१६ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’ एकीकृत कानून निर्माण गर्न कानून कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौंमा सद्भाव र्‍याली झैझगडामा संलग्न एक जना पक्राउ प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा ओपन तथा भेट्रान्स टेनिस : कमल थापालाई दोहोरो उपाधि



अ+ अ-

कास्की। पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा जारी २२ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ राष्ट्रिय टेनिस प्रतियोगितामा कमल थापाले दोहोरो उपाधि जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका थापाले ६५ वर्ष उमेर समूह माथिको एकल र ‘डबल्स’तर्फ उपाधि जितेका हुन् । ‘सिङ्गल्स’ फाइनलमा उनले पोखराका पदम गुरुङलाई ४–२, ४–२ ले पराजित गरे । ‘डबल्स’तर्फ चाम्बा धोन्धुपसँग जोडी बनाएका थापाले विदुर विष्ट र ध्रुव गुरुङको जोडीलाई फाइनलमा ४–०, ४–१ को सेटमा पराजित गरी उपाधि हात पारेका हुन् । थापा पोखरामा हुने यस प्रतियोगिताको हरेक संस्करणमा नियमित रुपमा सहभागी हुँदै आएका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ‘मेन्स डबल्स’ फाइनलमा नेपाल नं १ प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडीले निहाल जङ्गबहादुर थापा र राजविर प्रधानको जोडीलाई ६–०, ६–१ ले पराजित गरी च्याम्पियन बनेका छन् ।

महिला खुलातर्फ सिवाली गुरुङले प्रशंसा मोक्तानलाई ६–०, ६–० ले सेमिफाइनलमा पराजित गर्दै सुनिरा थापासँग फाइनल भिडन्त पक्का गरिन् । सुनिराले प्रकृति श्रेष्ठलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरिन् ।

यसैगरी ५५ वर्षमाथिको समूहमा उत्तमकुमार शेर्पा र दीपेन्द्र प्रधानको जोडीले उपाधि जितेको छ । विमल गुरुङ र हिमाल शाहको जोडीलाई उनीहरुको जोडीले पहिलो र दोस्रो सेटमा ६–४, १–६ को बराबरीमा सकिएसँगै सुपर टाइमा पुगेको खेलमा उत्तम र दीपेन्द्रको जोडीले १०–८ ले जित हात पार्न सफल भएका हुन् ।

त्यसैगरी ३५ वर्षमाथिको इभेन्ट फाइनलमा जीतेन्द्र प्रधान र कुमार अधिकारीको जोडीले फाइनलमा सन्तोष खत्री र भीष्म जङ्ग गुरुङको जोडीलाई ६–४, ६–२ ले पराजित गरी च्याम्पियन भएका छन् । विजेता दुवै पूर्वनेपाल नं १ खेलाडी हुन् ।

यसैगरी ४५ वर्षमाथिको फाइनलमा देव क्षेत्री र हिमाल शाहको जोडीले फाइनलमा ७–६, ६–२ ले लेसारी गुरुङ र आशिष सिग्देलको जोडीलाई पराजित गर्दै उपाधि जिते ।

‘ओपन मेन्स सिंगल्स’मा नेपाल नं १ प्रदिप खड्का, आयुष्मान हजुर घले, करनबहादुर थापा, राजविर प्रधानले सेमीफाइनलको यात्रा तय गरे । क्वाटरफाइनलमा प्रदीपले प्रितम परियारलाई ६–१, ६–२ ले, आयुष्मानले निहाल जङ्गबहादुर थापालाई ६–२, ६–३ ले, करनले दर्शिल श्रेष्ठलाई ६–२, ६–२ ले, राजविरले युगेन शेर्पालाई ६–२, ६–१ ले पराजित गरेका हुन् ।

त्यसैगरी ३५ वर्षमाथिको एकल प्रतिस्पर्धामा जीतेन्द्र परियारले अनिल साईलाई ६–१, ६–३ ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गर्दा भीष्म जङ्ग गुरुङ, चन्द्र शाही र पेमा नोर्वुले अन्तिम चारमा स्थान तय गरे । खेलमा भीष्मले सोम रानालाई ६–१, ६–० ले, चन्द्रले विमल गुरुङलाई ६–३, ६–३ ले र पेमाले विकाश खड्कालाई ६–४, ६–२ ले पराजित गरे ।

४५ वर्षमाथि एकलतर्फ कमल भण्डारीले सिजर गुरुङलाई ६–२, ६–० ले र देव क्षेत्रीले रोहित सुनुवारलाई ६–४, ७–५ ले पराजित गरी उपाधि नजिक पुगेका छन् । प्रतियोगिताको फाइनल खेल मङ्गलबार सञ्चालन हुने प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिए । रासस