२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित



फाईल फोटो
अ+ अ-

भोजपुर: उत्पादित अलैँचीले मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन (४० किलोग्राम) रु ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिनुभयो ।

केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उहाँको भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको उहाँले बताउनुभयो । गाउँका कतिपय किसानले अझै मूल्य बढ्ने आशामा उत्पादन बिक्री नगरी घरमै भण्डारण गरेर राखेका छन् । “गाउँघरमै अहिले अलैँची रु ९८ हजारसम्ममा कारोबार भइरहेको छ”, किसान विष्टले भन्नुभयो, “कतिपय किसानले बिक्री गरिसके, केहीले भाउ अझै बढ्ला कि भनेर राखेका छन् । बजारमूल्यको प्रतीक्षा गर्दै बसेको अवस्था पनि छ ।”

टेम्केमैयुङ–५ चोलन्ती अलैँचीको राम्रो उत्पादन हुने क्षेत्रका रूपमा परिचित छ । यहाँका करिब ८०–९० घर किसानले व्यावसायिक रूपमा अलैँली खेती गर्दै आएका छन् । विगतको वर्षका तुलनामा यो क्षेत्रमा अलैँचीको उत्पादनमासमेत वृद्धि भएको अलैँची व्यावसायी महासङ्घका अध्यक्ष राजेश विष्टले बताउनुभयो । मूल्य बढेसँगै किसान खेती विस्तारमा जुटेको उहाँले जानकारी दिनुभयो ।

“समग्र अलैँची उत्पादन केही घटे पनि यो क्षेत्रमा भने गत वर्षको तुलनामा उत्पादन बढेको देखिन्छ”, अध्यक्ष विष्टले भन्नुभयो, “रोगकीराको समस्या केही देखिए पनि किसानको उत्साह कम भएको छैन । मूल्य बढेकै कारण खेती विस्तार गर्नेतर्फ सबैजना लागेको अवस्था छ ।”

कृषि ज्ञान केन्द्रले जिल्लामा अहिले करिब पाँच सय ९७ हेक्टर क्षेत्रमा अलैँचीखेती भइरहेको जनाएको छ । यहाँ प्रायः रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँचीको खेती हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाको चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङथर्पु, तिम्मा, हेलौछा, गुप्तेश्वरलगायत स्थानमा अलैँचीखेती बढी हुने गरेको छ । यी क्षेत्रका किसानले उत्पादन, भण्डारण तथा बजार व्यवस्थापनमा अनुभव बटुलेका कारण अलैँची प्रमुख नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ ।

अलैँचीले राम्रो मूल्य पाएका कारण गाउँघरमा आर्थिक गतिविधि पनि बढेको छ । परिवारको खर्च, स्वास्थ्योपचार, छोराछोरीको पढाइ तथा अन्य आवश्यकता पूरा गर्न अलैँची मुख्य आधार बनेको स्थानीय किसानहरू बताउँछन् । मल्य बढे पनि अलैँचीखेतीमा रोगकीरा, हावापानीको अनियमितता, बजार मूल्यमा हुने उतारचढावलगायतका समस्या भने कायम रहेको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रका अनुसार रोग रोकथाम, प्रविधिमैत्री खेती, गुणस्तर सुधार र किसानको क्षमतावृद्धिका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन् ।रासस