२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यानै जोखिममा राखेर कर्णाली करिडोरको ट्र्याक खोल्दै नेपाली सेना र श्रमिकहरू



अ+ अ-

सिमकोट । कर्णाली प्रदेशको समृद्धिसँंग जोडिएको कर्णाली करिडोरको हुम्ला खण्डमा नेपाली सेना र श्रमिकहरूले ज्यानै जोखिममा राखेर सडक निर्माण कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनालाई जिम्मा लगाएको हुम्ला खण्डको सडकलाई प्रारम्भिक ट्र्याक खोल्ने कार्य आगामी असारभित्र सम्पन्न गर्नुपर्ने भएपछि सेनाले कामलाई तीव्रता दिएको हो । बिहान साढे छ बजेदेखि बेलुका अँध्यारो नहुँदासम्म चट्टान विस्फोटका लागि ‘होल’ खोप्ने काम गर्दै आएका सर्केगार्ड गाउँपालिका–४ का प्रेमबहादुर शाहीले निकै डरलाग्दो भीरमा ज्यान जोखिममा राखेर काम गरिरहेको बताए ।

डोरीले शरीर बाँधेर कडा चट्टानमा खोप्ने कार्य निकै जोखिमपूर्ण भए पनि कामदार कडा मेहनतका साथ काम गरिरहेको उनले जानकारी दिए । उनको समूहमा आठजना कामदार छन् । कर्णाली करिडोरको कवाडी सलीसल्ला खण्डको बालुकुनादेखि सलीसल्लासम्मको १२ किलोमिटर दूरीलाई निकै जोखिम क्षेत्र मानिएको छ । कडा चट्टानका साथै जमिन भिरालो र चट्टानी भीर भएका कारण माथिबाट ढुङ्गा खस्ने जोखिम छ । टाउकोमा हेलमेट, आँखामा चस्मा, खुट्टामा गमबुट, शरीरमा डोरी बाँधिएको अवस्थामा समयमै काम पूरा गर्न सडक निर्माणमा खटिएका स्थानीय मजदुर र नेपाली सेनाका जवान क्रियाशील छन् ।

सेनाले कर्णाली करिडोरअन्तर्गत काम सम्पन्न गरेको क्षेत्रमा सडक स्तरीय र चौडा रूपमा निर्माण भएको छ । हुम्ला खण्डमा निर्माणको कार्य धमाधम भइरहेको जिल्ला दक्षिणी क्षेत्रको अनुगमन गरेर आउनुभएका प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले जानकारी दिए । तर हुम्ला खण्डमा काम गर्ने मजदुरले निकै जोखिम लिएर काम गरिरहेको उनले बताए । सेनाले जिम्मा लिएको काम स्थानीय मजदुरको साथ लिएर प्रशंसनीय काम भएको उनले बताए । यही गतिमा काम भए हुम्ला जिल्लामा गाडी गुडाउन सफलता मिल्ने उनले विश्वास व्यक्त गरे । कर्णाली करिडोरको हुम्ला खण्डमा आधा दर्जन भीर फुटाउने कार्य एकसाथ भइरहेको र त्यो कार्य निकै जोखिम रहेको नेपाली सेनाका खुलालु, लैफु कवाडी हुँदै सलीसल्ला सडक आयोजनाका प्रमुख मेजर इन्जिनियर मिलन कार्कीले बताए ।

यसमा सलीसल्ला, नेरघार, खच्चा, पम्पडे, बालुकुनालगायतका कडा चट्टानी र असजिला भीर रहेको उनले बताए । कामदार र सेनाले रातदिन नभनी काममा खटिएको कारण चालू आर्थिक वर्षभित्रै हुम्ला खण्डको प्रारम्भिक ट्र्याक खोल्ने कार्य सम्पन्न गरेर गाडी गुडाउनका लागि सेना लागिपरेको उनले बताए । करिडोरका कवाडीदेखि सलीसल्लसम्मको ६१ किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाका २१० जना र अन्य कामदार गरी ३५० जना रहेको बताउँदै कार्कीले १९ वटा होल खोप्ने मेसिनबाट काम भइरहेको जानकारी दिए ।

कामदारलाई सुरक्षा व्यवस्था: हुम्ला खण्डमा कर्णाली करिडोरमा काम गर्ने सबै कामदारको सुरक्षाको प्रबन्ध मिलाइएको जनाइएको छ । कामदारलाई काम गर्ने बेला आवश्यक सुरक्षाका सामग्री वितरण गरेर काम गर्ने समयमा अनिवार्य लगाउन लगाइएको इन्जिनियर कार्कीले बताए । प्रत्येक कामदारलाई हेल्मेट, चस्मा, पन्जा, ज्याकेट, गमबुट, डोरीलगायतका सामग्री वितरण गरिएको छ ।

सडक निर्माणमा खटिएका सेना र अन्य कामदारलाई काम गर्ने क्रममा घाइते भएमा एक लाख रुपियाँसम्म उपचारका लागि बीमा गरिएको छ भने मृत्यु भएमा दश लाख रुपियाँको व्यवस्था गरिएको उनले जानकारी दिए । काम जोखिमपूर्ण भएका कारण कामदारको सुरक्षाको पनि व्यवस्था गर्नु आवश्यक रहेको उनले बताए । गोरखापत्र दैनिकबाट