२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुख आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा



अ+ अ-

झापा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुडामणि आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

विशेष अदालत काठमाडौँमा आज उनीहरूविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो । राहदानी बाहकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिभन्दा राहदानीमा उमेर घटाउने वा बढाउने उद्देश्यले बदनियतपूर्वक सरकारी कागजातमा अनधिकृत विवरण हेरफेर गरी राहदानी जारी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुँडामणि आपागाईं, तत्कालीन नायब सुब्बा रवीनकुमार राजबंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवनकुमार दाहालमाथि मुद्दा दर्ता गरिएको उल्लेख छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजालसहित राहदानी बाहकहरू विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुङ्गेल र बलराम महतोमाथिसमेत भ्रष्टाचारको आरोप लगाइएको छ ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजायको माग गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा विनोद कुँवरको राहदानीमा जन्म मिति ५ वर्ष घटाइएको उल्लेख छ । उनको नागरिकतामा १९७६/१०/१३ जन्म मिति र राहदानीमा १९८१/१०/१३ उल्लेख छ ।

सिमान्त विश्वकर्माको जन्म मिति २ वर्ष बढाइएको देखाइएको छ । उनको नागरिकतामा २००४/०९/०३ र राहदानीमा जन्म मिति २००२/०९/०३ जनाइएको उल्लेख छ । गोविन्दप्रसाद ढुङ्गेलको जन्म मिति ५ वर्ष घटाएको उल्लेख छ । उनको नागरिकतामा १९८१/०७/२६ गते र राहदानीमा जन्म मिति १९८६/०७/२६ रहेको उल्लेख छ ।

त्यस्तै बलराम महतोको जन्म मिति ८ वर्ष घटाइएको उल्लेख छ । उनको नागरिकतामा जन्म मिति १९८२/१०/२४ र राहदानीमा १९९०/१०/२४ रहेको उल्लेख छ । रासस