काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको छ।
प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको एमालेले मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने जनाएको छ।
मुख्य सचेतक महेश बर्तौलाका अनुसार उक्त बैठकमा मुलुकमा विकसित असामान्य र जटिल राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। उनले लोकतान्त्रिक र संवैधानिक निकासका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे बैठकमा निर्णय हुने जानकारी दिए।
बैठकमा पूर्व सांसदहरू, केन्द्रीय नेताहरू र पार्टीका नीति निर्माण तहका पदाधिकारीहरूको सहभागिता रहने बताइएको छ।
संसद पुनर्स्थापनाको मागसहित एमालेले सडक संघर्षको तयारी पनि थालेको छ। पार्टीले देशभर प्रदर्शन र सभा–सभा आयोजना गर्दै जनदबाब सिर्जना गर्ने योजना बनाएको जनाएको छ।










