काठमाडौँ । पार्टी विभाजनपछि पहिलोपटक गृहजिल्ला पुगेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्जन शर्मालाई पूर्व सहकर्मी माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्।
शुक्रबार रूकुम पश्चिमको जिल्ला सदरमुकामस्थित सल्ले विमानस्थलबाट बाहिर निस्कँदै गर्दा शर्माविरुद्ध माओवादी केन्द्रसम्बद्ध कार्यकर्ताले कालो झन्डा देखाउँदै नाराबाजी गरेका हुन्। पार्टी विभाजनको घटनालाई लिएर असन्तुष्टि जनाउँदै उनीहरूले शर्मालाई विरोध स्वरूप कालो झन्डा प्रदर्शन गरेका हुन्।
शर्मा प्रलोपा द्वारा आयोजित युवा भेलामा सहभागी हुन रूकुम पश्चिम पुगेका छन्। त्यसपछि उनले आजै प्रलोपा जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।
साविक माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयलाई नै प्रलोपाले नयाँ संरचना विस्तारसहित आफ्नै कार्यालयका रूपमा प्रयोग गर्ने तयारी गरेको समेत स्रोतहरूले बताएका छन्।










