बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज तोकिएको छ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार उनीहरूको मुद्दा न्यायाधीश तेजनारायण पौडेल र सागर विष्ट रहेको चार नम्बर इजलासमा परेको छ। यसअघिको पेशी सार्वजनिक बिदा परेकाले स्थगित भएको थियो।
सुप्रिम सहकारी संस्थामा भएको ठगी प्रकरण र संगठित अपराध अभियोगमा लामिछाने र जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो। गत साउन २६ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा रहेका छन्।
लामिछानेले सहकारीमा भएको अपचलनसम्बन्धी आफ्नो हिस्साको बिगो रकम दाखिला गरिसके पनि अदालतले पहिलो चरणमै जमानत नदिई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरेको थियो।
सुप्रिम सहकारीको ठगी प्रकरणसँग सम्बन्धित यस मुद्दाको पेशी गत १३ गतेपछि लगातार सारिँदै आएको थियो। आज तोकिएको सुनुवाइले मुद्दा आगामी प्रक्रिया कस्तो अघि बढ्छ भन्ने निर्धारण गर्ने अपेक्षा गरिएको छ।










