दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा भीषण आगलागी भएको छ । ग्रिनविच मिनटाइमअनुसार आइतबार बेलुका ०५ः३० मा आगो र धुवाँको ठूलो मुस्लो देखिएपछि अग्निनियन्त्रकहरू भवनमा आइपुगेका छन् ।
संसद्बाहिर मिडियासँग कुरा गर्दै सार्वजनिक निर्माणमन्त्री प्याट्रिसिया डे लिले भन्नुभयो, “केप टाउन सिटी काउन्सिलले पहिले सङ्केत गरेअनुसार यो राष्ट्रियसभा भवनमा आगो लागेको थिएन, पुरानो सभामा आगो लागेको थियो।” उहाँका अनुसार राष्ट्रियसभामा आगो लागेको होइन ।
आगो धेरैजसो नियन्त्रणमा ल्याइएको र घटना के कारणले भयो भनेर पत्ता लगाउन सीसीटीभी फुटेजको समीक्षा भइरहेको उहाँले बताउनुभयो ।
सुरक्षाका लागि मेयरल समितिका सदस्य जिन पियरे स्मिथले ज्वालाले सुरुमा राष्ट्रिसभा भवनको छतलाई ढाकेको बताउनुभएको थियो । “आगो नियन्त्रणमा आउन सकेको छैन र भवनका केही पर्खालमा चर्किएको रिपोर्ट पुष्टि भएको छ”, उहाँले भन्नुभएको थियो । स्मिथका अनुसार प्रारम्भिक रिपोर्टहरूले आगो तेस्रो तल्लाको एक कार्यालयमा सुरु भयो र व्यायामशाला तिर फैलिएको देखाएका थिए ।
न्यूज २४ का अनुसार सुरुमा ३६ दमकललाई घटनास्थलमा पठाइएको थियो । आगो नियन्त्रण गर्ने प्रयासमा अधिकारीहरूले पछि थप स्रोतहरू आह्वान गरेका थिए ।