१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

छोराको शव कुरिरहेकी आमा

छोराको शव कुरिरहेकी आमा
अ अ+ अ-

भक्तपुर । बिहान उठेपछि तस्बिरमा छोरोको हँसिलो अनुहार हेर्छिन् । राति सुत्नुअघि त्यही फोटो नियालेर सिरानी नजिकै राख्छिन् । यताउता कोल्टो फेरेर निदाउन खोज्छिन् । निद्रा लाग्दैन । सरस्वती खड्का (६५) लाई यस्तो छटपटी भएको दुई महिना भयो । चीनमा छोरो बितेको खबर पाएयता उनका आँखा ओभाना छैनन् ।

‘आमा उठ्नु भो, खाना खानु भो ? सन्चो–बिसन्चो के छ ?’ भनेर फोनमा सोधिरहन्थ्यो,’ दोलखा शैलुङ गाउँपालिका–३ काटाकुटीकी सरस्वतीले मसिनो स्वरमा भनिन्, ‘अब कसले सोध्छ त्यसरी ? बल्लबल्ल निदाउँछु, सपनामा पनि खै किन हो, आउँदैन । सद्गत गर्न पाए आउँथ्यो कि ।’

गत माघ ४ गते राति चीनको हुबेई प्रान्तस्थित वुहानमा उनका ४० वर्षीय छोरा पुष्करको निधन भयो । भोलिपल्ट परिवारले यो दुखद खबर पाए । तर अहिलेसम्म न उनको पोस्टमार्टम भएको छ, न शव नेपाल ल्याउने सुरसार नै । शवको प्रतीक्षामा रहेकी आमा सरस्वती भगवान्को नाम जप्दै फ्रेममा राखिएको फोटो नियाल्छिन् । ‘अर्को वर्ष आउँछु, गाउँमै केही व्यवसाय गरेर सँगै बसौंला है आमा भन्थ्यो,’ आँसु पुछ्दै उनले भनिन्, ‘सँगै बस्ने र भेट्ने त लेखान्तमै रहेनछ ।’ जसरी पनि चाँडो छोराको शव ल्याइदिन उनले सरकारसँग गुहारिन्, ‘जिउँदो भेट्न नपाए पनि छोराको सद्गत गर्ने इच्छा छ, छिटो शव ल्याइदिनुपर्यो ।’

२४ वर्षकै उमेरमा सरस्वतीले श्रीमान् गुमाइन् । दुई छोरीहरू बालखामै बिते । श्रीमान्को निधन हुँदा पाँच वर्षका पुष्कर र डेढ वर्षकी छोरी सन्तोषीलाई सरस्वतीले गाउँमै मेलापात गरेर हुर्काइन् । खर्च धान्न नसक्दा इच्छा भए पनि पढाउन सकिनन् । १५ वर्षको उमेरमा सात कक्षाको पढाइ छोडेर पुष्कर दोलखाबाट काठमाडौं आए ।

‘पहिले बेइजिङमा होटेलमा काम गर्नुहुन्थ्यो, वुहान जानुभएको चार वर्ष भयो,’ बहिनी सन्तोषी कार्कीले भनिन्, ‘दुईदुई वर्षमा घर आउने–जाने गर्नुहुन्थ्यो । अन्तिमपटक पोहोर फागुन १७ गते फर्किनुभएको हो ।’२०७२ को भूकम्पपछि दुईपटक नेपाल आएका पुष्करले ढलेको गाउँको घर ठड्याए । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ दधिकोटमा तीन आना जग्गा किने । नक्सा पासको प्रक्रिया सकाए, र चीन फर्किए ।

‘विवाहित भए पनि मलाई भाइलाई जस्तै व्यवहार गर्नुहुन्थ्यो, विश्वासले खर्च पठाउनुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यही पैसाले दधिकोटमा घर बनायौं, बस्यौं ।’ सन्तोषीले दाइको छोरालाई पढाउने, हुर्काउने जिम्मेवारी निर्वाह गरिरहेकी छन् । ‘घर बनाएको ऋण तिरिसकेको छैन, केही वर्ष चीनमा बसेर ऋण तिरिसक्छु भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘सपना त अब अधुरै रह्यो, वर्षौं विदेशमा गरेको महेनतले बनाएको घरमा आफू बस्न पाउनुभएन ।’पुष्करकी श्रीमती रीता खड्का दोलखामै सासूसँगै घर सम्हालेर बस्छिन् । श्रीमानको निधनले विक्षिप्त उनी केही दिन दधिकोट बसेर पुनः उतै फर्केकी छन् ।

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल वुहानमा कार्यरत पुष्करलाई परिवारले भनिरहन्थे, ‘केयर गर्नु, भीडभाडमा नजानु, बाहिरफेर नखानु ।’ उनी ‘अहिले समस्या छैन, सब ठिकठाक छ’ भन्ने जवाफ दिन्थे ।‘दाइलाई कोरोना भाइरसबाट जोगिनुभन्दा ‘तिमेरु चिन्ता नलेऊ, यहाँ म ठिक छु भन्नुहुन्थ्यो,’ बहिनी सन्तोषीले सुनाइन् । उनका अनुसार पुष्कर आफन्त र छरछिमेकका प्रिय थिए । ‘भान्जारभान्जी र केटाकेटीहरूको अत्ति नै ख्याल गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘अब त ती दिन सम्झना मात्रै रह्यो ।’

घटना भएको केही दिनअघि पुष्करसँग घरबाटै भुटेर लगेको मकै खाँदै आमा, छोरा, बहिनी, भान्जा–भान्जीसँग भिडियो च्याट भएको थियो । पुस १ गते दधिकोट आइपुगेकी आमासँग माघ ४ गतेसम्म कुराकानी गरेका थिए । ‘दिनहुँ घन्टौंसम्म कुरा हुन्थ्यो, अन्तिम दिन सन्चो नभएजस्तो गर्यो, आराम गर्नु भोलि कुरा गरौंला भनें,’ आमा सरस्वतीले भनिन्, ‘अल्छी जस्तो देखिन्थ्यो, कामले थाकेको होला भनेर आराम गर् भनेको थिएँ, त्यही बोली नै अन्तिम रहेछ ।’

दिनहुँजसो फोन गर्थे पुष्कर । फोनको प्रतीक्षामा बसेको परिवार भोलिपल्ट कुनै खबर नआएपछि अत्तालिए । ‘बिहानभर फोन कुर्यौं, आएन,’ सन्तोषीले भनिन्, ‘कतै व्यस्त हुनुभयो होला भन्ठान्यौं, र काममा लाग्यौं । तर, राति नै दाइले हामीलाई सधैंका लागि छाडेर जानुभएको रहेछ ।’

वुहानस्थित आफ्नै कोठामा मृत्यु भएका खड्काको पोस्टमार्टम भएको छैन । शव वुहानकै वुछाङस्थित शवगृहमा राखिएको उनका आफन्त धनबहादुर कार्कीले बताए । कोरोना भाइरसका कारण शव नेपाल ल्याउन समस्या भएको आफन्तको गुनासो छ । ‘कोरोना भाइरसका कारण वुहानका सबैजसो क्षेत्र बन्द छ, शव फर्काउन बेइजिङस्थित नेपाली दूतावासले समस्या भइरहेको बताउँदै आएको छ,’ उनले भने ।

राति खाना खाएर सुतेका पुष्कर बिहान नब्युँझिएपछि साथीभाइले अस्पताल पुर्याएका थिए । तर, चिकित्सकले मृत्यु भएको घोषणा गरे । बहिनी सन्तोषीका अनुसार उनको हृदयाघातका कारण मृत्यु भएको हो । १२ वर्षदेखि चीनमा रहेका पुष्कर वुहानस्थित एक भारतीय रेस्टुरेन्टमा काम गर्थे ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।