काठमाडौँ। सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई रिहा गर्न अस्वीकार गरेको छ।
न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सोमबार भुसालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै उनीमाथिको छानबिन छिटो सम्पन्न गर्न गृह मन्त्रालयलाई परमादेश जारी गरेको हो।
भड्काउपूर्ण अभिव्यक्तिपछि पक्राउ परेका भुसालको रिटमा यसअघि सर्वोच्च अदालतले गृह मन्त्रालयसँग कारण देखाउ आदेश मागेको थियो।
भुसालले कात्तिक १६ गते सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र तत्कालीन काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने घोषणा गरेका थिए।
उनले सो क्रममा ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनीसमेत दिएका थिए।









