काठमाडौं । जबर्जस्ती करणी (बलात्कार)अभियोगमा थुनामा रहेका मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।
शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले अहिराजले दफा ७३ अन्तर्गत दर्ता गरेको थुनामुक्तीसम्बन्धी निवेदनको प्राथमिक सुनुवाइ गर्दै मिसिल झिकाउन आदेश जारी गरेको हो। उनले कात्तिक २३ गते सर्वोच्चमा थुनामुक्त गर्न माग गर्दै निवेदन दिएका थिए।
यसअघि काठमाडौं जिल्ला अदालतले साउन १४ गते अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला अदालतको आदेशपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो।
जिल्ला अदालतको आदेशविरुद्ध अहिराज उच्च अदालत पाटन पुगेका थिए। तर उच्च अदालत पाटनले २०८२ भदौ १२ गते जिल्ला अदालतको निर्णयलाई सदर गर्दै पुर्पक्ष थुनामा राख्ने आदेश कायम राखेको थियो। सो आदेश मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासबाट जारी भएको थियो।
अहिराजविरुद्ध एक महिलाले बलात्कारको आरोपमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो।
उच्च र जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै अहिराज सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्चले मिसिल झिकाउने आदेश दिएपछि अब मुद्दा पुनः अध्ययनका लागि सर्वोच्चमा झिकाइनेछ।










