाल भएका निडर स्वभावका विनोद सानैदेखि अन्याय सहन नसक्ने व्यक्तित्व, छलछाम गर्न नजान्ने, कसैको आलोचना गर्नुपरे लुकीछिपी होइन सिधै गर्ने उहाँको हक्की स्वभाव थियो ।

स्वर्गीय पिता बाबुकाजी महर्जन र आमा लतमाया महर्जनका कान्छो सन्तान जेनजी सुशासन सहिद विनोदमा मुलुकको व्यवस्था परिवर्तनका लागि युवाहरूले सशक्त आन्दोलन गर्नैपर्छ भन्ने विचारधारा थियो । बाहिरी हुलियाले अनौठो ठान्नेहरू पनि उहाँको भनाइ र विचारहहरु सुनेपछि प्रभावित हुन्थे । यही स्वभावले उहाँले समाजमा बेग्लै पहिचान बनाउँदै आउनुभएको थियो ।

आफ्नो कान्छो छोरा सहिद विनोद महर्जनलाई सम्झँदै त्यस दिनको कुराकानीका बारेमा आमा लतमाया महर्जन नेवारी भाषामै भन्नुहुन्छ, “जिं जा नयेत धया, वं धाल, “आः जिं नये मखु, पासाः वल, जि छुं ई पिहां वनाः लिहां वयेबलय् नये । अर्थात् “मैले भात खाउ भनेँ, उसले भन्यो, अहिले म खाँदिनँ, साथी आइसक्यो, एकछिन बाहिर गएर आएपछि खान्छु ।”

खाना नखाई निस्किएको विनोद आन्दोलनमा गएर गोली लागेर ढले, आन्दोलनका क्रममा नयाँबानेश्वर चोकमा भएको घटनामा उहाँलाई मुख र टाउकोमा दुई गोली लागेको थियोे । गोली लागेपछि विनोदलाई साथीभाइले नजिकको एभरेष्ट अस्पताल लगेका थिए, त्यहाँ पु¥याउनु अघि नै विनोदको निधन भइसकेको थियो । सानै उमेरमा बुबाको निधन भएपछि तीन दिदीबहिनी, एकदाजु र आमासँग बस्दै आउनुभएका विनोद परिवारका कान्छो सदस्य हुनुहुन्थ्यो ।

लामो समयसम्म देवीदवताको मूर्ति बनाउने कार्य गर्दै आउनुभएका महर्जन कोरोनापछि पेसा सङकटमा परेसँगै पछिल्लो समय ‘वाल पेन्टिङ’मा संलग्न रहेको उहाँको दिदी विना महर्जन अवाल बताउनुहुन्छ । एसएलसी परीक्षामा असफल भएपछि दैनिक अध्यास र स्वअध्ययनबाट मूर्ति बनाउने र पेन्टिङ कार्यमा उहाँ संलग्नु हुनुभयो । “देश र परिवारका लागि केही गरौँ अनि मात्र विवाह गरौँला’ भन्ने विनोदको सपना जेनजी आन्दोलनका क्रममा बानेश्वर आन्दोलनमै बिलायो”, दिदी विना भन्नुहुन्छ ।

एकान्त समयमा चित्र बनाउने अभ्यास गर्ने भएकाले अघि–पछि जस्तै भदौ २२ गते पनि विनोदले राति अबेरसम्म चित्र बनाउनुुभयो । राति अबेर भएकाले बिहानपछि उहाँ १० बजे पनि ओछ्यानबाट उठ्नुभएको थिएन । दिदी विनाका अनुसार अघिल्लो दिन साथीभाइबीच आन्दोलनमा सहभागी हुने कुराकानीअनुरुप बिहान १० बजेतिर साथीहरु आई विनोदलाई उठाएर लगेका रहेछन् । आन्दोलनमा निस्कन लाग्नुभएका विनोदलाई आमाले खाना खान बोलाउँदा विनोदले साथी बोलाउन आएकाले एकैछिन बाहिर गएर आउँछु अनि खाउँला भन्दै मुख धोएर घरबाट निस्कनुभएको रहेछ । त्यसपछि साथीसँग सिधै बानेश्वर पुग्नुभएको रहेछ । उता आमा छोरो खाना खान आउँला भनेर कुरिरहनु भएको थियो ।

सुरुमा विनोदले आन्दोलनकारीलाई पानी वितरण गरेर सहयोग पु¥याइरहेको परिवारका सदस्यले घरैबाट ‘फेसबुक लाइभ’बाट हेरिहनुभएको बताउनुहुन्छ, दिदी विना । “अघिपछि जात्रापर्वमा पनि अरूलाई सहयोग गर्ने, खानेकुरा र पानी बाँड्ने कार्यमा तुरुन्त सहयोग गर्ने उनको बानी थियोे, त्यो दिन पनि भाइले पानी बाँडिरहेको हामीले फेसबुकबाट झल्याकझुलुक देखिरहेका थियौँ, त्यतिकैमा आन्दोलन चर्कंदै गएपछि आन्दोलनकारी र प्रहरीबीच भएको भिडन्तमा वानेश्वरचोक नजिक हानिएको गोली विनोदलाई लागेको रहेछ, त्यसपछि विनोदको लाइभ पनि बन्द भएको रहेछ, विनोदलाई गोली लागेको कुरा उनीसँगै गएका साथीले घरमा खबर गरे,” दिदी विना भन्नुहुन्छ ।

दाजु काजीरत्न महर्जनका अनुसार त्यो दिन टोलका केही साथी भने विनोदभन्दा पहिले नै वानेश्वर पुगेका रहेछन् । ‘किन जानुपर्ने आन्दोलन र जुलुसमा हामीलाई के नै हुन्छ र १’ भनी अघिपछि साथीभाइलाई सम्झाउने विनोदलाई त्यो दिन भने जेनजी पुस्ताले उठाएका सुशासन विरुद्धको महारोगका रुपमा रहेको भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विषयले निकै प्रभावित तुल्याएको रहेछ । दाजु काजीरत्न भन्नुहुन्छ, “त्यो दिन भने समाज परिवर्तनका लागि भएको आन्दोलनमा जानुपर्छ, हामी नगए को जान्छ भनी साथीभाइसँग कुरा राखेर गएका रहेछन् ।”

दाजु काजीरत्नका अनुसार ‘जेनजीको आन्दोलन भ्रष्टाचारविरुद्ध पनि हो’ भन्ने थाहा पाएपछि विनोद स्वतःस्फूर्त रूपमा साथीहरूसँग आन्दोलनमा सहभागी हुनुभएको रहेछ । कुनै पनि राजनीतिक दलमा आबद्ध नभएका विनोदसँग दलका जुलुस, प्रदर्शनमा नजाने, साथीभाइलाई पनि दलगत आन्दोलनमा नलाग्न आग्रह गर्ने गर्नुहुन्थ्यो तर भ्रष्टाचारविरुद्धको आवाजमा भने मौन बस्न सक्नुभएन ।

विनोद बहुप्रतिभाशाली हुनुहुन्थ्यो, मूर्तिकला उहाँको परिचय थियो, सुन लेपन गर्ने र मुहारमा चित्रकला भर्ने काममा उहाँ निपुण हुनुहुन्थ्यो । महादेवका भक्त विनोद बाँसुरी र धिमेबाजामा पनि दक्ष हुनुहुन्थ्यो । पाहुना सत्कार उहाँको अर्को गुण थियो, घरका भित्ताभरि विभिन्न मूर्ति र पेन्टिङले सजिएको विनोदको संसार आज शून्य बनेको छ ।

विनोद ढलेसँगै उहाँका ७५ वर्षीय आमाको सहारा पनि ढलेको छ । आमाको स्याहारसुसार उहाँले नै गर्नुहुन्थ्यो, सवारी चालक बुबा २०६७ सालमै बितिसकेपछि दाइसँग मिलेर घर सम्हाल्दै आउनुभएका विनोदको पुख्र्यौली पेसा खेतीकिसानी थियो ।

गोली लागेर एभरेष्ट अस्पताल पु¥याइएकामा रातभर त्यहाँ राखेपछि भोलिपल्ट महाराजगन्जस्थित शिक्षण अस्पतालको शवगृहमा राखियो । त्यसको केही दिनपछि योद्धाहरुको पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरियो । विनोदका परिवारलाई राज्यबाट सहिद घोषणा भएपछि रु १५ लाख रकम उपलब्ध गराउने भने बमोजिमको सहयोग प्राप्त भएको छ । ललितपुर महानगरपालिकाले पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ ।

दिदी विना भन्नुहुन्छ “जेनजी आन्दोलनका सहिद परिवारलाई विभिन्न खाले सहयोग उपलब्ध गराउने भनियो, हामीले माग पनि पेस गरेका छौँ तर त्यो आजका दिनसम्म आश्वासनमा सीमित रह्यो, आजका दिनसम्म हाम्रा सम्बोधन भएको छैन ।” परिवारले जेनजी सहिदको सालिक निर्माण, परिवारलाई रोजगारी, आमाबालाई भत्ताका लागि माग गर्दै आउनुभएको छ । विना भन्नुहुन्छ, “विनोदजस्तै भ्रष्टाचार अन्त्य र सुशासनका लागि फेरि पनि देशका लागि युवाले ज्यान गुमाउन नपरोस् ।”

जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ । जेनजी सहिद परिवारलाई सरकारले आर्थिक सहयोगबोहक रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ ।

सहिद विनोद महर्जनको बलिदान भ्रष्टाचारविरुद्ध उठेको निडर चेतनाको प्रतीक हो । दलगत राजनीतिभन्दा माथि उठेर सत्य र न्यायका पक्षमा उभिनुभएका विनोदले युवाहरूको विवेक र साहसलाई बन्धक बनाउनु हुँदैन भन्ने सन्देश दिएर जानुभएको छ । विनोदको बलिदानले गणतन्त्रको दियो निभ्न नदिन समाज, राज्य र नागरिक सबै जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिएको छ । शोकमा डुबेको परिवारको पीडामा मल्हम लगाउन राज्य संवेदनशील भएर सुशासन कायम गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जिम्मेवार र जवाफदेही हुनुपर्छ, विनोदजस्ता सहिदका सपना अधुरो नहोस् भन्ने सबैको चाहना रहेको छ ।