२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
Greenlandic Prime Minister Jens-Frederik Nielsen speaks during a protest against Trump's policy towards Greenland in front of the US consulate in Nuuk, Greenland, Saturday, Jan. 17, 2026. (AP Photo/Evgeniy Maloletka)
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार ग्रिनल्यान्डमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । कठ्याङ्ग्रिने हिउँ र बरफबीच राजधानी नुकका बासिन्दाहरूले विरोधका प्लेकार्ड बोकी, राष्ट्रिय झण्डा फहराउँदै र ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ भन्ने नारा लगाउँदै आफ्नै स्वशासन र सार्वभौमिकताको समर्थन जनाए ।

प्रदर्शनकारीहरू नुकको सानो डाउनटाउन क्षेत्र हुँदै अमेरिकी वाणिज्य दूतावाससम्म पदयात्रा गर्दा त्यही दिन फ्लोरिडाबाट राष्ट्रपति ट्रम्पले फेब्रुअरीदेखि आठ युरोपेली देशका सामानमा १० प्रतिशत आयात कर लगाउने घोषणा गर्नुभएको खबर सार्वजनिक भएको थियो । यस घोषणाले प्रदर्शनकारीहरूमा थप आक्रोश पैदा गरेको बताइएको छ ।

“मलाई लागेको थियो आजको दिन यसभन्दा खराब हुन सक्दैन, तर झन् भयो”, स्थानीय युवा मलिक डोलेरुप–शेबेलले भन्नुभयो । उहाँले राष्ट्रपति ट्रम्पको पछिल्लो कदमले अरू राष्ट्र र जनताप्रति कुनै संवेदनशीलता नदेखाएको स्पष्ट भएको बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले विगतदेखि नै रणनीतिक रूपमा महत्त्वपूर्ण र खनिज स्रोतले धनी ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकाले आफ्नो स्वामित्वमा लिनुपर्ने धारणा सार्वजनिक गर्दै आउनुभएको छ । ग्रिनल्यान्ड डेनमार्कको अधीनमा रहेको स्वशासित क्षेत्र हो । यस महिनाको सुरुमा भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई हटाउने सैन्य कारबाहीपछिका अभिव्यक्तिले उहाँको अडान अझ कडा बनेको स्थानीय नेताहरूको भनाइ छ ।

एक्काइस वर्षीय डोलेरुप–शेबेल र प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनका अनुसार यो प्रदर्शन नुकको जनसङ्ख्याको करिब एक चौथाइ सहभागी भएको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन हो । यस्तै समर्थन स्वरूप डेनमार्कका विभिन्न सहरहरू, कोपनहेगन तथा क्यानाडाको इनुइट–शासित क्षेत्र नुनाभुटको राजधानीमा समेत ऐक्यबद्धता र्‍यालीहरू आयोजना गरिएका थिए ।

कोपनहेगनमा सहभागी एलिस रिचीमहिलाले ‘यो केवल ग्रिनल्यान्डको होइन, सम्पूर्ण विश्वको विषय हो’ भन्दै कुनै पनि सानो राष्ट्र बिक्रीका लागि नहुने स्पष्ट सन्देश दिनुभयो ।

नुकमा आयोजित प्रदर्शनमा सबै उमेर समूहका नागरिक सहभागी थिए । परम्परागत गीतसङ्गीतसहितको पदयात्रामा ४७ वर्षीया मेरी पेडरसन आफ्ना सन्तानसहित सहभागी हुनुभयो । “हामी हाम्रो देश, संस्कृति र परिवार सुरक्षित राख्न चाहन्छौँ”, उहाँले भन्नुभयो । उहाँकी नौ वर्षीया छोरी अलास्काले आफैँले बनाएको ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ लेखिएको प्लेकार्ड बोकेकी थिइन् ।

नुकका प्रहरी अधिकारी टम ओल्सेनले शनिबारको प्रदर्शन आफूले देखेको सबैभन्दा ठूलो भएको जानकारी दिनुभयो । “यसले युरोप एकताबद्ध छ भन्ने सन्देश दिन सकोस् भन्ने हाम्रो चाहना हो”, उहाँले भन्नुभयो ।

ग्रिनल्याण्डको संसद्की पूर्वसदस्य टिली मार्टिनसनले ट्रम्प प्रशासनले ग्रिनल्यान्ड अधिग्रहणको ‘अविवेकी विचार’ त्याग्ने आशा व्यक्त गर्नुभयो । उहाँले मित्रता र सहयोगको नाममा सुरु भएका अभिव्यक्तिहरू अहिले खुला धम्कीमा परिणत भएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार सम्भावित आर्थिक दबाबभन्दा नाटो र ग्रिनल्यान्डको स्वायत्तता संरक्षण बढी महत्त्वपूर्ण छ ।

चालिस वर्षीया नर्स लुइस लेनर्ट ओल्सेनले राष्ट्रपति ट्रम्पभन्दा पनि अमेरिकी जनतालाई सन्देश दिन चाहेको बताउनुभयो । “हामी अहिले जस्तो ग्रिनल्यान्ड रहन चाहन्छौँ भन्ने हाम्रो इच्छालाई उनीहरूले समर्थन गरून्”, उहाँले भन्नुभयो, “मलाई आशा छ, उनीहरू आफ्नै राष्ट्रपतिको गलत कदमविरुद्ध उभिनेछन् ।” रासस