काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नेपालमा फरक रहेको भन्दै निजी क्षेत्रलाई भरसक कुनैपनि नीति निर्माणमा सहभागी नगराउने प्रचलन अन्त्य गर्नुपर्ने बताउनु भयो ।
उहाँले कुनैपनि परिवर्तनपछि आर्थिक र नीतिगत पक्षमा एक भएर अघि बढ्ने कुरामा नेपाल पछि परेको जिकिर गर्नुभयो । उहाँले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि जान नसकेसम्म अर्थतन्त्र सबल बन्न नसक्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी कहाँ के छ भने प्राइभेट सेक्टरलाई हेर्ने दृष्टिकोण र प्राइभेट सेक्टरलाई सहभागी गराउने कुरा भरसक नगराउने चलन छ । त्यसैको फलस्वरुप चाहे कुनैपनि आन्दोलनबाट व्यवस्था परिवर्तन हुँदाखेरि पनि हाम्रा पोलिसीगत कुराहरु र खास गरेर इकोनोमिक एजेण्डामा अगाडि बढ्ने कुरामा हामी पछाडि परेका छौँ । जबसम्म निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि जान सकिँदैन, निजी क्षेत्रलाई टाढा राखेर बनाउने हरेक पोलिसीहरु प्रभावकारी बन्दैनन् । इकोनोमिक एक्टिभिटी बढाउने कुरा सम्भव हुँदैन । यो प्रमाणित पनि भइसकेको छ । जबसम्म कलेक्टिभ हिसावको एप्रोचमा जान सक्दैनौ तबसम्म वास्तवमा हामीले रियल खोजेको रिजल्ट आउन सक्दैन ।’
अध्यक्ष ढकालले आन्तरिक पुँजी परिचालन गरेर धेरै ठूला आयोजनाहरु बनाउन सकिने बताउनु भयो । नेपालमा केही सम्भावना छैन भन्ने स्थानबाट नेपालमै सम्भावना छ भन्ने सन्देश आफूहरुले दिन सकेको बताउनु भयो ।










