काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई रास्वपाले पूर्णरुपमा सहयोग गरिरहेको भएपनि सरकारले सोअनुसारको व्यवहार गर्न नसकेको टिप्पणी गर्नुभयो ।
उहाँले निर्वाचनको वातावरण निर्माणमा ध्यान केन्द्रित गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोगका लागि समेत सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले यो सरकारलाई चुनाव गराउनको लागि आवश्यक टेको लगाइरहेका छौँ । तर यो सरकारले पनि रवि लामिछाने वा राष्ट्रिय स्वतन्त्र पार्टीमाथि अथवा परिवर्तनका पक्षधरमाथि यो सरकारले पनि नजरअन्दाज ग¥यो भने आज राष्ट्रिय स्वतन्त्र पार्टी बलियो भएको छ, अबको दिनमा अझै ठुलो बन्नेछ । हामीलाई सडकमा आउन बाध्य नपारियोस् । यो सरकारलाई शंकाको सुविधा दिँदै शान्तीपूर्ण तरिकाको चेतावनी पनि हो । यो सरकारले आफ्नो म्याण्डेडमा बसेर समयमै निर्वाचन गराओस् । राजनीतिक दलहरुलाई हामीले आह्वान गरिरहेका पनि छौं । र दलहरुले शान्ती, भयरहित र निश्पक्ष रुपमा निर्वाचन गराउनको लागि सबै राजनीतिक दलहरुले पनि काम गर्नुपर्नेछ ।’
उहाँले विवेकशील पार्टीसँगको एकतापछि पार्टी झनै बलियो भएको भन्दै ठूलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । –न्युज एजेन्सी नेपाल










