१९ असार २०८३, शुक्रबार
,
Latest
थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने कुनै पनि टिम सुरक्षित नरहेको विश्वकप सरकारले सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न सकेनः अध्यक्ष राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाली कांग्रेस’ हामी नै हौं,अविचलित रूपमा अघि बढ्नेछौं



अ+ अ-

नेपाली कांग्रेसको गौरवशाली इतिहासमा आजको दिन मेरा लागि व्यक्तिगत रूपमा र समग्रमा हामी सबैका लागि निकै भारी र पीडादायी बनेको छ।

हामीले पार्टी एकता र सहमतिका लागि अथक प्रयास गर्यौं, पटक-पटकका संवाद र लचिलोपनका बाबजुद पनि हामीले केही जिम्मेवार साथीहरूलाई अनुशासन र पद्धतिको मूल धारमा एकाकार गर्न सकेनौं। विधि, विधान र अनुशासन कुनै पनि संस्थाको प्राण हो ।यसको पटक-पटक उल्लंघन हुँदा संस्थाको अस्तित्व रक्षाका लागि नेतृत्वले आँसु पिएरै भए पनि कठोर निर्णय लिनुपर्ने बाध्यता आइलाग्दो रहेछ।

यो निर्णय नितान्त पार्टीको विधि जोगाउने अन्तिम बाध्यात्मक कदम हो।जननायक विपि कोइरालाले देखाउनुभएको लोकतान्त्रिक समाजवादको मार्गबाट विचलित हुने छुट हामी कसैलाई छैन। नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ (कल्पवृक्ष) र हाम्रो झण्डामा अंकित ‘चार तारा’ ले बोकेको ऐतिहासिक गरिमालाई कायम राख्दै, त्यसको ओज कहिल्यै घट्न नदिनु हाम्रो प्रमुख दायित्व हो।

अग्रजहरूको रगत र पसिनाले सिञ्चित यो पार्टीलाई व्यक्तिगत महत्त्वाकांक्षा र अराजकताको शिकार हुन नदिन हामी सजग छौं। पार्टीको आदर्श र सिद्धान्त विपरीतका गतिविधिले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने हुँदा हामीले ऐतिहासिक विरासत जोगाउन यो निधो गरेका हौं। अब नेपाली कांग्रेस अगाडि बढ्नुको विकल्प छैन।

विगतका तीता घटनाक्रम र बिछोडको पीडालाई शक्तिमा बदल्दै, सकारात्मक भावना र उच्च मनोबलका साथ संगठन सुदृढीकरणमा जुट्न म सम्पूर्ण नेता तथा कार्यकर्ता साथीहरूमा हार्दिक अपिल गर्दछु। हामी कसैप्रति पनि आग्रह-पूर्वाग्रह नराखी, केवल पार्टी र देशको भविष्यलाई केन्द्रमा राखेर अविचलित रूपमा अघि बढ्नेछौं। सत्यको बाटो हिँड्दा आउने जस्तोसुकै चुनौती सामना गर्न हामी तयार छौं।

यतिखेर मुलुक निकै गम्भीर मोडमा उभिएको छ र नेपाली कांग्रेसको काँधमा पुनः ऐतिहासिक राष्ट्रिय दायित्व आइपरेको छ। बहुदलीय व्यवस्थाको सुदृढीकरण र संविधानमाथि मडारिएका संकटका बादलहरूलाई चिर्दै लोकतन्त्रको रक्षा गर्नु नै हाम्रो आजको प्रमुख कार्यभार हो। यस्तो संवेदनशील घडीमा हामी आन्तरिक विषयमा मात्र अल्झिएर बस्न सक्दैनौं।

तसर्थ, राष्ट्र र जनताको बृहत्तर हितलाई केन्द्रमा राख्दै, आसन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक रूपमा सफल पार्न आ-आफ्नो ठाउँबाट रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न म सम्पूर्ण पार्टी पंक्ति, शुभेच्छुक तथा आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु।

अन्त्यमा, हाम्रो वैधानिकता नेपालको कानुन र विधिको कसीमा समेत स्पष्ट र अकाट्य छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार दलको नाम, छाप, झण्डा वा चिन्हको आधिकारिकता दाबी गर्दा केन्द्रीय समितिको बहुमत र वैधानिक निर्णयको कदर हुने स्पष्ट व्यवस्था छ।

ऐनको सोही दफाको उपदफा (१) र (६) को कानुनी धरातलमा उभिएर हेर्दा केन्द्रीय समितिका बहुमत पदाधिकारी र सदस्यहरूको हस्ताक्षर र समर्थन हामीसँग सुरक्षित रहेको हुँदा निर्वाचन आयोगको रेकर्ड र प्रचलित कानुन अनुसार पनि आधिकारिक ‘नेपाली कांग्रेस’ हामी नै हौं। तसर्थ, कोही पनि भ्रममा नपरी, पार्टीको मूल प्रवाह र वैधानिक नेतृत्वसँग हातेमालो गर्दै अघि बढ्न म पुनः आग्रह गर्दछु।

जय नेपाल !

३० पुष २०८२, बुधवार ।

नैनसिंह महर

केन्द्रीय सदस्य, नेपाली कांग्रेस