काठमाडौँ । सरकारले आ.व. २०८२–०८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्युनतम खरिद भूल्य प्रतिक्विन्टल ६ सय २० निर्धारण गरेको छ ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो ।
उहाँकाअनुसार उखुको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको छ । २०८१ चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा जलेर मृत्यु भएका पत्रकार स्व। सुरेश रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ । २०८२ भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत भएको छ ।
सरकारले इलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवलपरासी, बर्दघाट सुस्तापूर्व, नवलपरासी बर्दघाट सुस्तापश्चिम, पर्वत, मोरङ,सुनसरीका ९४ हजार ५ सय २७ गरिव परिवारको सूचि स्वीकृत गर्ने निर्णय गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ ।
सरकारले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरेको छ । जेन–जी घाइतेहरुको शिक्षा, स्वास्थ्य तथा रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता खरेलले बताउनु भयो ।










