काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले अव बस्ने क्याविनेटबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोशाक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले अझै पनि राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै अव छिट्टै बस्ने क्याविनेटबाट निर्णय गराउन आफू लागिपर्ने आश्वासन दिनु भएको हो ।

उहाँले त्यसका लागि आवश्यक तयारी गरेर आउन सो प्रतिष्ठानलाई आग्रह पनि गर्नु भयो । मन्त्री आलेले राष्ट्रिय पोशाक दिवसको अवसरमा दिइएको सन्देशसहित आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय पोशाकलाई आधिकारिकता प्रदान गराउन अनुरोध गर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामीले अहिलेसम्म राष्ट्रिय पोशाक मात्रै मनाईराख्ने हो कि ? त्यसलाई कार्यान्वयनमा ल्याउने हो ? यो विषयमा मैले अध्यक्षज्यूलाई भने तपाईहरु पूरा तयारीको साथ आउनुहोस् । मलाई लाग्छ, आज पौष १७ गते । यो कार्यक्रम मनाईरहँदा माफ गर्नु होला, तपाईँहरुले अलि अगाडि एक, डेढ महिना अगाडिनै आएर यो विषयमा वृहत छलफल गरेर सम्माननीय प्रधानमन्त्रीदेखि लिएर विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरुसँग समन्वय गरेर हामीले यही १७ गते आज क्याविनेटबाट पास गराएर मनाउन पाएको भए अझै भव्य हुन्थ्यो भन्ने मलाई लाग्दछ । यसमा हामी चुकेका छौं । तर छिट्टै म यही मञ्चबाट तपाईहरुलाई आग्रह गर्न चाहन्छु । छिटोभन्दा छिटो कृपया, तपाईहरुले तयारीका साथ आउनु होला । आज भएको कार्यक्रमको सन्देश पनि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सुनाउनेछु । र तपाईँहरु पूरा तयारीका साथ आउनुहोस् । म मेरो मन्त्रालयको तर्फबाट, मेरो तर्फबाट यसलाई आधिकारिता दिनका लागि क्याविनेटमा यो फाईल लग्नेछु भन्ने कुरा म तपाईहरुलाई विश्वस्त बनाउन चाहन्छु ।’मन्त्री आलेले नेपाली पोशाक हरेक नेपालीको पहिचान भएको बताउनु भयो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रको जातिय पोशाकलाई अपमान नगरिएको बताउनुभयो । उहाँले नेपाली पहिचानका लागि राष्ट्रिय पोशाक आवश्यक रहेको बताउनु भयो । जोशीले भन्नुभयो 'हामीले हाम्रो धरोहरलाई बचाउनका लागि नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ । नत्र आयातित संस्कृति भित्रिन्छन् । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई राष्ट्रिय धरोहर २०७८ द्वारा सम्मान गरिएको छ । उनलाई ११ हजार १०० नगदसहित सम्मान गरिएको हो । यसैगरी, कार्यक्रममा पोशाक दिवसमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई समेत सम्मान पत्र र कदरपत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्यले ६३ जिल्ला सञ्जाल फैलिएको जानकारी दिदै विदेशमा बसिरहेका नेपालीहरुले पनि राष्ट्रिय पोशाक दिवस उत्तिकै महत्वका साथ मनाइरहेको बताउनु भयो ।

राष्ट्रियताको पहिचानका लागि एउटै पोशाक हुनुपर्छ भन्ने उदेश्यका साथ २०६९ सालदेखि राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका सचिव श्याम बजगाईंले ०६९ सालमा काभ्रेबाट कार्यक्रमको सुरुवता गरिएको बताउनु भयो । सरकारले २०६८ सालदेखि राष्ट्रिय पोशाक हटाएको थियो । अहिले राष्ट्र राष्ट्रिय पोशाक विहीन छ । पुस १७ गते विदेशी नयाँ वर्ष मनाउने गरेकाले हामीले हाम्रो आफ्नै पहिचान छ भन्ने बुझाउनका लागि यहि मितिमा नै राष्ट्रिय पोशाक दिवस मनाउन थालेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले राष्ट्रिय पोशाकको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।











