२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

एजेन्डाविहीन नेपाली कम्युनिस्ट पार्टी, ओलीको आलोचना मै केन्द्रित



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका १२ वटा वामपन्थी दल र समूह मिलेर गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले आगामी चुनावपछि आफूलाई सबैभन्दा ठूलो दल बनाउने बताइरहेको छ । ती सबै दलका कार्यकर्ता कति छन् अझै यकीन नभए पनि नेताहरुको भने थुप्रो नै लागेको छ । नेपाली कम्युनिस्ट पार्टीमा नेपालका तीन जना पूर्वधानमन्त्री र तीन जना त पूर्वसभामुख मात्र छन् । मन्त्री हुनेहरुको संख्या त झन् निकै ठूलो छ ।

२ वटा घटक मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीका नेताहरु अहिले पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा केन्द्रित छन् । धेरै वटा घटक मिलेर अस्तित्व रक्षाका लागि एउटै दल बनाउनु परेको यथार्थ हुँदाहुँदै अहिले उनीहरुले एमाले र अध्यक्ष ओलीको आलोचना मात्र गरिरहेका देखिन्छ । पार्टीलाई अघि बढाउन ठोस योजना छैन । जनतालाई विश्वस्त हुने आधार उनीहरुसँग छैन ।

जेन–जी विद्रोहपछि राजनीतिक दलहरुको सरकार विस्थापित भएको छ । जनतामा दलहरुप्रति कति वितृष्णा छ भन्ने नेताहरुले अझै बुझेको देखिँदैन । उनीहरु अहिले पनि विभिन्न समूह मिलेर बलियो बन्ने रणनीति बनाइरहेका छन् । तर जेन–जीले उठाएका माग र एजेन्डामा उनीहरुको ध्यान गएको छैन । फगत अरुलाई गाली गर्ने र आफू मात्र राम्रो हो भन्ने देखाउने होडबाजी उनीहरुको छ ।

नेपाली कम्युनिस्ट पार्टीको कमान्डर तीनपटक प्रधानमन्त्री बनिसकेका पुष्पकमल दाहाल हुन् । उनलाई संयोजक बनाइएको छ । यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सहसंयोजक बनाइएको छ । अरु पदाधिकारी नतोकिए पनि वरियताको शीर्ष स्थानमा उनै अनुहार छन्, जो पटकपटक सत्ता र शक्तिमा रहिसकेका छन् । देशलाई केही उपलब्धि दिलाउन नसकेका नेताहरुको थुप्रो लगाएर संयोजक दाहाल परिवर्तनको वकालत गरिरहेका छन् । त्यसलाई साथ दिइरहेका सहसंयोजक नेपाल ।

अघिल्लो निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको र संसद्मा दोस्रो ठूलो दल बनेको नेकपा एमाले नै अहिलेसम्मको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी हो । तर अहिले गठन भएको नेपाली कम्युनिस्ट पार्टीले अब आफूहरु देशकै ठूलो दल बन्ने दाबी गरिरहेको छ । तर त्यसका लागि के गर्नुपर्छ भन्ने उसले सोचेको छैन । विगतमा एमालेमै रहेका केही वा नेकपा कालमा सँगै भएका सचिवालय सदस्यहरुको बहुमत आफूतिर ल्याउन सकेकोमा कमान्डर दाहाल सन्तुष्ट छन् ।

चार वर्षअघि एमालेलाई विभाजन गराएका माधवकुमार नेपाल, झलनाथ खनाल अहिले दाहाल नेतृत्वको दलमा समाहित भएका छन् । एमालेमै लामो समय काम गरेका र उपाध्यक्षसम्म भएका वामदेव गौतम र भीम रावल पनि अहिले दाहालकै साथमा आइपुगेका छन् । उनीहरुको सहभागिताले दाहाल हौसिएका छन् । जबकी उनले विगतमा तिनै नेताले दिएको धोका बिर्सिएका छन् ।

विभिन्न घटकमा विभाजित हुनुभन्दा एकजुट भएर अगाडि बढ्नु पक्कै पनि राम्रो हो । तर त्यसरी जान नीति र सिद्धान्त मात्र होइन काम गराइ पनि मिल्नुपर्छ । अहिले नेपाली कम्युनिस्ट पार्टीको ध्यान फगत नेता जम्मा गर्नेतर्फ देखिएको छ । उसले अहिलेसम्म आफ्ना एजेन्डा सार्वजनिक गरेको छैन । जेन–जीले उठाउँदै आएका माग आफूहरुले विगतदेखि नै उठाएको भन्दै जस लिने मात्र होइन, जेन–जी विद्रोह हुनुको मुख्य कारक नै एमाले अध्यक्ष ओली भएको देखाइरहेको छ ।

देशमा परिवर्तन गर्न नचाहने व्यक्तिका रुपमा ओलीलाई चित्रित गर्ने प्रयास नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले गरिरहेका छन् । ओलीलाई गाली गर्ने एक मात्र एजेन्डा यो दलमा देखिएको छ । त्यसबाहेक देशको परिवर्तनका लागि कुनै ठोस योजना छैन । बरु नेताहरु भित्रभित्रै रुपमा पार्टीमा आफ्नो पोजिसन खोज्न थालिसकेका छन् ।

दाहालले नेतृत्व गरेको भए पनि नेकपाको शीर्ष तहमा पूर्वएमाले नेताहरूको बलियो उपस्थिति छ । माधव, झलनाथ, वामदेव र भीम पूर्वएमाले हुन् । यसअघि एमाले र माओवादी मिलेर बनेको नेकपाको सचिवालयका ९ जनामध्ये ५ जना नेकपामा अटाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपालले पनि नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपामा बहुमत सचिवालय सदस्य फेरि एक ठाउँमा भएकाले मूलधारको कम्युनिस्ट पार्टी आफूहरू भएको दाबी गरिरहेका छन् ।

विगतमा नेकपा विभाजन भएको विफलतालाई समीक्षा गरेर नयाँ पार्टी अगाडि बढ्ने उद्घोष नेताहरुले गरे पनि समीक्षामा उनीहरुको चासो छैन । ओलीको आलोचना गर्दैमा उनीहरुले जनताको भावना समेट्न सक्दैनन् । नेपाली कम्युनिस्ट पार्टीले पटकपटक परीक्षण भइसकेका नेताहरुको थुप्रो लगाउँदैमा भ्यागुताको धार्नी पुग्ला ?