१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

बाजुराको सिमी जिल्ला बाहिर

बाजुराको सिमी जिल्ला बाहिर
अ अ+ अ-

बाजुरा । बाजुरा सामान आयात हुने तर यहाँको उत्पादन निर्यात भने न्यून हुने जिल्लामा पर्छ । जिल्लाका उत्पादन कुनै बजारसँग नजोडिएको र अरुको उत्पादन मात्र उपयोग गर्ने परिचय बाजुराको हो । तर विगत एक वर्षयता त्यो परिचय फेरिएको छ । बाजुराले पनि उत्पादन गर्न सक्छ र उत्पादित वस्तु निर्यात पनि गर्छ भन्ने देखिएको छ ।

सात सय क्विन्टल स्याउ जिल्ला बाहिर बिक्री गरेको बाजुराले एक हजार क्विन्टल आलु पनि जिल्ला बाहिर नै पठाएर आफ्नो बजार क्षेत्रलाई विस्तार गरिसकेको छ । जिल्लामै उत्पादन भएको कागती काठमाडौँका बजारमा बिक्री गर्न थालिएको छ ।

किसानले आफैँ बजारसँग जोडिन नसक्ने र शुरुमा जानकारी नहुने भएपछि कृषि ज्ञान केन्द्रले त्यसको सहजीकरण गरिरहेको छ । अनुदान ढुवानीसहित बजार पहिचान र व्यापारीसँगको सम्पर्क विस्तारमा ज्ञान केन्द्रले सहजीकरण गरिरहेको ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो ।

ज्ञान केन्द्रले यो पटक सिमी जिल्ला बाहिर पठाउने तयारी थालेको छ । विशुद्ध बाजुराकै रैथानी सिमीलाई राजधानी काठमाडौँदेखि धनगढीसहितका शहरमा पठाउने तयारी थालिएको केन्द्रका कार्यालय प्रमुख गोविन्द्र सिजापतीले बताउनुभयो । स्थानीय तहसँगको समन्वय र किसानसँगको प्रत्यक्ष सहकार्यमा सिमी जिल्ला बाहिर लगिएको कार्यालय प्रमुख सिजापतीको भनाइ थियो । खानमा पनि स्वादिलो र हिमाली भेगमा उत्पादन भएकाले स्वास्थ्यका लागि फाइदा हुने कृषि प्राविधिकको भनाइ थियो । यो वर्ष मात्र जिल्लाका रैथाने उत्पादन बाह्य बजारसँग जोडिएका छन् । स्याउबाट शुरु गरिएको अभियान सिमीसम्म पुगेको छ ।

कृषि उपजको बजारीकरण गर्ने अभियानअन्तर्गत ज्ञान केन्द्र बाजुराले ७५ क्विन्टल सिमीमा ढुवानी अनुदान सहयोग गरेको छ । गौमुल गाउँपालिका कृषि विकास शाखाको प्याकेजिङ सहयोग र सहकार्यमा गौमुलबाट मात्र ६५ क्विन्टल सिमी जिल्ला बाहिर पठाउन लागिएको हो । यस्तै कोल्टी क्षेत्रबाट पनि १० क्विन्टल सिमी सङ्कलन गरिएको छ ।

दहकोट क्षेत्रलाई सिमी उत्पादनकै लागि पकेट क्षेत्र घोषणा गरी त्यसैअनुसार उत्पादनका गतिविधि अघि बढाएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । “हामी अरुको उत्पादन मात्र प्रयोग गर्ने भयौँ, थोरै भए पनि हामीले पनि उत्पादन गर्नुपर्छ भन्ने मान्यताका साथ शुरुआत गरिएको र आगामी दिनमा यसलाई बढाउँदै लैजाने छौ”, रोकायाको भनाइ थियो ।

विशुद्ध विषादीबिना उत्पादन गरिएको र कृषि विज्ञद्वारा नै परीक्षण गरिएको अर्गानिक रैथाने सिमी भएकाले बजारमा माग बढ्दो हुने विश्वास गरिएको छ । सदरमुकाम मार्तडीसम्म ढुवानी अनुदानमा आइपुग्ने सिमीको थप बजारीकरण र बिक्री वितरणमा बाजुरा कोशेली घरले जिम्मा लिने सञ्चालक अमर खड्काले बताउनुभएको छ ।

बजारमा पाइने सिमीभन्दा रु २० देखि ५० सस्तो मूल्यमा बिक्री गर्ने तयारी गरिएको छ । मार्तडी बजारमा रु १८० देखि २०० प्रतिकेजी बिक्री हुने गरेको छ । तर ढुवानी अनुदानमा आइपुगेका सिमी भने प्रतिकेजी रु १५० देखि १५५ मा बिक्री गर्न सकिने भएको छ ।

बाजुरा पनि उत्पादनको जिल्ला हो भन्ने पहिचानका लागि शुरुआत गरिए पनि रैथाने अर्गानिक वस्तु उत्पादनको पहिचान बनाउने गरी ज्ञान केन्द्रले काम गरिरहेको कार्यालय प्रमुख गोविन्द सिजापतीको भनाइ थियो । बाजुराको उत्पादनले यो वर्ष राम्रो बजार र पहिचान पाएकामा सांसद लालबहादुर थापाले ज्ञान केन्द्रको कामको प्रशंसासमेत गर्नुभएको छ ।

बाजुरामा कोदो, मकै, चिनो, कागुनो, फापर, जौँसहितका बाली पर्याप्त मात्रामा पाइने गरेका छन् । त्यसको उत्पादन बढाएर जिल्ला बाहिर बजार विस्तारको अभियान नै सञ्चालन गरिने बाजुरा कोशेली घरका सञ्चालक अमर खड्काले बताउनुभयो । कोशेली घरमार्फत नै जिल्ला बाहिर बजारीकरण गर्न लागिएको केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैशीले जानकारी दिनुभएको छ ।

जिल्लामा ३० हजार मेट्रिक टन बढी खाद्यान्न आवश्यक पर्नेमा १५ हजार बढी मेट्रिक टन जिल्ला बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । तर, यो वर्षबाट त्यसमा उल्लेख्य सुधार भएको ज्ञान केन्द्रले बताएको छ । अबको केही वर्षमा चामलबाहेक अन्य सबै खाद्यान्न बाजुरा आफैँ आत्मनिर्भर हुने र रैथाने बाली बाह्य जिल्ला पठाउने गरी उत्पादनका गतिविधि बढाइएको छ । यसै साता मात्र एक लाख बढी कलमी गरेर नासपती फलाउने कामको ज्ञान केन्द्रले शुरुआत गरेको छ ।