काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकार र सरकारबाट पालित पोषित व्यक्ति र मिडियाले एमाले र एमाले अध्यक्ष केपी ओली विरुद्ध विभिन्न खालका भ्रम फिँजाइरहेका बताएका छन् ।
एमाले महाधिवेशनमा डर र आतङ्क सिर्जना गर्न एमाले अध्यक्ष केपी ओलीलाई गिरफ्तार गर्ने हल्ला फिँजाइएको उनले बताए । ‘केपी ओलीलाई गिरफ्तार गरेर बयान गराउन सक्ने यो धर्तीमा कोही पनि जन्मिएको छैन’, बिहीबार यातायात श्रमिक तथा व्यवसायीहरूको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै बस्नेतले भने ।
एमाले महाधिवेशन भाँड्नको लागि कुलमान घिसिङले नागढुंगामा सडक अवरुद्ध गर्ने सूचना सार्वजनिक गरेका बताउँदै बस्नेतले हिजो एमालेको टोलीले गएर बाटो बन्द नगर्न भनेको जानकारी दिए । ‘यदि एमालेको महाधिवेशन भाँड्ने नियतले सडक बन्द गर्न खोजिएको हो भने एमालेका दशौँ हजार कार्यकर्ता र भोलेन्टियर जम्मा भएर बाटो खोल्छन्, बाटो थुन्नेहरूलाई त्रिसुलीमा नुहाउन पठाइदिन्छन्, होस् गर्नु’, उनले भने ।
बस्नेतले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको कुनै जग नभएको बताए । ‘सुशीला कार्कीको सरकारलाई एमालेले फु गरेर ढालिदिन्छ, एमालेको महाधिवेशन पछि सुशीला कार्कीको सरकार ढल्छ’, बस्नेतले भने ।
विद्यादेवी भण्डारी र ईश्वर पोखरेललाई उचालेर आफ्नो अभीष्ट पुरा हुन्छ भन्ने कुरा नसोच्न पनि सुशीला कार्की र लुसिफरहरुलाई उनले चेतावनी दिए । विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उकासी रहेको उनको भनाइ छ ।
नेकपा एमालेले फेरि पनि बहुमत ल्याएर सरकार बनाउँछ भन्ने कुरा नबिर्सन आग्रह गर्दै उहाँले फेरी पनि एमालेबाट केपी ओलीलाई बहुमतको प्रधानमन्त्री बनाएर देखाउने दाबी गरे । ‘एमालेको नीति, नेता ठिक छन् त्यसैले हामीमा घमण्ड होइन, आत्मविश्वास छ’, बस्नेतले भने ।










