काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग नौं बूँदे सम्झौंता गरेर विदेशमा विद्यार्थीहरुलाई सप्लाई गरेर कारोबार चलाउनेहरुलाई साथ दिएको टिप्पणी गर्नु भएको छ ।
शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढने सपना बर्बाद पारेको गम्भिर आरोप समेत लगाउनु भयो । उहाँले डा. केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौंताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाईदा पु-याएर नसक्नेको जीवन बर्बाद पारिएको तर्क गर्नु भयो ।
उहाँले स्कुल, कलेज बन्द गर्न सो सम्झौंता भएको र त्यसबारे बुद्धिजीविहरुले मौनता साँधेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । उहाँले सरकारकै कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको र बैंकहरुमा तरलताको अभाव देखिएको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘हिजो प्रधानमन्त्रीले एक जना कुन डाक्टरसँग नौं बूँदे सम्झौंता गरे रे । ७ वटा माग पूरा गर्न नौं बूँदे सम्झौंता । त्यो सम्झौता किनभने यहाँ नर्सिङ क्याम्पस चलाउन पाईदैन । नत्र भने विदेशमा विद्यार्थी पठाउने कम्पनीहरु बर्बाद हुन्छन । त्यसकारण विदेश पढन पठाउनलाई यहाँ खोल्न नदिने । सक्नेले पैसा र छोराछोरी बाहिर पठाउ, नसक्ने बर्बाद होऊ । तर विदेशको विद्यार्थी सप्लाईको कारोबार चलाउनु परेको छ यहाँ । स्कुल, क्याम्पस बन्द गर्नु परेको छ । बुद्धिजीविहरु मौन छन । अर्थतन्त्र ध्वस्त छ ।’
अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै इज्जत नभएकाहरु सधैं सरकारमा रहने अवस्था रहेको भन्दै व्यंग्य पनि गर्नु भयो । उहाँले आफ्नो पार्टीले भने सरकारमा बसेर आफ्ना नीति कार्यान्वयन गर्दै अघि बढने वा प्रतिपक्षमा रहेर गलत नीतिको विरोध गरेर देश र जनताको सेवा गर्ने गरेको बताउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अलिकति इज्जत छोडने हो भने त जहिले पनि सरकारबाट हटनुनपर्ने अवस्था छ । जस्तो प्रचण्डजीहरु हटनु हुन्न । म हुँदा पनि उहाँहरु सरकारमै हुनुहुन्छ । काँग्रेस हुँदा पनि सरकारमै हुनुहुन्छ । अर्को हुँदा पनि सरकारमै हुनुहुन्छ । अलिकति इज्जत छोड्यो भने जहिले पनि सरकारमा बस्नुपर्ने खालको अवस्था । इज्जतसाथ मात्रै कि सरकारमा हुन्छ, कि प्रतिपक्षमा । कि आफ्नो नीति कार्यान्वयन गर्छ कि गलत नीतिका विरुद्ध लडछ ।’
अध्यक्ष ओलीले माओवादी जनयुद्धका कारण रोजगारीको खोजीमा धेरैजसो युवाहरु विदेश जानु परेको औंल्याउँदै अव त्यस्तो अवस्थाको अन्त्य भएको पनि बताउनु भयो ।










