२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो



file
अ+ अ-

चितवन । वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तिव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो ।

पानी पर्न छाडेर चाडपर्वसमेत सकिएपछि कामलाई तिव्रता दिन थालिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार कामलाई तीव्रता दिन थालिएको छ । पुलको पहुँच सडकको काम सुरु गरिएको छ । चार वटा पुलको पहुँच सडकको काम गर्न लागिएको हो । पुल र अन्य भागमा बेरियर राख्ने काम थालिएको छ र ड्रेनको काम पनि सुरु गरिएको छ ।

उहाँका अनुसार दुई÷तीन दिनमा कालोपत्रको काम थाल्ने तयारी गरिएको छ । सो खण्डको ३८ दशमलव ८६ किलोमिटरमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । थप पाँच किलोमिटर सडक कालोपत्रका लागि अन्तिम तयारी गरिएको छ ।

दरैका अनुसार अन्तिम तयारीमा पुगेको ठाउँमा कालोपत्र गर्न लागिएको हो । यससँगै अन्य ठाउँमा कालोपत्रका लागि तयारीको काम गरिने छ । उक्त सडकखण्डमा पर्ने अन्य दुई पुलमध्ये चरौदी खोलको पुलको एउटा फाउण्डेसन हालिएको छ । अर्कोतर्फको गरिँदै छ भने हुग्दी खोलाको पुलको दुवै फाउण्डेसन तयार भइसकेको छ ।

दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताउनुभयो । उहाँका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।

विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्दछ । आगामी पुस १५ मा म्याद यसको सकिँदै छ । म्याद थपका लागि प्रक्रिया अघि बढेको दरैले बताउनुभयो । डिजाइन परिमार्जनलगायतका कारण केही महिना निर्माण कम्पनीले म्याद थप पाउने उहाँको भनाइ छ ।

शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ ।

यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । सडकमा सवारीसाधनको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । रासस