२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

नेपाली कांग्रेस : नेतृत्वको दूरदर्शिता र देउवाको हठबीच अल्झिएको इतिहास

देउवाको उदय : दूरदर्शी नेतृत्वको उपज, निर्विकल्प प्रतिभाको होइन

नेपाली कांग्रेस : नेतृत्वको दूरदर्शिता र देउवाको हठबीच अल्झिएको इतिहास
अ अ+ अ-

नेपाली राजनीतिको इतिहासमा नेपाली कांग्रेस केवल एउटा पार्टी मात्र होइन, लोकतन्त्रको चेतनालाई बोक्ने एउटा ऐतिहासिक संस्था हो। राणा शासनविरुद्धको संघर्षदेखि लिएर पञ्चायती निरंकुशताका विरुद्ध जनताको आवाज बन्ने यात्रासम्म, आधुनिक नेपालको हरेक निर्णायक राजनीतिक मोडमा कांग्रेसको भूमिका अग्रणी रहँदै आएको छ।

यही कारणले कांग्रेसको आन्तरिक संकट केवल संगठनात्मक समस्या होइन, यो राष्ट्रिय लोकतान्त्रिक यात्रासँग प्रत्यक्ष गाँसिएको विषय हो। आज कांग्रेसभित्र देखिएको गम्भीर संकट भनेको विचार वा सिद्धान्तको अभाव होइन, नेतृत्वको संकट, अझ स्पष्ट शब्दमा भन्नुपर्दा—पुस्तान्तरणको अवरुद्ध प्रक्रिया हो। यस संकटको केन्द्रमा छन्, पार्टी सभापति शेरबहादुर देउवा।

देउवाको उदय : दूरदर्शी नेतृत्वको उपज, निर्विकल्प प्रतिभाको होइन

शेरबहादुर देउवाको उदय नेपाली कांग्रेसको इतिहासमा एक रोचक, तर गम्भीर विश्लेषण माग्ने अध्याय हो। उनी बीपी कोइरालाको राजनीतिक दृष्टिमा स्वीकृत पात्र थिए। त्यस समय सुदूर पश्चिम कांग्रेसका लागि जनाधार भएको तर नेतृत्वको दृष्टिले कमजोर क्षेत्र थियो। यस क्षेत्रका केही प्रभावशाली नेताहरू—जस्तै शिवराज पन्त—पञ्चायती व्यवस्थातिर मोडिएका थिए, लोकेन्द्रबहादुर शाह जस्ता नेता वृद्धावस्थाका कारण सक्रिय राजनीतिबाट टाढिँदै गएका थिए, र एनडी प्रकाश चटौत जस्ता प्रतिभाशाली नेताको अकालमै निधन भइसकेको थियो।

यही रिक्ततामा, जेलजीवन बिताइरहेका कृष्णप्रसाद भट्टराईले देउवालाई पहिचान गरे। भारत प्रवासमा रहेका बीपी कोइराला र सुवर्ण शम्सेरको स्वीकृति पनि उनलाई प्राप्त भयो। देउवा विद्यार्थी नेता थिए, तर उनीमा त्यतिबेला कुनै विलक्षण राजनीतिक प्रतिभा देखिएको थिएन। उनी निर्विकल्प थिएनन्, उनी प्रतिस्पर्धारहित थिएनन्।

त्यसबेला विद्यार्थी राजनीतिमा र पार्टीभित्र बलियो पहिचान बनाइसकेका बिपीन कोइराला, अर्जुननरसिंह केसी, शिवबहादुर खड्का, मच्छेन्द्र पाठक, देवेन्द्रलाल नेपाली, रामचन्द्र पौडेल, रामशरण महत, टीका पोखरेल जस्ता नेता थिए। त्यसमाथि, दमननाथ ढुंगाना, हरिबोल भट्टराई, शंकर घिमिरे, प्रदीप गिरी, शैलजा आचार्य जस्ता दिग्गजहरू जेल वा प्रवासमा थिए।

यति धेरै विकल्प हुँदाहुँदै पनि देउवाको चयन हुनुको कारण थियो—दूरदर्शी सोच। “साधारण नेता आफ्नो पुस्ताका लागि सोच्छ, राजनेता भावी पुस्ताका लागि।” देउवा त्यही भावी पुस्ताको सम्भावनाका रूपमा अगाडि सारिएका थिए।

नेतृत्वको उद्देश्य र देउवाको रूपान्तरण

नेतृत्व कुनै व्यक्तिको स्थायी सम्पत्ति होइन; यो एउटा मिशन हो—संघर्षलाई अगाडि बढाउने, संगठनलाई सुदृढ गर्ने र नयाँ पुस्तालाई तयार पार्ने। यही भावनाले बीपी कोइरालाले जनमत संग्रहको अभियानमा भनेका थिए—“शेरे, सुदूर पश्चिमाञ्चल शेरबहादुर देउवा।” त्यो सम्बोधन व्यक्तिगत प्रशंसा थिएन, क्षेत्रीय नेतृत्व विकासको राजनीतिक संकेत थियो।

त्यसबेला कांग्रेसमा गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, परशुनारायण चौधरी, राधाकृष्ण थारू, सिके प्रसाई, जगन्नाथ आचार्य, बेनीबहादुर कार्की, वासुदेव रिसाल, शेख इद्रिस, मार्शल जुलुम शाक्य जस्ता अनगिन्ती नेता थिए। त्यसै पनि देउवाको उदय सम्भव भयो, किनकि कांग्रेसले नयाँ नेतृत्व जन्माउने साहस राख्थ्यो।

तर विडम्बना यहीँबाट सुरु हुन्छ। जुन सुदूर पश्चिमका लागि देउवालाई अगाडि सारियो, त्यही सुदूर पश्चिमका कयौँ प्रतिभावान नेता देउवाकै कोपभाजन बने। तारिणीदत्त चटौत, विनयध्वज चन्द, सुरेन्द्र बहादुर चन्द, सुनिल भण्डारी, रामजनम चौधरी, पुष्कर ओझा, ज्ञानराज पाठक, हिरादत्त भट्ट, कर्ण मल्ल, केशवसिंह बुढा, मानबहादुर रावल, जनकराज गिरी, रामबहादुर बिष्ट, बलबहादुर कुँवर, जगदिश पाल, डा. सुरेश मल्ल—यी सबै नामहरू केवल व्यक्तिहरू होइनन्, दबाइएका सम्भावनाहरू हुन्।

संसदीय दलदेखि प्रधानमन्त्रीसम्म : बनाइएका नेता

वि.सं. ०५१ पछि देउवा संसदीय दलका नेता निर्वाचित होइन, बनाइएका थिए। त्यसबेला संख्यात्मक आधारमा खुमबहादुर खड्का सबल दाबेदार थिए। दलको सर्वसम्मत अपेक्षा भने शैलजा आचार्यको थियो। तर अन्ततः गिरिजाप्रसाद कोइरालाको दबाबले निर्णय मोडियो। यही क्षणबाट देउवाको प्रधानमन्त्री यात्रा सुरु भयो—र यहीँबाट कांग्रेसको दीर्घकालीन संकटको बीउ रोपियो।

देउवाको नेतृत्व : उपलब्धि भन्दा भारी सीमाहरू

देउवा पटक–पटक प्रधानमन्त्री बने, तर प्रश्न उठ्छ—उनले पार्टीलाई कुन दिशातर्फ लगे? उनी स्वयं पुस्तान्तरणको उपज थिए, तर उनले पुस्तान्तरणलाई नै अवरुद्ध गरे। चौधौं महाधिवेशनदेखि निरन्तर देखिएको उनको हठले पार्टीको आन्तरिक लोकतन्त्रलाई क्षीण बनाएको छ। शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेताहरू सीमित गरिनु केवल व्यक्तिगत प्रतिस्पर्धा होइन, यो कांग्रेसको भविष्यसँग गरिएको अन्याय हो।

राजनेता हुने अन्तिम अवसर गुम्यो

देउवाको हठले कांग्रेस कमजोर भयो, विभाजित भयो, र राष्ट्रिय राजनीतिमा उसको प्रभाव सिमित भयो। यो केवल राजनीतिक भूल होइन, ऐतिहासिक विफलता हो। तर अझै ढिलो भएको छैन। यदि देउवाले आफ्नो उदयको इतिहास सम्झिएर नयाँ पुस्तालाई मार्ग प्रशस्त गरे भने, उनले आफूलाई राजनेताको रूपमा प्रमाणित गर्न सक्छन्।

कांग्रेसको जीवन्तता बिना नेपालको लोकतन्त्र अधुरो छ। र कांग्रेसको जीवन्तता पुस्तान्तरण बिना सम्भव छैन। यही नै इतिहासको माग हो—र यही नै देउवामाथिको कठोर, तर न्यायोचित प्रश्न हो।

पूर्वमन्त्री जय प्रकाश आनन्दको फेसबुकबाट साभार