१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

प्रदेश कार्यालयका पूँजीगत खर्च १८ प्रतिशत

प्रदेश कार्यालयका पूँजीगत खर्च १८ प्रतिशत
अ अ+ अ-

दमौली । चालू आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारअन्तर्गत तनहुँमा रहेका कार्यालयले छ महिनामा पूँजीगत खर्च १८ प्रतिशत मात्र गरेका छन् । साउनदेखि पुस मसान्तसम्मको अवधिमा ती कार्यालयले पूँजीगततर्फ विनियोजन भएको रकममध्ये १८ प्रतिशत मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।

प्रदेश सरकारअन्तर्गतका १७ कार्यालयलाई चालू आवमा पूँजीगततर्फ रु एक अर्ब १८ करोड ९२ लाख एक हजार ८५४ विनियोजन भएकामा रु २१ करोड ७६ लाख ७९ हजार ५६४ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभयो । यस अवधिमा डिभिजन वन कार्यालय तनहुँ, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तनहुँ प्राविधिक शिक्षालय, कालीगण्डकी बहुप्राविधिक शिक्षालय र स्वास्थ्य कार्यालय तनहुँले पूँजीगततर्फको बजेट अपेक्षाअनुसार खर्च गर्न सकेका छैनन् । वन कार्यालयलाई पूँजीगततर्फ रु ६६ लाख चार हजार ८५४, विज्ञ केन्द्रलाई रु १५ लाख ९५ हजार, तनहुँ प्राविधिक शिक्षालयलाई रु ३१ लाख ७५ हजार, कालीगण्डकी बहुप्राविधिक शिक्षालयलाई रु दुई करोड ७४ लाख ७५ हजार र स्वास्थ्य कार्यालयलाई रु ४३ हजार बजेट विनियोजन भएको छ ।

रु १० करोड २१ लाख विनियोजन भएको भू तथा जलाधार व्यवस्थापन कार्यालयले रु नौ लाख ५० हजार, रु २५ लाख विनियोजन भएको घरेलु तथा साना उद्योग विकास समितिले रु एक लाख, रु एक करोड ७२ लाख २० हजार विनियोजन भएको कृषि ज्ञान केन्द्रले रु २० लाख नौ हजार ४०३ र रु ६७ लाख ३० हजार विनियोजन भएको प्रजनन पिँढी बीज कोया स्रोत केन्द्रले रु ४७ लाख २९ हजार ९८ खर्च गरेको छ । त्यस्तै रु १५ करोड ६२ लाख विनियोजन भएको सडक डिभिजन कार्यालयले रु छ करोड ६९ लाख ७४ हजार ८३७ र रु दुई लाख ८० हजार विनियोजन भएको यातायात व्यवस्था सेवा कार्यालयले रु एक लाख ४६ हजार ६७४ खर्च गरेको छ ।

रु ३३ करोड ७५ लाख ६१ हजार विनियोजन भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले रु पाँच करोड २३ लाख ६८ हजार ३३७, रु ५२ करोड ७७ लाख १८ हजार विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले रु नौ करोड चार लाख एक हजार २१४ खर्च गरेको कोष नियन्त्रण कार्यालयले जनाएको छ ।

चालूतर्फ प्रदेश सरकारअन्तर्गत कार्यालयले १९ प्रतिशत रकम खर्च गरेका छन् । चालूतर्फ कूल रु ८३ करोड ६० लाख ७८ हजार १०७ विनियोजन भएकामा रु १६ करोड १९ लाख ११ हजार ४५८ खर्च भएको छ । चालूतर्फ प्रदेश लेखा एकाइ कार्यालयले रु सात करोड ७१ लाख ५२ हजार १५९, डिभिजन वन कार्यालयले रु एक करोड ५७ लाख ३१ हजार ९०७, भू तथा जलाधार व्यवस्थापन कार्यालयले रु ५१ लाख ८१ हजार ७८६ र घरेलु तथा साना उद्योग विकास समितिले रु २३ लाख ४२ हजार २७५ खर्च गरेका छन् ।

कृषि ज्ञान केन्द्रले रु ९२ लाख ९२ हजार ४९५, प्रजनन पिढी बीज कोया स्रोत केन्द्रले रु ४२ लाख ४५ हजार ८८२, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु ५७ लाख ४१ हजार ७९५ र सडक डिभिजन कार्यालयले रु २७ लाख ९४ हजार ५०१ खर्च गरेको छ । यातायात व्यवस्था सेवा कार्यालयले रु २३ लाख ३७ हजार ४९१, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले रु ४१ लाख ४१ हजार ८०५, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले रु ५६ लाख एक हजार २८५, शिक्षा तालीम केन्द्रले रु एक करोड १३ लाख ३७ हजार ५५८, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले रु २८ लाख ४७ हजार ३४५, स्वास्थ्य कार्यालयले रु ४४ लाख चार हजार ७५ र दमौली अस्पतालले रु ८६ लाख ५९ हजार ९४ खर्च गरेका छन् ।

कार्यालयका अनुसार सङ्घीय सरकारअन्तर्गत कार्यालयले पूँजीगततर्फ २२ प्रतिशत रकम खर्च गरेका छन् । कूल रु एक अर्ब ७१ करोड तीन लाख ४९ हजार बजेट विनियोजन भएकामा रु ३७ करोड ८२ लाख ८९ हजार ६८८ मात्रै खर्च भएको छ । कार्यालयका अनुसार स्थानीय तहको बजेट पनि यसमै समावेश गरिएको छ । त्यस्तै चालूतर्फ रु सात अर्ब चार करोड ५५ लाख ७१ हजार ७०० विनियोजन भएकामा रु तीन अर्ब ४० करोड ५८ लाख ७१ हजार १५६ खर्च भएको छ ।

बोलपत्र जारी गर्ने तथा प्रक्रिया मिलाउनेलगायत काम पहिलो चौमासिकमा हुने भएकाले यस अवधिमा पूँजीगततर्फको बजेट कम खर्च भएको कोष नियन्त्रक भट्टराईले जानकारी दिनुभयो । “पहिलो चौमासिकमा सबै प्रक्रिया मिलाउँदा पूँजीगततर्फको बजेट खर्च हुन सक्दैन”, उहाँले भन्नुभयो, “काम हुने भनेको दोस्रो, तेस्रो चौमासिकमा हो ।”

यस्तै तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ मा ५८५ योजना कार्यान्वयनमा ल्याएको छ । नगरस्तरीय ७०, वडास्तरीय ३३७, क्रमागत १०० र विविध फुटकर योजना ७८ गरी कूल ५८५ योजना कार्यान्वयनको चरणमा रहेको व्यास नगरपालिकाले जनाएको छ ।

वडागत योजनामध्ये २६ योजनाको कार्यसम्पन्न भएको, १५५ सम्झौता भइसकेको र १५६ योजना सम्झौताको चरणमा रहेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । नगरस्तरीय ७० योजनामध्ये २५ बोलपत्र प्रक्रिया पूरा गरिएको, सात योजना बोलपत्र भइरहेको, १३ योजना उपभोक्तासँग सम्झौता भएको र बाँकी योजना लगत अनुमान भइरहेको न्यौपानेले बताउनुभयो ।

नगरस्तरीय कूल ७० योजनामध्ये ३६ वटाको सम्झौता भएको छ भने दुई वटा योजना सम्पन्न भएका छन् । त्यस्तै २५ योजनाको ठेक्का सम्झौता, सात योजनाको ठेक्का सूचना प्रकाशित भएको र १३ वटा योजनाको उपभोक्ता समितिसँग सम्झौता गरिएको छ । त्यस्तै क्रमागत १०० योजनामध्ये ६९ योजना सम्पन्न भएका छन् भने ३१ कार्यान्वयनको चरणमा रहेका छन् । विविध फुटकर ७८ योजनामध्ये १५ योजना सम्पन्न भएको तथा २५ योजनाको सम्झौता गरिएको छ भने ३८ योजना अधुरा छन् ।

नगरप्रमुख न्यौपानेले गत वर्ष रु छ करोड ५० लाखभन्दा बढीको क्रमागत योजना रहेको र क्रमागत योजनालाई न्यूनीकरण गर्न चालू आर्थिक वर्षमा रु २० लाखभन्दा कमका योजना यसै वर्ष सम्पन्न गरिने र सम्पन्न हुन नसकेमा योजनाको रकम फ्रिज हुने नीति लिइएको जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार केशवटारमार्ग, छाब्दीमार्ग, छिर्कने कर्लुङमार्ग, खड्गकालीमार्ग, पराशरमार्ग, कलेस्तीमार्ग, क्यामिन पर्यटनमार्ग, कालिकामार्ग, माहेन्द्रीमार्ग र वैरेनी नयाँबस्ती मार्गको बोलपत्र प्रक्रिया सम्पन्न भई कालोपत्र निर्माण गर्ने कार्य भइरहेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा विकास बजेटतर्फ रु ६० करोड १६ लाख ४६ हजार विनियोजन गरेकामा पुस मसान्तसम्म रु १० करोड ९२ लाख ७७ हजार २५३ खर्च भएको जनाएको छ ।