काठमाडौं । कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ परेकी छन् । शनिबार दिउँसो वानेश्वर प्रहरी वृत्तको टोलीले कर्माचार्यलाई नियन्त्रणमा लिएको हो।
‘शिक्षिका कर्माचार्यलाई हामीले नियन्त्रणमा लिएका छौं। उनीमाथि अभद्र वा अमानविय यातना के विषयमा मुद्दा चलाउने अनुसन्धानपछि टुंगो लाग्छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने।
शिक्षिका कर्माचार्यले बिहीबार कक्षाकोठामै कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएकी थिइन्।
विद्यालयका अनुसार गत साता शिक्षिका कर्माचार्यले २० पूर्णाङ्कको परीक्षा लिएकी थिइन्। कर्माचार्य सामाजिक शिक्षा विषय पढाउने शिक्षिका हुन्।