२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार संस्थाको सबलीकरण नीतिअनुसार राससको विकासमा पनि सहयोग गर्छौँः मुख्यमन्त्री शाह



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय समाचार समिति (रासस)को संस्थागत एवम् पूर्वाधार विकासका लागि प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाह र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाबीच आज धनगढीमा भएको छलफलका क्रममा उहाँले सञ्चार संस्थाको सबलीकरणको नीतिअनुसार राससको विकासमा पनि सहयोग रहने बताउनुभएको हो ।

मुख्यमन्त्री शाहले धनगढीमा राससको प्रादेशिक कार्यालय भवन निर्माणका लागि विनियोजित गरिएको बजेट कार्यान्वयनका लागि छिट्टै बोलपत्रको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा धनगढीस्थित राससको जग्गामा नयाँ भवन निर्माण योजनाका लागि रु ७० लाख बजेट विनियोजन गरेको छ ।

उक्त भवन निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार पारी स्वीकृतसमेत गरिसकेको छ ।

मुख्यमन्त्री र अध्यक्ष झाबीच सुदूरपश्चिम प्रदेशको समग्र पत्रकारिताको विकासबारे छलफल भएको थियो । त्यस क्रममा अध्यक्ष झाले सङ्घीयताको मर्मअनुसार प्रदेश सरकारसँग सहकार्य गरेर सरकारका गतिविधिमा सहयोग गर्न रासस तत्पर रहेको बताउनुभयो ।

उहाँले जनचाहनाअनुरुप सेवा प्रवाह गर्नु सरकारको प्राथमिक विषय भएजस्तै समाचार र सूचनाको प्रवाह गरी त्यस कार्यमा सहयोग गर्नु आफूहरूको समेत दायित्व भएको धारणा राख्नुभयो ।

कार्यकारी अध्यक्ष झाले प्रदेश सरकारकै सहयोगमा राससको नयाँ भवन निर्माणका लागि ‘डिपिआर’ बनिसकेकाले मुख्यमन्त्रीको प्रतिबद्धताअनुसार चाँडै काम अगाडि बढ्ने विश्वास गर्दै यस कार्यले प्रदेश सरकारसँगको सहकार्य थप बलियो हुने बताउनुभयो । रासस