२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै



अ+ अ-

काठमाडौँ, २८ मङ्सिर: निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ ।

विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ ।

निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ । राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको सङ्घीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण रहेको छ ।

संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य रहँदै आएको छ । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको छ ।

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको छ ।

संसद् सेवा दिवस–२०८२ का अवसरमा आज सङ्घीय संसद् सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा सुख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले सम्पूर्ण कर्मचारी साथीहरूलाई आफ्नो कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको छ ।

राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको सङ्घीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्त महत्त्वपूर्ण रहेको सभामुख घिमिरेको भनाइ छ ।

उहाँले भन्नुभएको छ, “संसद् सेवा लोकतन्त्रको मन्दिरको लिइने संसद्लाई सुचारु राख्ने एक पवित्र जिम्मेवारी पनि हो, राजनीतिक रूपमा निष्पक्ष, व्यावसायिक रूपमा दक्ष र प्रक्रियागत रूपमा पारदर्शी कर्मचारी संयन्त्र नै जीवन्त संसद्को आधार हो, संसद्को स्वायत्तता कायम राख्दै यस सेवालाई समयसापेक्ष, प्रविधिमैत्री र विशिष्टीकृत बनाउन हामी सबैको सामूहिक प्रयास रहनेछ भन्ने विश्वासका साथ पुन: सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

‘जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न प्रतिबद्ध बनौँ’: उपसभामुख इन्दिरा राना

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माण गर्न सघाउ पुर्याएको छ: उपाध्यक्ष घिमिरे

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्याएको बताउनुभएको छ । संसद् सेवा दिवस– २०८२ का अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको छ ।

लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले सङ्घर्षहरूमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले भन्नुभएको छ, “मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्दै लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता हो ।” संसद्को जनउत्तरदायी, पारदर्शी र प्रभावकारिताबारे समीक्षा गर्नुपर्ने उहाँको भनाइ छ ।

उपाध्यक्ष घिमिरेले संसद्लाई अझै जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउन सांसद, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र जनताले साझा प्रयास गर्नुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “संसद् बलियो हुँदामात्र संविधान कार्यान्वयन हुन्छ, शासन उत्तरदायी बन्छ र जनताले सुशासन अनुभव गर्न पाउँछन्, सबै पक्षको साझा प्रतिबद्धता र समन्वयात्मक प्रयासबाट मात्र संसद्को गरिमा पुन:स्थापना गर्न सकिन्छ, जसले लोकतन्त्रलाई बलियो बनाउँछ र जनतामा विश्वास जागृत गराउँछ । जनताका मुद्दालाई सशक्त रूपमा उठाउन सक्ने क्षमताको विकास गर्नु जरुरी छ ।”

“संसद् नागरिकको आवाज, आकाङ्क्षा, विचार र आवश्यकता बोकेको संस्था हो, नेपालले लामो सङ्घर्षपछि लोकतन्त्र र सङ्घीय प्रणाली अवलम्बन गर्दै संसद्लाई जनताको सर्वोच्च प्रतिनिधि निकायका रूपमा स्थापित गरेको छ”, उपाध्यक्ष घिमिरे भन्नुभएको छ ।रासस