२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य

साहित्यानुरागीको मन लोभ्याउँदै अर्घौ अर्चले

साहित्यानुरागीको मन लोभ्याउँदै अर्घौ अर्चले
अ अ+ अ-

    गण्डकी ।

    “चर्को चक्र घुम्यो शनैः समयको टाढा भयो अर्चले ।
    प्यारा साथी पनि क्रमैसित सबै संसारदेखि चले ।।
    देख्दा यो सब तारतम्य विधिको धर्कन्छ छाती सब ।
    त्यो जन्मस्थलमा कठै ! म कसरी कैले पुगूँला अब ?

    कवि शिरोमणि लेखनाथ पौड्यालले आफ्नो जीवनको उत्तराद्र्धमा जन्मस्थल अर्घौ अर्चले पनि आफूदेखि टाढा बनेकोलगायत भावलाई समेटेर लेख्नुभएको कविताको एक पङ्क्ति हो यो । आधुनिक परिष्कारवादी धाराका माध्यमबाट नेपाली साहित्यलाई आधुनिकतामा प्रवेश गराएका कवि शिरोमणिको जन्मस्थल अर्चले पछिल्लो समयमा साहित्यानुरागीका लागि भने आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

    कवि शिरोमणिको जन्मस्थल अर्घौ अर्चलेलाई साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन भएसँगै सो समितिको पहलमा पछिल्ला वर्षमा गरिएको कवि शिरोमणिको जन्मघरको संरक्षणका साथै सङ्ग्रहालय, तरुण तपसी पार्क निर्माणलगायतका कामले देशविदेशका साहित्यिक मनलाई आकर्षित गरेको छ ।

    कवि शिरोमणिको जन्मस्थल अर्घौ अर्चलेको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ काम अघि बढिरहेको समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले बताउनुभयो । अर्घौ अर्चले कवि शिरोमणिको जन्मस्थल भएर पनि विसं २०३६ अघिसम्म उहाँको जन्मजयन्ती अन्यत्र नै मनाउने गरिएको वास्तविकतामा त्यस यता भने अर्चलेमा नै जन्मजयन्ती मनाउने गरिएको वरिष्ठ पत्रकार एवं आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बाँस्तोलाले बताउनुभयो ।

विसं २०३६ मा पहिलोपटक तत्कालीन युवा साहित्य सदन पोखराले अर्घौ अर्चलेमा नै आएर जन्मजयन्ती मनाएको स्मरण गर्दै उहाँले त्यसयता भने बर्सेनि पुस १५ गते अर्चलेमा नै जन्मजयन्ती मनाउने गरिएको जानकारी दिनुभयो । “विसं २०५३ मा लेखनाथ नगरपालिका गठन भएसँगै लेखनाथ क्षेत्रमा साहित्यिक गतिविधि विकास गर्ने लक्ष्यका साथ गठित लेखनाथ साहित्य प्रतिष्ठानले विसं २०५७ मा उहाँको अर्चलेस्थित जन्मघरको जीर्णोद्धार गरेको थियो”, प्रतिष्ठानका पूर्वअध्यक्ष रहनुभएका बाँस्तोलाले भन्नुभयो, “प्रतिष्ठानको सक्रियतासँगै २०६८ सालमा गठित कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिले पछिल्ला वर्षमा समग्र अर्घौ अर्चलेलाई नै साहित्यिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सक्रिय बनेको छ ।”

    कवि शिरोमणिको जन्मस्थलमा जन्मजयन्तीलगायतका कार्यक्रमका साथै साहित्यिक गतिविधि पनि बढ्न थालेसँगै पछिल्ला समयमा यो साहित्यिक पर्यटनको गन्तव्यका रूपमा विकास हुन थालेको स्थानीयवासी एवं कवि शिरोमणि लेखनाथ प्राथमिक विद्यालय, अर्चलेका पूर्वअध्यक्ष दशरथ लामिछानेले बताउनुभयो ।

    विसं २०३६ पछिका केही वर्षमा कवि शिरोमणि लेखनाथ प्राविमा नै जन्मोत्सवका कार्यक्रम हुने गरेकोमा पछिल्ला वर्षमा जन्मस्थलमा पुगी कार्यक्रमहरू गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
    कवि शिरोमणि आधुनिक नेपाली साहित्यका सबैका गुरु रहनुभएको बताउनुहुने साहित्यकार सरुभक्त उहाँको जन्मस्थललाई साहित्यिक पर्यटनको गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताउनुहुन्छ । कवि शिरोमणिको जन्मस्थललाई संरक्षणका लागि जन्मस्थल विकास समितिलगायतका सङ्घसंस्थाले देखाएको सक्रियता प्रशंसनीय भएको बताउँदै उहाँले यसले समग्र अर्घौ अर्चलेको विकास बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष लामिछानेका अनुसार पछिल्लो समयमा कवि शिरोमणिको जन्मघरलाई पुरानै स्वरूपमा निर्माण गरिएको छ । कवि शिरोमणिको बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन र रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखी सङ्ग्रहालय निर्माण गरिएको उहाँले बताउनुभयो ।

    कवि शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायत संरचना तथा पार्क निर्माणकार्य आदिलाई अघि बढाइएको छ ।

    कवि शिरोमणिका नामबाटै यहाँका विभिन्न सङ्घसंस्थाको नाम रहेको बताउनुहुने लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय बृहत् पोखराका नाममा पोखरा महानगरभित्र लेखनाथ गाभिँदा कतै लेखनाथ जन्मस्थल र समग्र यो क्षेत्र ओझेलमा पर्ने त होइन भन्ने चिन्ता थपिएको बताउनुहुन्छ । अर्घौ अर्चलेलाई साहित्यिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्नका लागि सङ्घले आफ्ना तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

    पृथ्वी राजमार्गको अर्घाै चोकस्थित कवि शिरोमणिको सालिकदेखि जन्मस्थल अर्घौ अर्चलेसम्म ठाउँठाउँमा उहाँले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएको छ । अर्घाै चोकबाट छिरेपछि उहाँका कविता वाचन गर्दै जन्मघर पुग्ने व्यवस्था समितिले मिलाएको छ । देशविदेशबाट आएका साहित्यिक मनहरू लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मका स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरीलगायत मुख्य चोकमा उहाँका मर्मस्पर्शी कविता पढ्दै अर्चलेसम्म पुग्ने गरेका छन् ।

    अर्घौ चोकदेखि कवि शिरोमणिको जन्मघरबीचको बाटोमा पर्ने लगभग पाँच रोपनी क्षेत्रफल समेटेर तरुणतपसी पार्क निर्माण गरिएको छ भने तरुणतपसी बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । सात तालको बगैँचा शहर अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकलाई एकपटक पुग्नैपर्ने स्थलका रूपमा कवि शिरोमणि सङ्ग्रहालयलाई विकास गर्दै साहित्यिक पर्यटनको महत्वपूर्ण आकर्षणका रूपमा अर्घौ अर्चलेलाई विकास गर्ने समितिको लक्ष्य छ । कवि शिरोमणिलाई पहिलोपटक कविता लेख्न प्रेरणा मिलेको दोपहरे पाखालाई कविकुञ्ज पार्क बनाउने योजना अघि सारिएको छ भने कवि शिरोमणिको जन्मस्थल अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी उनीहरू बस्ने सुविधा सम्पन्न होटल निर्माण गर्ने सोच राखिएको छ ।

कवि शिरोमणिको १३८औँ जन्मजयन्ती

    यसैबीच कवि शिरोमणि लेखनाथ पौड्यालको १३८औँ जन्मजयन्ती उहाँको जन्मस्थल अर्घौ अर्चलेमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । जन्मजयन्तीका अवसरमा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने लेखनाथ साहित्य पुरस्कार २०७७ र २०७८ बाट साहित्यकारद्वय सरुभक्त र रमेश खकुरेललाई जनही रु ५० हजार तथा सम्मानपत्र प्रदान गरियो । लेखनाथ पत्रकार मञ्चद्वारा प्रदान गरिने रु ११ हजार १११ राशिको लेखनाथ पत्रकारिता पुरस्कार पत्रकार भीमपाणि बराललाई सम्मानित गरिएको थियो । उक्त अवसरमा कुन्तिदेवी छात्रवृत्ति, चन्द्रकान्त, मधुमाया, फणिन्द्रकुमारी ढकाल शिक्षा पुरस्कार पनि प्रदान गरिएको थियो ।

    कार्यक्रममा कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष लामिछाने, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय, सम्मानित व्यक्तित्व साहित्यकार सरुभक्त, खकुरेल र बराल, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाललगायतले कवि शिरोमणि लेखनाथको साहित्यिक योगदान लगायतमा बोल्नुभएको थियो । 
–––