पोखरा, असोज १७ । सिद्धार्थ क्लब पोखराको आर्थिक वर्ष २०८३/०८४ का लागि सुनिल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। क्लबको वार्षिक साधारण सभा तथा पदस्थापना समारोहबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठसहित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। निवर्तमान अध्यक्ष देवेन्द्र पराजुलीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका थिए। निर्वाचन संयोजक इन्दिरा मर्सानी श्रेष्ठको संयोजनमा नयाँ नेतृत्व चयन गरिएको हो।
समारोहमा गैरसरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष पदम पहारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, सल्लाहकार समिति संयोजक सचिन श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्तलगायत विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।
‘पदभन्दा विश्वास र जिम्मेवारी ठूलो’
पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले सिद्धार्थ क्लबलाई सेवा, सहकार्य, सद्भाव र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले क्लबको विधान, नीति, नियम र मूल्य–मान्यतालाई आत्मसात् गर्दै पारदर्शिता, अनुशासन र प्रतिबद्धताका साथ काम गर्ने बताए।
वि.सं. २०४१ सालमा स्थापना भएको सिद्धार्थ क्लबले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
अध्यक्ष श्रेष्ठले आफू वि.सं. २०७४ साल भदौ १० गते क्लबको सदस्यका रूपमा प्रवेश गरेको स्मरण गर्दै अध्यक्षको जिम्मेवारी प्राप्त हुनु आफ्ना लागि पदभन्दा पनि सदस्य तथा शुभेच्छुकहरूले दिएको विश्वास, सम्मान र थप जिम्मेवारी भएको बताए।
उनले आगामी कार्यकालमा समाजको आवश्यकता पहिचान गरी प्रभावकारी, परिणाममुखी र दिगो कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
विपद् प्रभावितका लागि रु. ५ लाख २० हजारभन्दा बढी सहयोग
सिद्धार्थ क्लबले हालै भोटेकोसी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि रु. ५ लाख २० हजार ३३६ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी कार्यक्रममा दिइयो।
अध्यक्ष श्रेष्ठले विपद्का समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आवश्यकताअनुसार राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने बताए।

स्वर्गीय बुबाको स्मृतिमा रु. २ लाखको अक्षय कोष
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालको सुरुवातमै बालबालिकाको शिक्षाका लागि रु. २ लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन्।
उनले आफ्ना स्वर्गीय बुबा डिलबहादुर श्रेष्ठको स्मृतिमा ‘स्वर्गीय डिलबहादुर श्रेष्ठ स्मृति अक्षय कोष’ स्थापना गर्ने घोषणा गरेका हुन्। उक्त कोष सिद्धार्थ क्लब पोखरामार्फत सञ्चालन गरी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने बालबालिकालाई शैक्षिक सहयोग उपलब्ध गराउने उद्देश्य राखिएको छ।
श्रेष्ठले परिवारको तर्फबाट क्लबलाई रु. २ लाख हस्तान्तरण गर्ने घोषणा गर्दै आगामी वर्षहरूमा कोषको रकम थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
“बुबाको स्मृतिलाई सम्झनामा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले यो अक्षय कोष स्थापना गर्न लागेको हुँ,” श्रेष्ठले भने।
बाल शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा प्राथमिकता
पदस्थापना समारोहमा क्लबको बाल शैक्षिक कार्यक्रमअन्तर्गत विद्यालय पोशाक तथा स्टेशनरी वितरण, आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग तथा २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो।
क्लबले आगामी दिनमा बाल शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, वातावरण संरक्षण तथा सामाजिक सेवाका कार्यक्रमलाई थप व्यवस्थित बनाउने जनाएको छ।
अध्यक्ष श्रेष्ठले क्लबका सम्पूर्ण सदस्य, पदाधिकारी, पूर्वअध्यक्ष तथा शुभेच्छुकलाई आपसी सद्भाव, सहकार्य र विश्वासका साथ संस्थालाई अझ प्रभावकारी र समाजका लागि भरोसायोग्य संस्था बनाउन सहयोग गर्न आग्रह गरे।
नयाँ कार्यसमितिमा अध्यक्ष सुनिल श्रेष्ठ ,प्रथम उपाध्यक्षमा नवराज गोठाजु द्वितीय उपाध्यक्षमा प्रकाशमान श्रेष्ठ निर्देशकमा ज्ञानेश्वर राज श्रेष्ठ, सचिवमा अनिल श्रेष्ठ ,कोषाध्यक्षमा मदन मुल्मी, सहसचिवमा जमुना अधिकारी, सदस्यद्वय शशी मर्सानी र वीरेन्द्र बाटाजू चयन हुनु भएको छ ।
सिद्धार्थ क्लबको नयाँ नेतृत्वले सामाजिक सेवा, शिक्षा र मानवीय सहयोगलाई केन्द्रमा राख्दै आगामी कार्यकाल अघि बढाउने घोषणा गरेको छ।








