२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सातामा ग्यासको सहज आयात हुने



अ+ अ-

काठमाडौं । कोभिड–१९ (कोरोना) भाइरसको संक्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशंका बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैँ उपभोक्ताको रूपमा राजधानी काठमाडौं र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत अनुगमनमा निस्केका छन् । विपद्को समयमा उपभोग्य वस्तुको अभाव देखाएर उपभोक्ता ठग्ने प्रवृत्ति बढ्न नदिन मन्त्री भट्टले गरेको प्रयासलाई लिएर सर्वत्र सकारात्मक टिप्पणी भइरहेको छ । उनले वाणिज्य सचिव डा. बैकुण्ठ अर्याल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीसहितको टोलीलाई लिएर बजार अनुगमनमा निस्किएका हुन् ।

उनीहरूले फागुन अन्तिम सातादेखि नै राजधानी काठमाडौंको विभिन्न स्थानको स्थलगत अनुगमन गरी उपभोक्ता तथा बिक्रेताको समस्या तथा बजारमा उपभोग्य वस्तुको अवस्थाबारे जानकारी लिइरहेका छन् । कोरोनाको त्रासका कारण आपूर्ति प्रणालीमा समस्या आएको, खाद्यान्न, औषधि तथा इन्धनको अभाव रहेको भन्दै मनोवैज्ञानिक त्रास बढेपछि आपूर्ति व्यवस्थामा कुनै पनि समस्या नरहेको जानकारी दिने लक्ष्यसहित आफूहरू बजार अनुगमनमा परिचालित भएको मन्त्री भट्टको भनाइ छ । बजारलाई सन्तुलित बनाउन राज्यका तर्फबाट चाल्नुपर्ने र गर्ने सबै उपाय अपनाउने लक्ष्यसहित लागि परेको उनको भनाइ छ ।

यद्यपि, बजारमा दैनिक उपभोग्य बस्तुको अभाव भने देखिदै आएको छ । सामान्य अवस्थामा २० रुपैयाँमा पाइने नुन व्यापारीले मूल्यवृद्धि गरी प्रतिप्याकेट २५ देखि ३० लिएको पाइएको छ । सरकारले उपभोक्तालाई आपूर्ति प्रणालीमा कुनै समस्या अनाएकाले नआत्तिन र अनावश्यकरूपमा भण्डारण नगर्नसमेत आग्रह गरिरहेको छ । बजारमा इन्धनको अभाव नहोस् भनेर सरकारले नेपाल आयल निगमलाई मागअनुसार नै पेट्रोलियम पदार्थको आयात गर्न सहजीकरण गरिरहेको छ । सरकारले एलपी ग्यासको आपूर्तिमा कुनै समस्या नहुने दोहो¥याइरहँदा अनावश्यक मौज्दात राख्ने उपभोक्ताको चाहनाले ग्यासको उपलब्धतामा केही समस्या देखिएको छ ।

पछिल्ला केही दिनयता निगमले बजारको बढ्दो मागलाई ध्यानमा राखी ग्यास आयातमा भारी वृद्धि गरेको छ । ग्यासको अभाव हुन नदिन निगमले आयातको परिमाण वृद्धि गरी ४५ हजार मेट्रिक टन पुर्याएको छ । अहिले एलपी ग्यासको औषत मासिक खपत ३८ हजार मेट्रिक टन रहेको छ । राजधानी काठमाडौंमा बढी गुणस्तरीय मानिएको नेपाल ग्यासमा भने बढी दबाब परेको छ । सहज रूपमा पाइने भएकाले पनि नेपाल ग्यासमा उपभोक्ताको चाप देखिएको हो । उपभोक्ताले भूकम्प र नाकाबन्दीको समयमा जस्तै संकट व्यहोर्नुपर्ने त्रासका कारण दुईभन्दा बढी सिलिण्डर भण्डारण गरेका छन् । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी कोरोना भाइरसका कारण ग्यासको अभाव हुनसक्ने आशंकामा सर्वसाधारणले घरघरमा भण्डारण गरेका कारण ग्यास वितरणमा असन्तुलन देखिएको बताउँछन् ।

‘ग्यास आपूर्तिमा कुनै समस्या छैन, निरन्तर नै ग्यास आइरहेको छ’, उनी भन्छन्, ‘एक सातामा बजारमा देखिएको हाहाकार समाप्त हुन्छ ।’ नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको छ । अहिले सोही परिमाणमा ग्यासको आयात भइरहेको छ । फागु पूर्णिमाका कारण नेपाल र भारतका भन्सार लगातार पाँच दिन बन्द हुँदा ग्यास बुलेट भन्सार पास हुन नसक्दा केही अभावजस्तो देखिएको अध्ययक्ष भण्डारीको भनाइ छ । ‘होली पर्वको आसपासमा नेपालमा तीन दिन सार्वजनिक बिदा र भारतमा दुई दिन सार्वजनिक बिदा हुँदा भन्सार जाँचपास हुन नसक्दा समस्या भएको हो’, उनले भने । नेपालमा हाल विभिन्न ५८ ग्यास उद्योग छन् ।

ग्यासको आयात बढाएका छौँः निगम

नेपाल आयल निगमले बजारको मागअनुसार नै पर्याप्त ग्यासको आपूर्ति भइरहेकाले ग्यासको कुनै अभाव नहुने जनाएको छ । अनावश्यक ग्यास सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असन्तुलन हुन पुगेको निगमको भनाइ छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले अभाव हुन्छ भन्ने त्रासका कारण सर्वसाधारणले ग्यास भरेको सिलिण्डरको मौज्दात राख्न खोज्दा केही समस्या देखिएको बताए ।

उनले ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासका आयात बढाइएको बताए । ‘हामीले उद्योगीलाई भनेका छौँ, मागअनुसारको ग्यास ल्याउनुहोस्’, उनले भने, ‘उद्योगीको मागअनुसार पर्चेज डेलिभरी अर्डर निगमले दिइरहेको छ ।’ पछिल्ला चार दिनमा विराटनगर भन्सारबाट विभिन्न कम्पनीका ६६ बुलेट नेपाल भित्रिएका छन् ।

यस्तै झापाको काँकडभिट्टा भन्सारबाट पनि २२ बुलेट नेपाल छिरेका छन् । यस्तै फागुन २९ र ३० गते वीरगन्ज भन्सारबाट २१० बुलेट ग्यास बोकेर नेपाल आएका निगमले जनाएको छ । दुई दिनमा काठमाडौं उपत्यकामा बजार रहेका कम्पनीका ९१ बुलेट र उपत्यका बाहिरका विभिन्न कम्पनीको ११९ बुलेट नेपाल आएका छन् ।

सिलिण्डर नथुपार्न निगमको आग्रह

अभाव हुने त्रासका कारण उपभोक्ताको तर्फबाट ग्यासको खरिद अधिक भएपछि निगमले नयाँ सिलिण्डर किनेर नथुपार्न सर्वसाधारणमा आग्रह गरेकोे छ । निगमले अनावश्यक सिलिण्डर राख्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास गरिद गर्न आग्रह गरेको हो । एलपी ग्यास खरिद गर्दा नयाँ सिलिण्डर खरिद नगरी आफूसँग भएको खाली सिलिण्डर फिर्ता गरी ग्यास खरिद गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ । सौर्य दैनिक