२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत प्राधिकरणमा प्रशासन प्रमुखमाथि हातपातको प्रयास



अ+ अ-

काठमाडौंः नेपाल विद्युत प्राधिकरणमा सरुवा र बढुवाको बखत तानातान भइनै रहन्छ, तर गत साता अलिबढी तनाब उत्पन्न भएपछि प्राधिकरणभित्र निकै चासो बढेको छ । जनसाधन विभागका निर्देशक तुलाराम गिरीको कार्यकक्षमा प्रशासन महाशाखाका प्रमुख डोलनाथ कँडेल र प्रशासन शाखा प्रमुख जमुना कुमारी खड्कालाई आधिकारिक ट्रेड युनियनका अध्यक्ष तथा नेविप्रा संचालक समितिका पदेन सदस्य रामेश्वर पौडेल समेतको टोलीले कडा दबाब दिएका छन् ।

कार्यकारी निर्देशक कुलमान घिसिङको “सही व्यक्ति सही स्थान” नीति मुताबिक उनकै निर्देशनमा आवश्यकता अनुसार केही कर्मचारीलाई सरुवा गरिएको कुरा गिरीले बताए । अत्यावश्यक कार्यालयमा सरुवा, बढुवा विनियमावली अनुसार सरुवा गरेको विषयमा अध्यक्ष पौडेल सहित एक हुल कर्मचारीहरु कार्यकक्षमा आई त्यसमा आफूले भनेका मानिसहरु राख्नु पर्ने दबाब दिएका थिए । सोही विषयमा कुरा बढ्दै जाँदा कार्यकारी निर्देशकसम्मको परामर्शमा ऐनले प्रदान गरेको अधिकार प्रयोग गरी सरुवा गरिएको आफूहरुले बताएको गिरीको भनाई छ । तर आफूले भनेको हुनै पर्ने भन्दै कि त एमडीलाई यहाँ बोलाउनु नत्र एमडीकै कोठामा लैजानु भन्दै दबाबले काम गराउन खोजिएको अवस्था हो । त्यतिकैमा मेरो कार्यकक्षको चुकुल लगाएर मलाई कुट्ने प्रयास हुँदा कँडेलले छेकेका थिए । यस्तो दबदबा सहेर गलत निर्णय र काम गर्न सकिँदैन भनेर हामी तीनै जनाले यस महाशाखामा नबस्ने भनी एमडीलाई भनेका छौं, गिरीले बताए ।

ट्रेड युनियनका अध्यक्ष पौडेलले विनियमावली अनुसार दुर्घटनामा परेका, मृगौला फेल भएका, बाउआमा अशक्त भएका र आवश्यकतालाई हेरेर सरुवा गर्नुपर्छ भन्ने हाम्रो भनाई रहेको बताए । उनले भने – कुराकानी गर्दै जाँदा ठूलो स्वरले चर्काचर्की भएको हो, प्रायः हाम्रो बहस त्यस्तै हुन्छ तर हात हालेको भने होइन । हामीले विनियमावली अनुसार दुःख पाएका कर्मचारीलाई प्राथमिकता दिउँ भन्दा बहस भएको हो र त्यही कारणले त्यो महाशाखामा बस्दिनँ भन्नु भएको छ । हाम्रो भनाई असक्षम मानिसहरु बस्नु हुँदैन भन्ने नै हो, पौडेलले बताए ।

नेविप्रा मात्र होइन विभिन्न सरकारी संस्थाहरु र सरकारी कार्यालयहरुमा युनियनले थर्काएर आफ्नो काम लिने गरेको कुरा कुनै नौलो भने होइन । ससानो कुरामा युनियनहरुले प्रशासन र व्यवस्थापनमा दबाब दिने गरेको कुरा छर्लङ्ग छ । पौडेलको भनाई अनुसार पनि थर्काएर दबाब सिर्जना गर्ने प्रया गरेको कुरा पुष्टी हुन्छ । विद्युत प्राधिकरणको सवालमा जनताको नजरमा खाकमा पुगेको साख भर्खर तंग्रिदै सुधारिँदै गएको अवस्थामा पुनः पुरानै शैली जसले सक्यो त्यसले थर्कायो गर्न थाल्ने हो भने थितिले बाटो छोड्छ । प्रशासन ठीक हो कि युनियन भन्ने कुराको पक्ष विपक्षसँग हाललाई समाचारको कुनै तर्क छैन । तर यति चाहिँ पक्कै हो कि जाँचपास गरेर जागिर खानेहरुले युनियनको नाममा भिजिलान्ते शैली अपनाएको विषयलाई राम्रो भन्न सकिन्न ।