२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्राधिकरणलाई दिने गरि विधेयक परिमार्जन



अ+ अ-

काठमाडौँ । उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्राधिकरणलाई दिने गरी एकीकृत यातायात प्रणालीको विकासको प्रस्तावसहित सहरी क्षेत्रको एकीकृत सार्वजनिक यातायात व्यवस्थापन विधेयकलाई राष्ट्रिय सभाको विधायन समितिले पुनर्लेखन गरेको छ ।
एकीकृत यातायात प्रणालीको विकास, रुट निर्धारण, भाडा निर्धारण लगायतका प्रबन्ध गरी यातायात सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्राधिकरणलाई दिने गरी समितिले विधेयक परिमार्जन गरेको हो । सरोकारवालाहरूको सुझावका लागि समितिले परिमार्जित विधेयकमा सुझावसमेत लिइरहेको छ । समितिले परिमार्जन गरेको विधेयक अनुसार प्राधिकरणले नै रुट निर्धारण, समय निर्धारण तथा भाडादर निर्धारण गर्नेछ ।

यस्तै नगदविहीन भाडा प्रणाली लागू गरी कार्यान्वयन गराउने अधिकार पनि प्राधिकरणसँग हुनेछ । प्रस्तावित व्यवस्था अनुसार अधिकारसम्पन्न प्राधिकरणले निश्चित रुटमा सार्वजनिक यातायात सञ्चालक कम्पनीलाई सञ्चालन अनुमति दिनेछ । सञ्चालन लागत करार प्राधिकरण र कम्पनीबीच हुनेछ । यातायात कम्पनीले करार बमोजिमको रकम पाउने छ । नाफा वा घाटाको सम्पूर्ण लाभ र दायित्व प्राधिकरणसँग रहनेछ । विधायन समितिका सभापति पर्शुराम मेघी गुरुङले समितिले नयाँ ढङ्गबाट विधेयकलाई परिमार्जन गर्न चाहेको र सरोकारवालासँग परामर्श भइरहेको पनि बताए ।

उनले भने, “हामीले नयाँ स्वरूपमा विधेयकलाई परिमार्जन गरेका छौँ । पुनर्लेखन नै गरेका छौँ । हाम्रो प्रस्ताव अनुसार विधेयक अघि बढेमा सार्वजनिक यातायात सञ्चालन, व्यवस्थापन सबै प्राधिकरणले पाउने छ । यातायात कम्पनीसँग निश्चित सम्झौता हुनेछ । त्यस्ता कम्पनीले सम्झौता बमोजिमको रकम प्राधिकरणबाट लिएर सेवा दिनुपर्नेछ ।” प्राधिकरण मोडलमा सार्वजनिक यातायात सञ्चालनका लागि प्रदेश र स्थानीय सरकार दुवैलाई जिम्मेवार बनाइएको छ । निश्चित रकम प्राधिकरणलाई दुवै तहका सरकारले दिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ । सहरी क्षेत्रको एकीकृत सार्वजनिक यातायात व्यवस्थापन विधेयकलाई छाता कानुनका रूपमा परिमार्जन गर्न लागिएको हो ।

प्रस्ताव अनुसार प्राधिकरणलाई सहरी क्षेत्रको यातायात नीति तर्जुमा, रणनीति निर्माण र व्यवस्थापनको जिम्मेवारी हुनेछ । प्राधिकरण स्वायत्त संस्था हुनेछ । रुट निर्धारण, अनुगमन तथा यातायात सञ्चालन लगायतका सम्पूर्ण पूर्वाधार निर्माणको दायित्व पनि प्राधिकरणमा रहनेछ । यातायात सेवा व्यवस्थापनको ‘ओभरहेड’ खर्चको परिणाम निर्धारण गर्ने अधिकार पनि प्राधिकरणलाई नै हुनेछ । सङ्घीय राजधानीको यातायात क्षेत्र व्यवस्थापनका लागि विशेष प्राधिकरण गठन हुनेछ । यस्तो प्राधिकरणमा काठमाडौँ महानगरपालिकाका प्रमुख अध्यक्ष रहने प्रस्ताव विधेयकमा छ भने ललितपुर महानगरपालिकाका प्रमुख उपाध्यक्ष रहने प्रस्ताव छ । सडक विभाग, यातायात व्यवस्था विभाग लगायतका महानिर्देशक सदस्य रहनेछन् ।

प्रस्तावित विधेयकले ऐन लागू भएपछि प्राधिकरणको कार्यक्षेत्रभित्र यातायात सञ्चालन गर्न चाहने सेवा प्रदायकले प्राधिकरणको स्वीकृति लिनुपर्नेछ । ऐन प्रारम्भ हुनुअघिका सेवा प्रदायकले छ महिनाभित्र प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था प्रस्तावित छ । ऐन प्रारम्भ भएको पाँच वर्षभित्र सम्बन्धित मन्त्रालयले कार्यान्वयनको प्रभाव मापन गर्नुपर्ने व्यवस्था पनि विधेयकमा प्रस्तावित छ । उत्तरविधायिकी चरणका रूपमा उक्त व्यवस्थालाई विधेयकमा प्रस्ताव गरिएको हो । गोरखापत्र दैनिक




भर्खरै