२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुउद्देश्यीय बाँध तथा सिमसार क्षेत्र संरक्षण हुँदै



अ+ अ-

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित जर्लैयामा बहुउद्देश्यीय बाँध तथा सिमसार क्षेत्र संरक्षणका लागि योजना निर्माण भएको छ । सो बाँध राजापानी सामुदायिक वनभित्र रहने र त्यसबाट ३०० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको सैनामैना नगरपालिकाले जनाएको छ ।

यससँगै करीब नौ बिघा क्षेत्रफलको ताल निर्माण गरेर ‘नौका विहार’ गर्ने योजनासमेत रहेको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले राजापानी सामुदायिक वनभित्रको डाँडालाई ‘ग्रिन लेक’ का रुपमा निर्माण गरेर लुम्बिनी क्षेत्रसँग जोडेर पर्यटनको विकास र प्रवद्र्धन गर्ने योजना भएको जानकारीसमेत दिनुभयो ।

नगरप्रमुख कार्कीले त्यसको विकासका लागि एक सातामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण हुने उल्लेख गर्दै अर्को वर्ष प्रादेशिक सरकारले बजेट छुट्याउने विश्वास व्यक्त गर्नुभयो । करीब १३ बिघा क्षेत्रफलमा रहेको उक्त स्थानमा कहिल्यै पानीको अभाव नहुने र दुर्लभ सारसलगायत चराको बासस्थान रहेको बताइएको छ ।

नगरप्रमुख कार्कीले त्यसलाई जल पर्यटनका रुपमा समेत विकास गर्न सकिने उल्लेख गर्दै यसको संरक्षण र संवद्र्धनबाट दिगो आयआर्जनका कामसमेत गर्न सकिने उल्लेख गर्नुभयो ।

उक्त क्षेत्रको प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले स्थलगत अध्ययन गर्नुभएको छ । “जल पर्यटनको पनि प्रचुर सम्भावना छ, पर्यटकीय क्षेत्रका रुपमा यसको विकासबाट सैनामैनाको भिन्दै पहिचान बनाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

दलदले जमीनमा दिनहुँजसो रसिलो जमीन देखिएको उक्त स्थानमा कछुवा, बकुल्ला, नीलगाई, अजिङ्गरको समेत बासस्थान रहेको स्थानीय धना खनालले जानकारी दिनुभयो । “पहिले हामीलाई धान रोप्न पनि गाह्रो हुन्थ्यो, तर अहिले समयक्रमअनुसार पानी कम हुन थालेको छ”, उहाँले भन्नुभयो ।

खनालले एक ठाउँ उभिएर हल्लाउँदा जमीन नै हल्लिने अवस्था रहेको उल्लेख गर्दै यसको विकास हुन सके पर्यटन प्रवद्र्धनबाट रोजगारीको सिर्जना हुन्छ भन्नुभयो । पानीले राम्रोसित भिजेको ठाउँ वा अत्यधिक आद्रता भएको जमीन वा प्राविधिकरुपमा त्यस्तो जमीन जहाँ पानीको सतह र जमीन करीब एउटै स्तरमा हुन्छ । जहाँ जमीन लुक्दैन, पानी सुक्दैन र रसिलो जमीन हुन्छ त्यस्तो क्षेत्रलाई विश्वव्यापीरुपमा सिमसार क्षेत्रका रुपमा मानिएको छ ।

यसले पानीको मुहानलगायत दलदल, धानबाली एवं पानी जमेको क्षेत्रलाई समेत जनाउने बताइएको छ । सिमसार अत्यन्त उत्पादनशील खालको क्षेत्र भएकाले यसभित्र जल परिचालन र शुद्धीकरण प्रक्रिया निरन्तर चलिरहने हुन्छ । यसलाई प्रकृतिको मिर्गौैलासमेत भन्ने गरिएको पाइएको छ ।